विराटनगर– काठमाडौँको ऐतिहासिक हाँडीगाउँस्थित गहना पोखरीमा आइतबार विशेष परम्परागत विधिअनुसार टुँडालदेवीको रथ तीनपटक परिक्रमा गराएर प्रसिद्ध ‘गहना खोज्ने जात्रा’ सम्पन्न भएको छ । १५ दिनसम्म विविध धार्मिक र सांस्कृतिक अनुष्ठानसहित मनाइने यस जात्राको आज मुख्य दिन थियो ।
स्थानीय नेवार समुदाय, विशेषगरी ज्यापू जातिको सक्रिय सहभागितामा हुने यो जात्रा ‘तिसाः मालिगु जात्रा’ (नेपालभाषामा) को नामले पनि चिनिन्छ । किराँतकालदेखि चलिआएको यो जात्रालाई लिएर ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जनवाक्य समेत प्रचलनमा रहेको छ ।
जात्राको मूल केन्द्र गहना पोखरीलाई नेपालका पुरातत्वविद्ले किराँतकालीन नाम ‘अन्डिप्रिङ’ रहेको दाबी गरेका छन् । जनश्रुति अनुसार राजा मानदेवको पालामा टुँडालदेवी र छोरी भाटभटेनीबीचको कथाले यो जात्राको जरा जोडिएको छ ।
आमा टुँडालदेवीलाई भेट्न आएकी छोरी भाटभटेनीले आमाको एक पोडेसँगको अवैध सम्बन्ध देखेपछि रिसाएर फर्किंदा उनको गहना पोखरीमा हराएको मान्यता छ । यही गहना फिर्ता खोज्ने परम्परा नै आजको जात्राको मूल हो । कैलाशकुट दरबारबाट सातौं शताब्दीमा जारी गरिएको शीलालेखमा ‘अन्डिपीजात्रायाम’ उल्लेख गरिएको छ । उक्त शीलालेखमा जात्रा सञ्चालनका लागि दरबारले १,००० पण (प्राचीन मुद्रा), २२ घडा, बिजोर गहना र लत्ताकपडा दिनुपर्ने व्यवस्था रहेको स्पष्ट उल्लेख छ ।
वैज्ञानिक उत्खनन र इतिहासको पुष्टि
सन् १९८८ मा इटालियन पुरातत्वविद्हरूले हाँडीगाउँको सत्यनारायण मन्दिर क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ढुंगेधाराको टुटीमा ‘ओम् अन्डिग्रामे...’ भन्ने अभिलेख फेला पारेका थिए । यसबाट हाँडीगाउँको पुरानो नाम ‘अन्डिग्राम’ वा किराँतकालीन ‘अन्डिप्रिङ’ रहेको पुष्टि हुन्छ ।
पुरातत्वविद्हरूका अनुसार लिच्छवि कालपछि संस्कृतको प्रभावमा ‘अन्डिप्रिङ’ अपभ्रंश हुँदै ‘हाँडीगाउँ’ बनिएको हो । इतिहासकारहरू भन्छन्– किराँतकालमा प्रत्येक भूभागमा आ–आफ्नै देवी–देवतासँग सम्बन्धित जात्रा हुन्थे र यही जात्रा पनि त्यसकै निरन्तरता हो ।
विदेशी राजदूतको वर्णनमा पनि गहना पोखरी
चिनियाँ राजदूत वाङ हुयन चे सातौं शताब्दीमा नेपाल आएका बेला राजा नरेन्द्रदेवले हाँडीगाउँस्थित कैलाशकुट दरबारबाट पोखरी देखाउँदै पूजा गर्दथे भन्ने विवरण उनले आफ्ना यात्रावृत्तान्तमा उल्लेख गरेका छन् । जनश्रुतिअनुसार उक्त पोखरीमा बेलाबेला अवलोकितेश्वर भगवानको श्रीपेच देखा पथ्र्यो र फलाम हाल्दा सुन निस्कन्थ्यो भन्ने विश्वाससमेत रहेको पाइन्छ । तर यसको वैज्ञानिक प्रमाण अहिलेसम्म फेला परेको छैन ।
जात्राको जीवित परम्परा र सांस्कृतिक महत्व
आज सम्पन्न जात्रामा टुँडालदेवी (वैष्णवीदेवी) को मूर्तिलाई खटमा राखी पोखरीभित्र तीनपटक परिक्रमा गराइयो । यसैअनुसार गहना पोखरीलाई पूजा गरेर टुँडालदेवीलाई गहना खोज्न पठाइएको प्रतीकात्मक सन्देश दिइन्छ । रथ पोखरीभित्र लैजाने चलन यही किंवदन्तीसँग सम्बन्धित छ । अर्कोतर्फ महालक्ष्मीको रथ पोखरीबाहिर मात्र घुमाइन्छ ।
नेवार समुदायको सांस्कृतिक जीवनशैली, मौलिक परम्परा र ऐतिहासिक स्मृतिको संरक्षणका दृष्टिले ‘गहना खोज्ने जात्रा’ महत्वपूर्ण सांस्कृतिक सम्पदा हो । यस जात्राले काठमाडौँ उपत्यकाको प्राचीन धार्मिक, सामाजिक र राजनीतिक इतिहासलाई जीवित राख्न अझै योगदान दिइरहेको छ ।
साहित्य/कला
हनुमान जयन्तीदेखि बालाजु मेलासम्म, भक्तिभावले गुञ्जियो देश
जितेन्द्र साह‘भाग्य लेख्नेसँग कुनै रंग थिएन’
प्रविण प्रताप शाह‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares