४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

इण्डो नेपाल क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा होराइजन विजयी

द नेप्लिज संवाददाता
२३ चैत २०८१, शनिबार

Advertisement

विराटनगर– प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको सहयोग र मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजनामा विराटनगरको जुटमिट खेलमैदानमा शनिबारबाट चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता सुरू भएको छ । 

प्रतियोगिताको उद्याटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब जोगवनीलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको होराइजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१९ रनको लक्ष्य दिएको थियो । 

होराइजनका मीनाश थापाले आक्रमक ब्याटिङ गर्दै ४० बलमा ३ छक्का र ४ चौका प्रहार गरी ५२ रनको अर्धशतकीय पारी खेले । उनलाई साथ दिँदै अभिषेक कार्कीले अविजित १५ बलमा ४६ रन बनाउँदा ३ छक्का र ६ चौका प्रहार गरे । फिरदोश अन्सारीले पनि अविजित ३० बलमा १ छक्का र ५ चौकाको मद्दतले ४१ रनको योगदान दिए भने अटल साहले १५ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाए । जोगवनीका बलर अभिषेक राजाले ४ ओभरमा ४५ रन खर्चिदै ३ विकेट लिए ।

२२० रनको लक्ष्य पछ्याएको जोगवनीले १४ ओभर १ बलमा सबै विकेट गुमाउँदै ११२ रनमा सिमित भयो । जोगवनीका अमन राजले १७ बलमा २८ रन बनाए भने आदित्य राजले ७ बलमा १७ रन र असफाक अन्सारीले ११ बलमा १२ रनको योगदान दिए । टोलीका अन्य ब्याटरहरू दोहोरो अंक जोड्न सकेनन् ।

विजेता टोली होराइजनका दिपेश कन्डेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट, फिर्दोस अन्सारीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने मीनाश थापाले २ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका मीनाश थापा खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद तीन हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

आइतबारको दुई खेलमा पहिलो भारतको दिल्ली युथ क्लब र फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाबीच हुनेछ भने दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र डिजायर क्रिकेट क्लब पूर्णियाबीच हुने आयोजकले जनाएको छ ।

मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । 

प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’को उपाधीसहित २५ हजार नगद पुरस्कार, सर्वाधिक रन बनाउने ‘बेस्ट ब्याटर’ र सर्वाधिक विकेट लिने ‘बेस्ट बलर’लाई १५–१५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । 

प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता आगामी चैत ३० गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगिताको उद्याटनपछि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले कोशी प्रदेशमा क्रिकेट खेलको विकासका लागि यस प्रकारका प्रतियोगिताहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् । ‘कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवर्द्धनका लागि नेपाल र भारतबीचको यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउँछ,’ बस्नेतले भने, ‘यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र व्यवसायिक अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्दछ । प्रदेश सरकारले क्रिकेटलगायत सबै खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा विशेष ध्यान दिइरहेको छ ।’

नेपाल र भारतका स्थानीय क्रिकेट टिमहरूबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नुका साथै व्यवसायिक अनुभव प्राप्तीका लागि यो प्रतियोगिता फलदायी हुने सचिव श्रेष्ठले बताइन् । 

प्रकाशित : २३ चैत २०८१, शनिबार 20:02
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved