४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

‘हातखुट्टा चलुन्जेल काम गर्छु’ (तस्बिरहरु)

जितेन्द्र साह
२५ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर– भुइँमान्छे अर्थात संघर्ष, अनुभव र प्रेरणाको प्रतिक । भनिन्छ हरेक आममान्छेको कथा खास हुन्छ, उनीसँग भन्नलाई केही गजबको बात हुन्छ । विराटनगरको कोशी अस्पताल आसपासको क्षेत्रमा दिउँसोदेखि राति सम्म बदाम बेचिरहेको भेटिने ७६ वर्षीय जवाहरप्रसाद शाह यही खास व्यक्तिमा पर्छन् ।

‘यो उमेरमा पनि खुशीले यो काम गरिरहेको छु,’उनी भन्छन्,‘शरीरले साथ दिइन्जेल परिश्रम गर्ने हो ।’ जवाहरप्रसाद बेघर पनि होइनन् । उनको विराटनगर–८, अशोक चोकमा घर छ । असाध्यै माया गर्ने श्रीमती सुदामा छिन् । दुई छोरा पनि उनी जस्तै बदाम बेच्छन् । ९ जना नातिनातिना छन् । सबै स्कूल–कलेज पढ्दैछन् । 

श्रीमतीको प्रसँग निकाल्दा यो उमेरमा पनि जवाहरप्रसाद  लजाउँछन् । उनको आँखामा श्रीमती प्रतिको माया र आदर प्रष्ट झल्किन्छ । ‘सारा तयारी घरमा सुदामाले नै गर्छिन्, म यहाँ ल्याएर सामान बेच्ने मात्र हो, उनी छन् र म बाँचेको छु,’ जवाहरप्रसाद भन्छन्, ‘घरमा पोतापोती (नातिनातिना) लाई पनि हेर्नुपर्छ, यहाँ आउने उनले समय पाउँदिनन्, शाखा सन्तान नहुँदा पहिलेपहिले त हाटबजारसँगै जान्थ्यौँ ।’


विपन्न परिवारका उनी जान्ने–बुझ्ने भएदेखि सडकमा संघर्ष गर्न थाले । जवाहरप्रसादले धेरै वर्ष सम्म चटपटे बेचे । बदाम बेच्न थालेको डेढ दशक जति भइसकेको छ । ‘श्रम गरेको एक/एक रुपैयाँ जोडेर एक टुक्रा जग्गामा घर बनाएको छु,’उनी भन्छन् । जवाहरप्रसादले घर बनाएको धेरै भएको छैन । ६५ वर्षको उमेर सम्म भाडाको घरमै बसे । जवाहरप्रसादले १०/१२ वर्ष अगाडि घर बनाएको बताउँछन् ।

उनी र उनको श्रीमतीलाई उच्च रक्तचाप एवं मधुमेह छ । रोगले शरीरको मासु र हाडलाई गलाएको छ । ढाडको समस्याले जवाहरप्रसाद कुप्रो परेर हिँडछन् । धेरै बेर बस्न नसक्नेले हुनाले छेउमा एउटा पुरानो मुढा राखेका छन् । फुर्सद मिलेको बेला बस्छन् । उनी बदामसँगै बदामले बनेको स्वादिलो मिठाइ पनि बेच्छन् । 

यो संवाददाता र बा जवाहरप्रसादबीचको संवाद सुनिरहेका युवा ग्राहक शंकर सहनी भन्छन्, ‘सकुन्जेल आफै कमाइ खाने उहाँको सोच राम्रो लाग्यो ।’ मोरङको रंगेली–२ का सहनी किनमेल र परिवारको उपचारको क्रममा विराटनगर आइरहन्छन् । रंगेलीसँगै जोडिएको मोरङकै धनपालथान गाउँपालिकाको कर्सिया बजारको होटेल व्यवसायी सहनी भन्छन्,‘विराटनगर आएको बेला जवाहर बुबाको बदाम अवश्य चाख्छु ।’

बुढ्यौलीसँगैको असशक्तताले जवाहरको दिनचर्यामा एक दशकदेखि फेरिएको छ । पहिले बिहानदेखि राति सम्म सडकमै भेटिने उनलाई रोग र कुप्य्राइँले पीडा थपेको छ । उनी अचेल बिहानको खाना पछि एक क्षिण सुस्ताएर दिउँसो १२ बजे तिर ठेला गाडा धकेल्दै हस्पिटल चोक आइपुग्छन ।  ‘ढिलो हुँदा श्रीमतीले पनि चिन्ता गर्छन्, राति १० बजेभित्र घर फर्कन्छु,’ जवाहर भन्छन्, ‘उमेर भयो, पहिला जस्तो शरीरमा तागत छैन, गाडा ठेल्दै घर पुग्दा पौने घण्टा लाग्छ ।’

शरीर कुप्रो नपर्दा उनी काठको खोन्चामा सामान राखेर टाउकोमा बोकी मोरङको टाढाटाढाको ग्रामीण हटिया पुग्थे । शरीरले बेइमानी गर्न थाले पछि हिंडन नसकेर डेढ दशकदेखि ठेला किनेर ब्यापार गरिरहेका छन् ।
पाँच दाजुभाइमा उनी मात्र जीवित छन् । जवाहरप्रसाद पनि कमजोर भएका छन् । बोली पनि लरबराउँछ । उनलाई राति निंद्रा पनि कम लाग्छ । ‘बुढ्यौली लाग्यो, ईश्वरको घरमा जाने दिन पनि आउँदैछ, यो सब त हुने नै हो,’ उनी भन्छन्, ‘घरमा सुतेर चाहिँ बस्दिन, काम गर्दागर्दै मर्ने मन छ ।’ यो उमेरमा पनि उनी मान, अपमानको परवाह नगरी जीविकोपार्जन गर्दैछन् ।

महानगर प्रहरीले फुटपाथबाट लखेटनु र कसैलाई असर नपर्ने गरी सडकपेटी छोडेर ठेलागाडा राख्दा पनि वरिपरिका पसलेले उनलाई हप्काउँछन् । तर उनी जवाफ फर्काउँदैनन् । भित्ता कुनातिर अडेर व्यापार गर्छन् । कोशी अस्पताल अघिल्तिरको एक औषधि पसलका कर्मचारी स्थानीय अजय रायले यो उमेरमा श्रम गरेर बाँच्ने ज्येष्ठ नागरिक जवाहरप्रसादसँग कसैले नराम्रो व्यवहार गर्दा पीडा महसुस हुने गरेको बताउँछन् । 

‘सहयोग र सम्मान गनुपर्ने बा, हजुरबा उमेरका जवाहरप्रसादलाई नगर प्रहरी र वरिपरिकाले हप्काएर बोल्दा साह्रै नमज्जा लाग्छ,’ उनी भन्छन् । उनको नियमित ग्राहकमा स्थानीय ब्यापारी, वरिपरिका विभिन्न अस्पालका कर्मचारी र बटुवाहरु हुन् । उधारो कतिको  जान्छ भनेर सोध्छा भन्छन्, ‘खाने चिज हो, कसैले माग्दा दिन्न भन्नै सक्दिन्, उद्यारो लान्छन्, लेखेर राख्दिन, उमेर भइसक्यो, त्यति याद पनि हुन्न, धेरैले संझेर पैसा ल्याइदिन्छन्, म आफैँ चाहिँ माग्दिन् ।’ 

प्रकाशित : २५ फागुन २०८१, आइतबार 00:07
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved