३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

भण्डारीको नेतृत्व आकांक्षामा ओली चिन्तित : एमालेमा आन्तरिक द्वन्द्व चुलिँदै

द नेप्लिज संवाददाता
२ वैशाख २०८२, मङ्गलबार

Advertisement

विराटनगर – ‘एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्’, प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चैत २९ मा रुपन्देहीमा आयोजित जागरण सभामा दिएको यो चेतावनीले पार्टीभित्र गहिरिँदो शक्ति संघर्षलाई उजागर गर्यो । 

उक्त भाषणमा ओलीले एमालेभित्र आफ्नो विकल्प खोज्नेहरूलाई लक्षित गर्दै १५÷२० वर्ष कुर्न सुझाए । उनले भने, ‘केपी ओलीबिनाको अभियान चलाउनेले १५÷२० वर्ष पर्खिनुस्, अनि भेटिन्छ ओलीबिनाको एमाले ।’ केही दिनअघि मात्र कास्कीमा ओलीले ‘अब मेरो कपाल पनि पलाउन थालेको छ’ भन्दै आगामी नेतृत्वको सम्भावनालाई नै हास्य व्यंग्यमा उडाएका थिए ।

तर ओलीका यी अभिव्यक्तिहरू आफैंमा उनीमाथि दबाब बढिरहेको संकेत हुन् । एमालेभित्र नेतृत्व हस्तान्तरणको विषयलाई लिएर मौन रूपमा चलेको बहस अब खुला चुनौतीमा रूपान्तरण हुँदैछ ।

७० वर्षे उमेरहद निलम्बन, तेस्रो कार्यकालको तयारी

ओली २०८३ सालको मंसिरमा तय भएको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा छन् । त्यसका लागि पार्टी विधानले तोकेको ७० वर्षको उमेरहदलाई उनी नेतृत्वमा बसेर नै निलम्बन गराइसकेका छन् । यो निर्णय जेठ २०८० मा बसेको केन्द्रीय कमिटी बैठकमा गरिएको थियो जसले ओलीको दोहोरिएको उम्मेदवारीको ढोका खोल्यो ।

माधवदेखि भीमसम्म निष्कासन, तर डर कायमै
ओलीले समयक्रममा आफ्ना सम्भावित चुनौतीकर्ताहरू – माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, भीम रावल लगायत – पार्टीबाट बाहिर निकालिसकेका छन् । तर आलोचकहरूका अनुसार यसले ओलीको सशंकालाई घटाएको छैन, बरु बढाएको छ।

भीम रावललाई २०८० पुसमा एमालेबाट निष्कासन गरिएपछि माघमा बामदेव गौतमलाई पार्टीमा ल्याउने चर्चा चले पनि अन्ततः ओलीले उनलाई पनि अलपत्र पारे । गौतम अहिले ओलीमाथि खुलेर असन्तुष्टि जनाइरहेका छन् ।
अझ पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियता र पार्टी नेतृत्वप्रति उनीद्वारा व्यक्त आकांक्षाले ओलीलाई थप सशंकित बनाएको देखिन्छ ।

भण्डारीको खुला चुनौती 
पूर्वराष्ट्रपति भण्डारीले दोस्रो कार्यकालपछि एमालेको सदस्यता पुनः लिइन् र त्यसयता देश दौडाहामा जुटेकी छन् । एक अन्तर्वार्तामा उनले ओलीलाई सीधा चुनौती दिँदै भनिन्, ‘मलाई नेतृत्वमा आउनुपर्छ भन्नेहरूलाई त अझ बढी जिम्मेवारी दिनुपर्छ नि !’

उनको यो अभिव्यक्ति एमालेभित्रको विद्यमान ध्रुवीकरणलाई बल पु¥याउने संकेत मानिएको छ । मोरङमा आयोजित पार्टी अधिवेशनमा ओलीपक्षीय उम्मेदवारहरू पराजित हुनु र अध्यक्षमा अजम्बर राईसहित भण्डारी पक्षका उम्मेदवारहरूको जितले समेत पार्टीभित्र शक्ति सन्तुलन खलबलिएको देखिएको छ।

सुदूरदेखि काठमाडौँसम्मः भण्डारी पक्षको माहोल निर्माण
ओलीको नेतृत्वविरुद्ध भित्रभित्रै भण्डारीलाई अघि सार्ने रणनीति सुरु भइसकेको स्रोतहरू बताउँछन् । सुदूरपश्चिममा स्थायी कमिटी सदस्य कर्ण थापा, लुम्बिनीमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, काठमाडौंमा कृष्णगोपाल श्रेष्ठ र मोरङमा विनोद ढकाल सक्रिय छन् ।

कर्ण थापा खुलेरै एमालेको हालको नेतृत्वको आलोचना गर्दै आएका छन् । धनगढीको सभामा उनले दुर्गा प्रसाईं जस्ता पात्रहरूलाई केन्द्रीय सदस्य बनाएको निर्णयमाथि प्रश्न उठाए । प्रसाईं हाल राजावादी राजनीतिमा सक्रिय छन् । चैत्र १६ मा रुपन्देहीमा आयोजित एक कार्यक्रममा विद्या भण्डारी प्रमुख अतिथि बनिन्, जुन कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलको सिफारिसमा भण्डारी सहभागी भएकी थिइन् । यसले भण्डारी–पौडेल सहकार्यको संकेत दिएको छ ।

पार्टी विधानले पाँच वर्षमा महाधिवेशन अनिवार्य गरे पनि अध्यक्ष ओलीको २० वर्षे सत्ता चाहनाले एमालेभित्र सत्ता हस्तान्तरणको बहसलाई गम्भीर बनाइरहेको छ । ओलीले नेतृत्व त्याग्ने संकेत नदिँदा र भण्डारीजस्ता नेतृहरू सक्रिय हुँदै जाँदा एमाले एकपटक फेरि विभाजनको संघारमा पुग्ने जोखिम रहेको विश्लेषकहरूको भनाइ छ । यदि आन्तरिक लोकतन्त्रको अभ्यास नगरी नेतृत्व हस्तान्तरणको बाटो बन्द गरियो भने एमालेभित्र अर्को गम्भीर संकट पैदा हुने देखिन्छ ।
 

प्रकाशित : २ वैशाख २०८२, मङ्गलबार 22:39
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved