११ वैशाख २०८२, बिहीबार 24 Apr 2025, Thursday

भारतले झूटो बोल्यो

जितेन्द्र साह
१० वैशाख २०८२, बुधबार

Advertisement

विराटनगर– हामीले जब राष्ट्रहरूको सुरक्षा संयन्त्रबारे चर्चा गर्छौं, त्यसबेला नागरिकको ज्यान पहिलो प्राथमिकता हुनुपर्छ । तर भारतको पहलगाममा मंगलबार पर्यटकहरूमाथि भएको आतंककारी आक्रमणले देखाएको छ—भारतको सत्ताको छविको रङ विश्वकै जनताको रगतले पोतिएको छ ।

यो लेख सत्यको खोजीमा आधारित हो जहाँ कुनै एक पक्ष होइन, सम्पूर्ण सुरक्षा संरचना र गुप्तचर संयन्त्रको नैतिक दिवालियापनप्रति प्रश्न उठाइएको छ । यसले नेपाली नागरिकलाई पनि चेतावनी दिन्छ—हामी कहाँ सुरक्षित छौं ?

आफ्नो भूमि बाहिर कतै जाँदा मौसमको भविष्यवाणीसँगै त्यहाँ कति सुरक्षित छौं भन्ने सोच्न जरुरी छ । आफ्नो फाइदाका लागि सूचना लुकाउन माहिर वा झूट बोल्ने कलामा निपुण भारतजस्तो देशको अति संवेदनशील क्षेत्रमा जाँदा त विचार गर्नैपर्छ । भारतकै दयामायामा चल्ने नेपाल सरकारले यो विषयमा आँसु चुहाएर मौन बस्ला, हामी भने बोल्नुपर्छ, सवाल गर्नुपर्छ ।

भारतको जम्मु–कश्मीरस्थित पर्यटन गन्तव्य पहलगाममा रमाइलो गर्न गएका पर्यटकमाथि भएको गोली प्रहारले फेरि एकपटक भारतको सुरक्षा संयन्त्र र राज्यको नियतलाई गम्भीर प्रश्नको घेरामा ल्याएको छ । घटनामा जीवित बचेकाहरूको सहयोगमा संदिग्ध आतंककारीहरूको स्केच बन्यो जसको आधारमा भारतले आश्चर्यजनक गतिमा तीन व्यक्तिको तुरुन्तै पहिचान सार्वजनिक गर्यो —आसिफ फौजी, सुलेमान शाह, र अबु तल्हा ।

उनीहरूले प्रयोग गर्दै आएको कोड नाम ‘मुसा’, ‘युनुस’ र ‘आसिफ’सम्म भारतले खुलायो । उनीहरूको कुख्यात आतंकी संगठन लश्कर–ए–तैयबासँग सम्बन्ध रहेको बतायो । तर यति छिटो पहिचान हुनु आफैँमा एउटा गम्भीर संकेत हो । के भारत सरकारसँग पहिल्यै सूचना थियो ?

निःसन्देह थियो । त्यहाँ तैनाथ सुरक्षा अधिकारीहरूले विभिन्न सञ्चारमाध्यमलाई भने अनुसार यो समूह एक महिनादेखि उक्त क्षेत्रमा सक्रिय थियो । अर्थात् भारतीय सुरक्षा फौज र यी आतंककारीबीच लुकामारी चलिरहेको थियो । यसबारेमा भारतको गृहमन्त्रालयलाई राम्रै जानकारी रहेछ ।

आतंककारीको सबैभन्दा सहज र सरल लक्ष्य पर्यटक हुन सक्छ भन्ने तथ्यलाई लुकाएर भारतले ज्यानभन्दा बढी महत्व पर्यटन प्रवद्र्धनलाई दियो । ज्यान जोखिम हुँदाहुँदै पनि आफ्ना र अन्य मुलुकका नागरिकलाई घुमफिरका लागि त्यहाँ जान दिइयो ।

आतंककारीको स्केचको आधारमा नाम र संगठनको सम्बन्ध चाँडै पुष्टि गर्नु पूर्वजानकारीकै आधार थियो । अनि यदि पूर्वजानकारी थियो भने आक्रमण रोक्न असफल हुनु गम्भीर लापरवाही होइन त ? त्यहाँ भारतको मात्र नभएर संसारभरिबाट पुग्ने पर्यटकहरूको सुरक्षा प्रबन्धबारे उसले किन सोचेन ? पूर्वचेतावनीका कदमहरू किन चालिएनन् ? कुनै देश कसरी हजारौँ नागरिकको हत्यारा बन्न पुग्छ भने यो घटना ताजा उदाहरण हो । 

घटनाको द्रुत रिपोर्टिङमा भारतीय सञ्चारमाध्यम र सरकारी वक्तव्यहरूले आक्रमणका गहिरा कारणहरूभन्दा पर्यटन उद्योगको ‘सुधारिएको छविमा आँच नपरोस्’ भन्ने मनोवृत्ति देखाए । उनीहरूले मानवीय हताहतीलाई संख्यामा मापन गरे । नेपालबाट गएको एक परिवारले होनहार छोरा गुमायो, बाँकी परिवार भागेर ज्यान जोगायो । जीवनभरिको बचत खर्चेर त्यहाँको सौन्दर्यमा हराउन गएका सदाका लागि अस्ताए ।

यति संवेदनशील घटनापछि पनि भारतले पूर्ण पारदर्शिता देखाउन सकेन । भारत–पाकिस्तान सीमावर्ती क्षेत्रमा पटक–पटक आतंकी आक्रमण हुने गरेको तथ्य सर्वविदित छ । यस्तो क्षेत्रमा पर्यटकको आवागमनसँगै जोखिम आकलन गर्दै सावधानीपूर्वक यात्राका लागि सुझाव वा एडभाइजरी जारी नगर्नु गम्भीर चुक हो । भारतले गुमराहमा राख्दा नेपालले एक र संयुक्त अरब इमिरेट्सले दुई नागरिक गुमायो ।

भारत र त्यहाँका सञ्चारमाध्यमले झूटको खेती गर्नु नयाँ कुरा होइन, तर नेपाल लगायत देशका गुप्तचर संयन्त्र पनि निष्क्रिय देखियो । हुन त हाम्रो राष्ट्रिय अनुसन्धान विभाग भनेको पार्टी कार्यकर्तालाई जागिर दिन खडा गरिएको संयन्त्र भएकोले यताबाट धेरै आशा गर्नुहुन्न । काठमाडौँकै तीनकुनेको हिंसाबारे पूर्वजानकारी नभएकाहरुसँग कश्मीरको बारेमा सवाल गर्नु हास्यास्पद नै होला ।

तर आफूलाई विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भन्ने भारत र उसको राज्य संयन्त्रले संभावित घटनाको पूर्वजानकारी हुँदाहुँदै पनि सूचना लुकाएर विश्व सामु अपराधी सावित भएको छ । लश्कर–ए–तैयबा पाकिस्तानको भूमि प्रयोग गरेर सञ्चालन हुँदै आएको हो भन्ने दाबी भारतले लामो समयदेखि गर्दै आएको छ । तर कुनै पनि आक्रमणमा दोष भारत–पाक झगडामा सारेर आफू दोषमुक्त हुन खोज्नु सरल तर खतरनाक राजनीति हो । आखिर पर्यटकको मृत्यु भयो भारतको भूमिभित्र, त्यसमा सुरक्षा जिम्मेवारी भारतीय राज्यकै हो ।

यदि भारत सरकार स्वयं दोषी होइन भने उसले घटनापछि तत्काल स्वतन्त्र छानबिन, अन्तर्राष्ट्रिय निरीक्षण र पीडितहरूलाई न्याय सुनिश्चित गर्ने प्रक्रिया थाल्नु पथ्र्यो । तर यहाँ सूचना नियन्त्रण, सरकारी प्रवक्ताद्वारा प्रस्तुत ‘सुरक्षित र स्थिर कश्मीर’ नाराले सत्यभन्दा भ्रम बेच्न खोजिएको देखिन्छ । यो घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका राष्ट्रवादी मिडियाले जति खोके वा चिच्याए पनि विश्वका नागरिकको विश्वास उसले गुमाएको छ ।

पछिल्ला घटनाले स्पष्ट देखाउँछ कि भारतको राष्ट्रवादपरक सुरक्षा नीति र आतंककारी नियन्त्रण रणनीति नागरिकको सुरक्षामा होइन, सत्ताको ‘छवि’ जोगाउनेमा केन्द्रित छ । पहलगाम आक्रमणमा ज्यान गुमाएका विदेशी पर्यटकहरू अन्तर्राष्ट्रिय कूटनीतिक संकटका संकेत हुन् । संसारले भारतसँग जवाफ माग्नुपर्छ किनकि सत्य यही हो—सुरक्षा प्रणाली असफल हुँदा राष्ट्र नै हत्यारा बन्छ ।
 

प्रकाशित : १० वैशाख २०८२, बुधबार 21:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved