तस्बिर : गोपाल दाहाल/रासस
काठमाडौँ — राजावादीले चैत १५ मा गरेको प्रदर्शनमा नेपाल प्रहरी सबैभन्दा बढी आलोचित भएको छ । नागरिक समाजको ठूलो वर्गले उसै पनि प्रहरीलाई विश्वास गर्दैन । उक्त प्रदर्शन पछि सार्वजनिक भइरहेको श्रव्य–दृश्यहरुले गर्दा नागरिक समाजले प्रहरीको हरेक गतिविधिमा सन्देह गर्न थालेको छ । आफ्नो करनी र भनाइ नमिल्दा नेपाल प्रहरीले हरेक दिन ढाकछोपका नयाँ कथा सार्वजनिक गरिरहेको छ ।
यो क्रममा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले ३०–४० जनाका झुण्ड भएर आगजनी र लुटपाट गरिएको बताएका छन् । उनको यो तथ्यांकको कतैबाट पुष्टि हुँदैन ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा महानिरीक्षक थापाले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर अनुमति मागेपछि सोहीअनुसारको सुरक्षा रणनीति अपनाइएको जानकारी दिए । तर कार्यक्रमको सुरुवातमै अराजकता मच्चाउन लागिएको पनि थापाले जानकारी दिए । तर कसले, कसरी र कहाँ ? सुरुमै थाहा पाए पछि रोक्ने प्रयास किन भएन ? उनले प्रमाण सहित खुलाउनु पथ्र्यो तर सकेनन् ।
‘शान्तिपूर्वक कार्यक्रम गर्छौं भनेर रुट र भेन्यू समेत लिएका थिए । समाजवादी मोर्चाको पनि कार्यक्रम रहेकाले कुनै पनि झडप नहोस् भनेर सुरक्षा रणनीति बनाइएको थियो,’ थापाले भने, ‘राजावादी जुन आन्दोलन भनिएको छ त्यसमा ३९ भन्दा बढी समूह छन् । सानासाना जुलुस निकालिए र मञ्च पनि बनाएको छ । त्यसअनुसार सुरक्षा दियौं । शान्तिपूर्वक गर्छौं भनेर गरिएको प्रदर्शन भीड, हिंसा, लुटपाट, तोडफोड, आगजनीमा उत्रियो ।
त्यसपछि हाम्रो रणनीतिअनुसार अगाडि बढ्न केही असहज भयो ।’ यस्तो प्रदर्शनमा रणनीति भन्दा पनि अचानक यस्तो भएमा के गर्ने भन्ने प्रहरी संगठनसँग योजना नभएको देखियो ।
समितिका एक सदस्यका अनुसार बोलिरहँदा थापाको बोली र हाउभाउमा आत्मविश्वास झल्किएको थिएन । उनी औपचारिकताका लागि बोल्न आएका जस्तो देखिन्थे ।
उक्त प्रदर्शनमा सुनियोजित रूपमा निश्चित संख्याका व्यक्तिहरूको समूह बनाएर लुटपाट र तोडफोड तथा आगजनी गरिएको थापाले दोहोर्याइ रहे ।सवाल उठ्छ, सुनियोजित थियो भने प्रहरीले किन थाहा पाएन ?
‘कार्यक्रम सुरु हुनु पहिले नै झडप भयो र मञ्चमा बसेर उत्तेजक भाषण पनि भइराखेको थियो । झुन्ड–झुन्ड थियो । ३०–४० जनाको झुन्ड भएर यहाँ हान, यहाँ हान भनिरहेका थिए । अराजक झुन्डमा गएर आगजनी, लुटपाट गरिएको छ ,’ थापा भन्दै थिए, समितिका सदस्यहरु सुनेजस्तो गर्दै थिए किनकी पुरानै कथा भनिरहेका थिए ।
महानिरीक्षक थापाले उक्त घटना ४ घण्टामा कफ्र्यु लगाएर नियन्त्रणमा लिइएको भन्दा समितिका सदस्यहरु मुसुमुसु हाँस्दै थिए । तीनकुनेको घटनामा राज्यविरुद्धको अपराध र संगठित अपराध तथा आपराधिक उपद्रोमा मुद्दा दर्ता गरिएको थापाले जानकारी दिए । राज्यविरुद्धको अपराध र संगठित अपराधमा संलग्न भएका २० जनालाई पक्राउ गरिएको र अन्य ५८ जनालाई आपराधिक उपद्रोमा पक्राउ गरेर म्याद थप गरिएको थापाले जानकारी दिए ।
उक्त घटनामा संलग्नमा रहेकाहरूलाई अनुसन्धानको दायरामा ल्याइने पनि थापाले बताए । उक्त प्रदर्शनका क्रममा पत्रकार रहेको घरमा आगो लगाइएको थियो । आगलागीमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । प्रहरीको गोलीबाट सविन महर्जनको मृत्यु भएको थियो ।
जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गरिएको थियो । सञ्चार गृहमा ढुंगामुढासहित आगजनीको प्रयास गरिएको थियो । भाटभटेनीमा लुटपाट र तोडफोड भयो । समितिका एक सदस्यले भने,‘महानिरीक्षक थापासँग ताजा अपडेट सुन्ने भनेर बसेका थियौं, उहाँले पनि गृहमन्त्री जस्तै वास्तविकताभन्दा धेरै परको गृहमन्त्रालयको वाक्क लाग्दो उही तयारी प्रतिवेदन दोहोर्याएर जानु भयो ।’
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares