४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

ओलीलाई ‘हिटलर’ भन्ने एमालेकै पत्रकार

पत्रकार महासंघ र संसदको बैठकद्वारा सरकारको आलोचना
द नेप्लिज संवाददाता
२१ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा ‘तपाईँ हिटलर हो ?,’ भनेर प्रश्न गर्ने दुवै पत्रकार नेकपा एमाले निकट भएको खुलेको छ । सचिवालयको महासचिवस्तरीय निर्णयबाट पत्रकार आचार सहिंता अवहेलना भएको ठहर गर्दै ’सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई अस्थायी रुपमा एक महिनाका लागि संसद भवन प्रवेशमा रोक लगाएको छ । संसद भवन प्रवेशका लागि संघीय संसद सचिवालयले पास उपलब्ध गराउँछ । सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै उक्त निर्णय लिइएको बताएको छ । 

मोरङ उर्लाबारी–६ का श्रेष्ठ २०७९ मा स्थानीय तहको निर्वाचनमा एमालेबाटै वडा सदस्यको उम्मेदवार थिए । उनले वडा सदस्य पदमा ६ सय ३३ मत ल्याएका थिए । १ हजार ९ मत ल्याएर कांग्रेसका बमबहादुर श्रेष्ठले जितेका थिए । प्रकाश ओली पनि एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको लुम्बिनी प्रदेश कमिटी सदस्य रहेको खुलेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । 
गत फागुन ४ मा प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा ती पत्रकारहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा एवं अनुशासनको उल्लंघन भएको देखिएको सचिवालयको बुझाइ छ । 

सचिवालयका अनुसार पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख  छ । तर श्रेष्ठ र वलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

ती पत्रकारहरूलाई मिडिया सेन्टरसम्म जानका लागि दिइएको पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ । सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले फागुन ५ को बैठकमा पत्रकारहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा प्रयोग गरेका शब्दबारे संसदको ध्यानाकर्षण गराएका थिए । ‘प्रधानमन्त्री प्रश्नोत्तरबाट बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो, संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ?,’ थापाले संसदमा बोल्दै भनेका थिए ।

‘सांसदलाई सोधिने प्रश्नमा गालीगलौज तथा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाँइदैन,’ थापाले सोधे, ‘संसद सचिवालयको अनुमतिले रिपोर्टिङमा आएको मिडियाको साथीहरूले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचार यी कुरालाई ध्यान नदिई गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन?’त्यसपछि संघीय संसद सचिवालयले प्रधानमन्त्रीलाई त्यसरी प्रश्न सोध्ने युट्युबर को हो भनेर खोजेको थियो । 

पत्रकार महासंघ र संसदको बैठकद्वारा सरकारको आलोचना

नेपाल पत्रकार महासंघले पत्रकारको पास खोस्ने क्षेत्राधिकारभित्र संघीय संसद सचिवालय नपर्ने बताएको छ । ‘पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए, नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो । महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद् समक्ष आग्रह गर्दछ,’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारको संसद प्रवेश पास निलम्बनको संसद्मा पनि विरोध भएको छ । प्रतिनिधि सभाको बैठकमा बुधबार सांसदहरूले प्रवेश पास निलम्बनको कारण खोज्दै विरोध गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रश्न सोधेकै कारण पत्रकारको पास संसद सचिवालयले निलम्बन गर्नु उचित नरहेको बताए । ‘१९३० को जर्मनीको इतिहास पढ्नुहोला, हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए । जतिबेला उनी सरकारमा गए, त्यतिबेला उनले लोकतान्त्रिक अधिकारहरु कटौती गरेर निरंकुश बने’ खनालले भने । सरकार पनि हिटलरको जस्तै प्रयासमा रहेको उनको आरोप छ । 

उनी भन्छन्, ‘अहिलेको सरकार पनि त्यही गर्दैछ खुलामञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ अब मेरो पनि प्रश्न, के प्रधानमन्त्रीज्यू तपाईं हिटलर बन्दै हो ?’ रास्वपाकै सांसद शिव नेपालीले लोकतन्त्रको आधारभूत मान्यता वाक स्वतन्त्रता रहेको बताए । तर, लोकतान्त्रिक सरकारको प्रधानमन्त्रलाई लोकतन्त्र मन नपरेको आभास भइराखेको उनले बताए । ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्दा दुई पत्रकारको प्रवेश पास खारेज गरिन्छ । किनकी उहाँ (प्रधानमन्त्री)लाई प्रश्न मन पर्दैन ।’ रास्वपाका सांसद हरि ढकालले पत्रकारको पास निलम्बने गर्ने निर्णय फिर्ता लिन आग्रह गरे । ‘संसद सचिवालयले दुई जना पत्रकारको पास खोसेछ । दल र सरकारको दबाब र प्रभावमा रहेर जसरी पास खोसिएको छ । आजै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ उनले भने ।
 

प्रकाशित : २१ फागुन २०८१, बुधबार 14:48
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved