काठमाडौँ– राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र घोषणाको मागसहित बिहीबारदेखि काठमाडौंमा ‘संयुक्त जनआन्दोलन’ सुरु गरिएको छ। आन्दोलनको आह्वान नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले गरेको हो, जसलाई राप्रपा, राप्रपा नेपाललगायत विभिन्न दल र समूहहरूले समर्थन जनाएका छन्।
यसपटकको आन्दोलनमा राप्रपा संस्थागत रूपमा सहभागी भएको छ। यसअघि चैत १५ मा भएको प्रदर्शनमा रवीन्द्र मिश्र, धवलशमशेर राणा, विक्रम पाण्डे लगायत केही नेता मात्र सहभागी भएका थिए।
आजको आन्दोलन काठमाडौँका सात स्थानबाट सुरु भएको हो। तीमध्ये तीन स्थानमा राप्रपाका शीर्ष नेताहरूले नेतृत्व गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मैतीदेवीबाट, उपाध्यक्ष पशुपतिशमशेर राणाले सिफलबाट र वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सोह्रखुट्टेबाट र्यालीको अगुवाइ गरेका हुन्।
जुलुसहरू रत्नपार्कस्थित शान्तिवाटिकामा एकत्रित भए। प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहितका नेताहरू सहभागी छन्। प्रदर्शनपछि भृकुटीमण्डपमा कोणसभा आयोजना गरियो ।
प्रदर्शनमा सहभागी धेरै नेताहरूले फरक शैली अपनाउँदै विभिन्न रंगका छाताहरू ओढेका थिए। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले छातालाई ‘मुकुट’ को प्रतीकका रूपमा प्रयोग गरिएको बताएका छन्।
राजावादी आन्दोलनको क्रममा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । जुलुसमा घुसपैठ गरेको आशंकामा दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको आन्दोलनकारीहरूलाई उद्धृत गर्दै जनाइएको छ।
राजावादी समूहले शान्तिपूर्ण प्रदर्शन गरे। राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै दिउँसो २ बजेदेखि शुरु भएको प्रदर्शनमा करिब ३,५०० जना सहभागी भएको प्रहरीको प्रारम्भिक आकलन छ।
तीनकुनेमा गत चैत १५ को प्रदर्शन हिंसात्मक बनेको स्मरणीय पृष्ठभूमिबीच बिहीबारको प्रदर्शन भने शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ। सहभागीहरूमा बैतडीका ५२ वर्षीय प्रेमबहादुर चन्द, दोलखाका ४७ वर्षीय नवराज श्रेष्ठ, नुवाकोटका ५३ वर्षीय रमेशबहादुर भेटवाल, बैतडीकै ५० वर्षीय अशक्त अवस्था भएका अम्बादत्त भट्ट, काठमाडौंको माछापोखरीका ७२ वर्षीय कृष्णप्रसाद फुयाँल, नवलपुरका ६७ वर्षीय कृष्णप्रसाद लुईंटेल, मोरङका ६३ वर्षीय चालक देवेन्द्र थापा, विराटनगरका शिक्षक विष्णुबहादुर थापा, हुम्लाका राप्रपा नेता तेजबहादुर रावतलगायत सहभागी थिए।
उनीहरूले वर्तमान गणतन्त्र प्रणालीले जनतालाई अधिकार, अवसर र न्याय दिन नसकेको आरोप लगाउँदै राजसंस्थाको पुनर्स्थापनाको माग गरेका थिए। कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आक्रोशसमेत पोखेका थिए।
यता नेकपा (एमाले) ले पनि बिहीबार गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक झाँकीसहितको जुलुस निकालेको छ। काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला कमिटी, १५ निर्वाचन क्षेत्रका संरचना, जनसंगठनहरू र सम्पर्क समितिहरू परिचालन गरेर एमालेले दिवसलाई उत्सवका रूपमा मनाएको हो। एमालेको र्यालीमा भने राजावादी पक्षधरको जस्तो सहभागिता नदेखिएको प्रत्यक्षदशीहरुले बताएका छन् । राजावादीको आन्दोलनमा सबै तप्काका उपस्थिति देखिए पनि एमालेको प्रदर्शनमा सधैँ देखिने सीमित नेता–कार्यकर्ता लामबद्ध देखिएको पत्रकारहरुले बताएका छन् ।
एमालेको र्याली भृकुटीमण्डपमा भेला भइ टुँडिखेल परिक्रमा गर्दै सम्पन्न भएको छ। कार्यक्रममा उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल र योगेश भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाललगायत नेताहरू सहभागी भए। कोणसभाको लागि मञ्च भने बनाइएन।
पार्टी महासचिव शंकर पोखरेलले गणतन्त्र जनताको बलिदानबाट प्राप्त सार्वभौमसत्ताको प्रतीक भएको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्रको बलमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने धारणा राखे। एमालेले राजधानीमा भेषभूषा र सांस्कृतिक झाँकीसहित र्याली निकालेर कोणसभा आयोजना गरेको थियो।
महासचिव पोखरेलले पञ्चायती व्यवस्थाको अन्त्यताका धनी–गरिबबीचको खाडल २१ गुणा रहेको तर अहिले त्यो घटेर ६ गुणामा झरेको उल्लेख गर्दै गणतन्त्रले सामाजिक–आर्थिक समानता ल्याएको दाबी गरे। उनले आगामी वर्ष गणतन्त्र उत्सव अझ भव्य रूपमा मनाउने घोषणा पनि गरे।
दुई विपरीत धार – राजसंस्थाको माग गर्ने सडक आन्दोलन र गणतन्त्रको जयगान गर्ने सत्ता पक्षको उत्सव – एकै दिन देखिनुले मुलुकको राजनीतिक ध्रुवीकरण अझ स्पष्ट देखिएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।
प्रशासनको तयारीअनुसार दिउँसो २ बजेसम्म एमालेले रत्नपार्क क्षेत्र प्रयोग गर्ने र त्यसपछि राजसंस्था समर्थकहरूको प्रदर्शनलाई अघि बढ्न दिने व्यवस्था मिलाइएको थियो ।यसबीच राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले भने राजावादी आन्दोलनमा सहभागी नहुने स्पष्ट पारेको छ। अभियानका सचिव प्रेमदीप लिम्बूले विज्ञप्ति जारी गर्दै राप्रपा नेतृत्वको आन्दोलनबाट आफूहरू अलग रहेको जनाएका छन्।
#राजसंस्था#एमाले
समाचार
दरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन
द नेप्लिज संवाददातासिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा
द नेप्लिज संवाददातारेडपान्डा चिच्याएपछि चोरहरु भागेका थिए...
द नेप्लिज संवाददाताहिन्दुराष्ट्र र राजसंस्थाका लागि पहिलो चरणको आन्दोलन सम्पन्न, दोस्रो चरणको तयारीमा राजावादीहरू
द नेप्लिज संवाददातासर्वोच्च अदालतको परमादेशले अप्ठेरोमा सरकार र माओवादी केन्द्र
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares