विराटनगर– सम्पदा भन्नाले हाम्रा पुर्खाबाट प्राप्त ती अमूल्य चिजहरूलाई जनाइन्छ जुन हाम्रो जीवन, संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएका हुन्छन् । यो केवल ईँटा, ढुंगा वा सुनको कुरा होइन, सम्पदा भन्नाले हामीले बाँच्ने तरिका, बोल्ने भाषा, पूजा गर्ने शैली, नाचगान, भेषभूषा र ती स्मारकहरूलाई जनाउँछ जसले हाम्रो इतिहास बोलिरहेका हुन्छन् ।
सम्पदा दुई थरिका हुन्छन् : भौतिक र अभौतिक । भौतिक सम्पदामा मन्दिर, गुम्बा, दरबार, मूर्ति, हस्तकला जस्ता वस्तुहरू पर्छन् । अभौतिक सम्पदामा भाषा, परम्परा, गीत, लोककथा, चाडपर्व, जात्रा जस्ता अमूर्त तर गहकिला पक्षहरू पर्छन् ।
सारांशमा सम्पदा भन्नाले हाम्रो अस्तित्वको जरा हो—जसले हामीलाई भोलिको बाटो देखाउँछ र विगतसँग जोडेर राख्छ । त्यसैले, सम्पदा जोगाउनु भनेको केवल ढुंगामाटो जोगाउनु होइन, आफ्नो आत्मा जोगाउनु हो ।
हरेक वर्ष अप्रिल १८ मा विश्व सम्पदा दिवस मनाइन्छ तर प्रश्न उठ्छ, हामी नेपालीका लागि यसको अर्थ के हो ? अरू मुलुकका लागि यो दिवस स्मारकहरूको संरक्षणबारे चेतना फैलाउने अवसर हुन सक्छ तर हाम्रो लागि यो दिन हराएको, चोरिएको र जोखिममा रहेको सम्पदाको सांस्कृतिक कथा संझने दिन हो, फर्काउने र फेरि प्राप्त गर्ने आशाको दियो ।
हामी एउटा यस्तो देशका नागरिक हौँ, जहाँ प्रत्येक देवस्थलले इतिहास बोकेको छ जहाँ प्रत्येक मूर्तिमा आस्था मात्र होइन, पुर्खाको सम्झना गाडिएको छ । तर यिनै सांस्कृतिक र धार्मिक सम्पदाहरू दशकौंअगाडि चोरी भए—कसैले रातारात तस्करी गरे, कसैले विदेशी म्यूजियममा सजावटको सामान बनाइदिए । हामी भने न त यसप्रति सचेत भयौँ, न सशक्त कानुनी संरचना बनाउन सक्यौँ ।
पुराना पुस्ताले जसरी ती मूर्तिहरूलाई पूजा गरे, तिनमा आत्मा अनुभव गरे—आज ती मूर्तिहरू विदेशी भूमिमा कलाकृति बनेका छन् । कुनै अमेरिकी म्यूजियमको कुनामा, कुनै युरोपेली कलेक्सनको दराजमा । हाम्रो आत्मा, हाम्रो पहिचान—बन्दी जीवन जिउँदैछ ।
तर सबै आशा मरेको छैन । पछिल्ला वर्षहरूमा केही मूर्तिहरू फर्काइएका छन् जसले नेपाली समाजमा केवल उत्सव मात्र होइन, पुनर्जागरण ल्याएको छ । लक्ष्मी–नारायणको मूर्ति जब ३७ वर्षपछि अमेरिकाबाट फर्काइयो त्यस दिन भर्खरै हराएको आफ्नो बुबा भेटिएझैं लाग्यो । मूर्तिको आँखा हेर्दा आँफैँ आँखा रसाए । ती कुनै ढुङ्गाका टुक्रा होइनन—हामी नेपालीका लागि ती मूर्तिहरू हाम्रो आत्मा हुन् ।
नेपालबाट कति मूर्तिहरू चोरी भए भन्ने यकिन तथ्यांक छैन, तर अनुसन्धानकर्ताहरू भन्छन्, करिब ८० प्रतिशत ऐतिहासिक र पूजनीय मूर्तिहरू गुमिसकेका छन् । अझै हजारौं विदेशमा छन—केही चिनिएका, केही हराइएका । कतिपय मूर्तिहरू त यस्ता छन् जसको अस्तित्व हामीले बिर्सिसकेका छौँ तर ती मूर्तिहरूले हामीलाई अझै सम्झिरहेका छन् ।
धेरैले भन्छन्, के फर्किएर आएका मूर्ति फेरि जोगिन्छ ? हो, प्रश्न ठीक छ । तर फेरि पनि फर्काउने प्रयास जरुरी छ । किनभने त्यसबाट हामी आफ्नो सांस्कृतिक अस्तित्व फर्काइरहेका हुन्छौँ । जसरी कुनै देशको झण्डा राष्ट्रिय गौरव हो, त्यसरी नै हाम्रो सम्पदा हाम्रो मौलिकता हो ।
आजको दिन विश्व सम्पदा दिवस, हामीलाई सम्झाइदिन्छ—हाम्रा गल्तीहरू के थिए र अब के गर्नुपर्छ । यसले हामीलाई प्रश्न गर्छ—के हामी अझै पनि आफ्नो जगेर्नामा गम्भीर छौँ ? के हामीले हाम्रो सम्पदा बचाउने प्रतिबद्धता गरेका छौँ ?
यो दिवस केवल दिवस होइन—यो हाम्रो इतिहाससँग मेलमिलापको दिन हो । चुप लागेर बस्ने कि आफ्नो सम्पदा खोज्ने ? अब समय आइसकेको छ, हामी आफ्नो गुमेको आत्मा खोजौँ र फेरि एउटा साँस्कृतिक राष्ट्र बन्ने आँट गरौँ ।
सन् २०२५ को विश्व सम्पदा दिवस (अप्रिल १८) को अन्तर्राष्ट्रिय नारा हो, विपद् र द्वन्द्वबाट संकटमा सम्पदा : तयारी र इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स (इकोमस) का ६० वर्षका अनुभवहरूबाट सिकाइ । यो नारा इकोमसकोे ६० औँ वार्षिकोत्सवसँग सम्बन्धित छ जसले विश्वभरि विपद् र द्वन्द्वका कारण संकटमा परेका सम्पदाहरूको संरक्षणमा आफ्नो योगदानलाई स्मरण गर्दै भविष्यका लागि तयारी र सिकाइमा जोड दिएको छ ।
विश्वभरि इकोमस र युनेस्कोका सदस्य राष्ट्रहरूमा गोष्ठी, सेमिनार, प्रदर्शनी र कार्यशालाहरू आयोजना गरिएका छन् जसमा सम्पदाको संरक्षण, विपद् व्यवस्थापन र द्वन्द्वपछिको पुनःस्थापनामा केन्द्रित गरिएको छ । विभिन्न देशका सम्पदा संरक्षण संस्थाहरू, शैक्षिक निकायहरू र स्थानीय समुदायहरूले आफ्नो अनुभवहरू साझा गर्दै भविष्यका लागि रणनीतिहरू निर्माणमा योगदान पुर्याएका छन् ।
देशभरिका विभिन्न सम्पदा स्थलहरूमा सरसफाइ अभियान, सचेतना र्याली र स्थानीय समुदायसँग अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिएको छ । विद्यालय र विश्वविद्यालयहरूमा सम्पदा संरक्षणसम्बन्धी चित्रकला प्रतियोगिता, निबन्ध लेखन र फोटो प्रदर्शनीहरू आयोजना गरिएको छ । तर यसपाली शिक्षक आन्दोलनले यो प्रभावित हुने भएको छ ।
संस्थागत सहभागिताः पुरातत्व विभाग, इकोमस नेपाल र अन्य गैरसरकारी संस्थाहरूले संयुक्त रूपमा गोष्ठीहरू आयोजना गरी नेपालका सम्पदाहरूको संरक्षणमा ध्यान केन्द्रित गरेका छन् । २०२५ को विश्व सम्पदा दिवसले हामीलाई स्मरण गराउँछ कि हाम्रो सांस्कृतिक सम्पदा केवल अतीतको धरोहर होइन, भविष्यको मार्गदर्शन पनि हो । विपद् र द्वन्द्वले संकटमा पारेका सम्पदाहरूको संरक्षणमा हामी सबैको भूमिका महत्वपूर्ण छ ।
नेपालजस्तो सम्पदामा धनी देशका लागि यो दिवस केवल उत्सव होइन, प्रतिबद्धताको प्रतीक हो । हामीले आजको दिनलाई अवसरको रूपमा लिएर, आफ्नो सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।
विश्व सम्पदा दिवस—अथवा अन्तर्राष्ट्रिय स्मारक तथा स्थल दिवस—को उद्देश्य मानव सभ्यताको विविध सांस्कृतिक सम्पदाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु हो । सन् १९८२ मा इकोमस द्वारा प्रस्तावित र १९८३ मा युनेस्कोद्वारा अनुमोदित यो दिवसले विश्वभरि स्मारकहरू, पुरातात्विक स्थलहरू र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान केन्द्रित गर्छ । प्रत्येक वर्ष फरक–फरक विषयवस्तुमा कार्यक्रमहरू आयोजना गरिन्छ, जस्तै २०२३ मा ‘हेरिटेज चेन्जेज (सम्पदा परिवर्तन)’ भन्ने विषयवस्तु चयन गरिएको थियो ।
नेपालको सन्दर्भमा यसको महत्व
नेपाल जसलाई ‘खुला संग्रहालय’ पनि भनिन्छ । यो सांस्कृतिक र धार्मिक सम्पदाले भरिपूर्ण देश हो । काठमाडौँ उपत्यकाका मन्दिरहरू, गुम्बाहरू, मूर्तिहरू र हस्तकलाहरूले नेपाली पहिचान र आत्मालाई प्रतिबिम्बित गर्छन् । तर १९५० को दशकदेखि अन्तर्राष्ट्रिय व्यापार र पर्यटनको वृद्धिसँगै हजारौं पुरातात्विक महत्वका मूर्तिहरू चोरी भई विदेशिएका छन् ।
चोरीएका मूर्तिहरू : संख्या र अवस्था
अनुमानित रूपमा ८०% धार्मिक मूर्तिहरू चोरी भइ अन्तर्राष्ट्रिय कालो बजारमा बिक्री भएका छन् । हालसम्म, नेपाल हेरिटेज रिकभरी क्याम्पेन (एनएचआरसी) र लोस्ट आर्टस अफ नेपाल जस्ता संस्थाहरूको प्रयासमा करिब ३० वटा महत्वपूर्ण मूर्तिहरू फेला पारेर स्वदेश फर्काइएको छ । लोस्ट आर्टस अफ नेपालका अनुसार १ लाखभन्दा बढी नेपाली सांस्कृतिक सम्पदाहरू अझै विदेशका संग्रहालयहरू र निजी संग्रहहरूमा छन् ।
प्रमुख उदाहरणहरू :
लक्ष्मी–नारायणको मूर्ति : १०औँ शताब्दीको यो मूर्ति १९८४ मा चोरी भइ ३७ वर्षपछि २०२१ मा अमेरिका स्थित डलास म्यूजियम अफ आर्टबाट नेपाल फर्काइएको थियो ।
उमा–महेश्वरको मूर्ति : १६औँ शताब्दीको यो मूर्ति हालै अमेरिकाबाट नेपाल फर्काइएको छ ।
बालकुमारीको मूर्ति : ललितपुरस्थित बालकुमारी मन्दिरको मूर्ति दुईपटक चोरी भएको थियो तर स्थानीय प्रयासमा पुनःस्थापित गरिएको छ ।
विश्व सम्पदा दिवस नेपालको लागि केवल एक अन्तर्राष्ट्रिय दिवस मात्र होइन, यो आफ्नै पहिचान, आत्मा र संस्कृतिको पुनर्जागरणको अवसर हो । चोरी भएका मूर्तिहरूको पुनःस्थापना केवल भौतिक सम्पदाको फर्काइ मात्र होइन, यो नेपाली जनताको आत्मसम्मान र सांस्कृतिक पुनर्जागरणको प्रतीक हो । यस दिवसमा हामीले हाम्रो सम्पदाको संरक्षणमा प्रतिबद्धता जनाउँदै भविष्यका पुस्ताहरूलाई समृद्ध सांस्कृतिक विरासत सुम्पनु आवश्यक छ ।
विचार/अन्तर्वार्ता
देशको व्यवस्था फेरिन्छ, सुविधाभोगी फेरिँदैन
जितेन्द्र साहपूर्वराजा ज्ञानेन्द्र पनि सुध्रिए, लोकतन्त्रवादी नेताहरु कहिले सुध्रिने ?
जितेन्द्र साहनयाँ वर्ष, नयाँ दृष्टिकोण : अनिश्चितताको बीचमा उत्तरदायी पत्रकारिताको प्रतिबद्धता
जितेन्द्र साहजलवायु न्यायका लागि हाम्रो देशको आवाज
जितेन्द्र साहनिराशाको घेराभित्र आशाको खोजीमा नेपाली समाज
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares