६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

दाङको साङ्ग्रिला प्लाइ उद्योगमा भयावह आगलागी : १८ घण्टासम्म नियन्त्रण बाहिर, उद्योग पूर्णरूपमा ध्वस्त

द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

विराटनगर – दाङको घोराही–९ खैरामास्थित साङ्ग्रिला प्लाइ उद्योगमा भयावह आगलागी भएको छ । आगो लागेको १८ घण्टासम्म पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन । उद्योग पूर्णरूपमा ध्वस्त भएको छ ।

आइतबार राति १ बजे सुरु भएको आगलागी साँझ सम्म पनि नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार ८० प्रतिशत आगो नियन्त्रणमा आए पनि बाँकी भाग निभाउन कठिन भइरहेको छ । उद्योगमा रहेको ज्वलनशील लिक्विडका कारण आगो नियन्त्रणमा समस्या उत्पन्न भएको एक प्रहरी अधिकृतले बताए ।

बस्ती जोगाउन प्राथमिकता

प्रहरीका अनुसार उद्योग आगोको चपेटामा परे पनि आसपासको बस्ती जोगाउनु प्राथमिकता राखिएको थियो । उद्योग नजिकै ५० मिटरको दूरीमा बस्ती फैलिएको र सय मिटरको परिधिमा करिब ७०–८० घर रहेका कारण सुरक्षा निकायहरू बस्ती जोगाउन केन्द्रित भएको प्रजिअ लम्सालले बताए ।  ‘पहिले कसरी बस्ती जोगाउने भन्नेमा ध्यान दिनुपर्यो । त्यसपछि मात्रै उद्योगमा आगो नियन्त्रणको प्रयास भयो,’उनले भने,‘बस्ती जोगाउन सफल भए पनि उद्योग जोगाउन सकिएन ।’

दमकल, सेना, प्रहरी सबै परिचालित

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन कार्यालयका कर्मचारी तथा स्थानीय सक्रिय थिए । सेना र प्रहरी मात्र करिब २ सय जनाको परिचालन गरिएको थियो । दमकलको समेत व्यापक प्रयोग गरियो । छिमेकी जिल्ला कपिलवस्तुबाट २, बाँकेबाट २, बर्दियाबाट १ गरी बाहिरबाट ५ दमकल र जिल्लाका ३ दमकल सहित जम्मा ८ दमकल परिचालन गरिएका थिए ।

इतिहासकै ठूलो आगलागी, क्षतिको सही आकलन अझै हुन नसक्ने 

दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीका अनुसार यो दाङको औद्योगिक इतिहासकै सबैभन्दा ठूलो आगलागी हो । ‘यसअघि पनि आगलागीका घटनाहरू भएका छन्, तर यस्तो ठूलो आगलागी कहिल्यै भएको थिएन,’ उनले भने ।

उद्योग ६ बिघामा फैलिएको थियो । आगलागीले उद्योगको सम्पूर्ण संरचना ध्वस्त भएको र केही मात्र काठ बाँकी रहेको बताइएको छ । ‘जबसम्म पूर्ण रूपमा आगो निभ्दैन, क्षतिको यकिन आकलन गर्न सकिन्न,’ बुढाथोकीले भने ।

देशकै दोस्रो ठूलो प्लाई उद्योग ध्वस्त


साङ्ग्रिला प्लाई उद्योग नेपालकै दोस्रो ठूलो प्लाई उद्योग हो जसले आफ्नो उत्पादन भारत समेत निर्यात गर्छ । ‘उद्योगीहरूले भर्खरै प्लाई विदेश निर्यात गर्न सुरु गरेका थिए । तर यो आगलागीले सबै बर्बाद बनायो,’ प्रमुख जिल्ला अधिकारी लम्सालले दुःख व्यक्त गर्दै भने । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । अनुसन्धानपछि मात्र आगलागीको वास्तविक कारण पता लाग्ने बताइएको छ ।

प्रकाशित : ११ चैत २०८१, सोमबार 19:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved