४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

रूस र युक्रेनले कालो समुद्रमा नौसैनिक युद्धविराम गर्न सहमति गरे

द नेप्लिज संवाददाता
१३ चैत २०८१, बुधबार

Advertisement

विराटनगर– रूस र युक्रेनले अमेरिकी मध्यस्थतामा छुट्टाछुट्टै सम्झौताका आधारमा कालो समुद्रमा नौसैनिक युद्धविराम गर्न सहमति जनाएका छन् । साउदी अरेबियामा तीन दिनसम्म चलेको शान्ति वार्तापछि यो सहमति जुटेको हो ।
वासिङ्टनले यी सम्झौताहरूको घोषणा गर्दै सबै पक्षहरूले स्थायी र दिगो शान्ति कायम गर्न थप प्रयास गर्ने बताएको छ । यस युद्धविरामले महत्त्वपूर्ण व्यापार मार्ग पुनः खोल्नेछ ।

रूस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने प्रतिबन्ध लागू गर्नका लागि थप उपायहरू विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ह्वाइट हाउसका अनुसार यो प्रतिबन्ध पहिले नै सहमति भइसकेको थियो ।
तर रूसले भने नौसैनिक युद्धविरामका लागि उसका खाद्य तथा मल व्यापारमाथिको केही प्रतिबन्धहरू हटाइनुपर्ने शर्त राखेको छ ।

रियाध वार्ता र अमेरिकी भूमिका

अमेरिकी अधिकारीहरूले रियाधमा रूस र युक्रेनका वार्ताकारहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । यी वार्तामा रूस र युक्रेनका प्रतिनिधिहरूले एकअर्कासँग प्रत्यक्ष भेटवार्ता भने गरेका थिएनन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कालो समुद्रमा आक्रमण रोक्ने सम्झौतालाई सकारात्मक संकेत भनेका छन्। ‘यो काम गर्नेछ वा नगर्नेछ भन्नलाई अझै छिटो छ, तर यो सही बैठक, सही निर्णय र सही कदमहरू थिए,’ उनले किभमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनले थपे, ‘यस सम्झौतापछि कोही पनि युक्रेनलाई स्थायी शान्ति प्राप्त गर्न प्रयास नगरेको भनी आरोप लगाउन सक्दैन ।’ तर वासिङ्टनले युद्धविरामको घोषणा गरेपछि क्रेमलिनले भने कालो समुद्रको युद्धविराम तब मात्र लागू हुने बतायो, जबसम्म रूसका बैंक, उत्पादक तथा अन्तर्राष्ट्रिय खाद्य र मल व्यापारमा संलग्न निर्यातकर्तामाथि लगाइएका प्रतिबन्धहरू हटाइँदैनन् ।

रूसले मागेका छुट

रूसले प्रतिबन्ध हटाउन निम्न मागहरू अघि सारेको छ :

उसका बैंकहरूलाई पुनः स्विफ्ट पेमेंट सिस्टममा जोडिन दिनु ।

खाद्य व्यापारमा संलग्न रूसी झण्डा भएका जहाजहरूलाई सेवा दिने प्रतिबन्ध हटाउनु ।

खाद्य उत्पादनका लागि आवश्यक कृषि उपकरण तथा अन्य सामग्रीहरू आपूर्ति गर्ने प्रतिबन्ध हटाउनु ।

तर ह्वाइट हाउसको वक्तव्यमा सम्झौता कहिलेदेखि लागू हुन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिबन्धहरू हटाउने विषयमा सोध्दा उनले भने, ‘हामी सबै विकल्पहरू विचार गरिरहेका छौँ । हामी यसबारे सोच्दै छौँ ।’

वासिङ्टनले भनेको छ कि अमेरिका रूसको कृषि तथा मल निर्यातलाई पुनः विश्व बजारमा ल्याउन मद्दत गर्नेछ । तर किभमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले यसलाई रूसलाई फाइदा पुग्ने निर्णय भन्दै आपत्ति जनाए।

रूसले सम्झौता उल्लघंन गरे के हुन्छ ?

जेलेन्स्कीले भने, ‘यदि रूसले सम्झौताको उल्लघंन ग¥यो भने युक्रेनले थप प्रतिबन्धको माग गर्नेछ र अमेरिका तथा उसका सहयोगीहरूबाट थप सैन्य सहायता खोज्नेछ ।’ उनले थपे कि रूसको कालो समुद्रमा सैन्य गतिविधि यदि सम्झौताभन्दा बाहिर गएमा, युक्रेनले त्यसलाई आत्मरक्षाको पूर्ण अधिकार प्रयोग गर्ने बताएका छन् ।
युक्रेनका रक्षामन्त्री रुस्तेम उमेरोभले भने, ‘तेस्रो मुलुकहरूले सम्झौताको कार्यान्वयनमा निगरानी गर्न सक्छन् ।’ तर उनले चेतावनी दिए, ‘यदि रूसी युद्धपोतहरू कालो समुद्रको पूर्वी भागभन्दा पर गएका देखिए, त्यसलाई सम्झौताको उल्लन मानिनेछ र युक्रेनको राष्ट्रिय सुरक्षामा खतरा हुनेछ ।’

कालो समुद्रको अघिल्लो सम्झौता
यसअघि, २०२२ मा युक्रेन र रूसबीच कालो समुद्रमा वाणिज्य जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्झौता भएको थियो। तर रूसले २०२३ को जुलाईमा उक्त सम्झौताबाट बाहिरिएको थियो। रूसले भनेको थियो कि सम्झौताका मुख्य बुँदाहरू लागू नभएकाले उसले सम्झौताबाट पछि हटेको हो ।

ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने प्रतिबन्ध
यस साताको वार्तापछि दुबै देशले एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्ने प्रतिबन्ध लागू गर्ने विषयमा थप उपायहरू विकास गर्न सहमति जनाएका छन् । रूसले युद्धको क्रममा युक्रेनको विद्युत आपूर्तिमाथि लगातार आक्रमण गर्दा लाखौँ युक्रेनीहरू अन्धकारमा परेका छन्, जसका कारण हिउँदमा उनीहरूलाई ठूलो समस्या भएको थियो ।

यसैगरी, रूसले युक्रेनका आणविक ऊर्जा केन्द्रहरूलाई लक्षित गरेका आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघको परमाणु निगरानी निकायले संयमता अपनाउन आग्रह गरेको थियो । तर रूसले भने ‘युक्रेनले नै रियाध वार्ताको क्रममा रूसी नागरिक ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी राखेको छ’ भन्दै जेलेन्स्कीमाथि सहमति तोडेको आरोप लगाएको छ।

पछिल्ला घटनाक्रम

मंगलबार युक्रेनले दाबी गर्यो कि रूसले सोमबार राति उत्तर–पूर्वी युक्रेनमा क्षेप्यास्त्र आक्रमण गर्दा  सय  भन्दा बढी व्यक्ति घाइते भएका छन् । युक्रेनका अनुसार मंगलबार बिहान मात्रै, रूसले १३९ ड्रोन र एउटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । युक्रेनी सेनाले भने रूसको कुस्र्क क्षेत्रको सैन्य संरचनामाथि हवाई आक्रमण गर्दा करिब ३० रूसी सैनिक मारिएको बताएको छ ।

प्रकाशित : १३ चैत २०८१, बुधबार 07:54
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved