१९ वैशाख २०८२, शुक्रबार 02 May 2025, Friday

पेस्तोल पड्काउँदै नाचेपछि जसपा नेतृ डा. बबी सिंह यादव विवादमा, प्रहरी अनुसन्धान थालियो

द नेप्लिज संवाददाता
१८ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर–  जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादव पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादमा परेकी छन्।

बुधबार रातिदेखि फेसबुकमा तीव्ररूपमा फैलिएको भिडियोमा यादवलाई गीतसङ्गीतमा नाच्दै हातमा पेस्तोल पड्काएको प्रस्ट देखिन्छ। यद्यपि उक्त भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने यकिन भइसकेको छैन।

डा. यादव सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की बासिन्दा हुन्। उनी जसपा नेपालका उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन्। हाल डा. यादव जसपाकी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी छन्।

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले भिडियोबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए। 'भिडियो मैले पनि हेरेको छु,' उनले भने,' अनुसन्धानपछि थप विवरण स्पष्ट हुनेछ र त्यसअनुसार कानूनी प्रक्रिया अघि बढाइनेछ।'

उक्त  'पेस्तोल' सर्लाही प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उक्त पेस्तोल मलंगवा नगरपालिका–२ स्थित एक घरबाट बरामद गरिएको हो। डीएसपी सरोज राईले गत चैत ११ मा कोमल सुप्रियाको हल्दी कार्यक्रममा उक्त पेस्तोल प्रयोग गरिएको प्रारम्भिक विवरण आएको बताए। 

भिडियो सार्वजनिक भएपछि प्रहरीको ध्यान गएको थियो। 'पेस्तोलजस्तो देखिने एउटा उपकरण सर्लाहीबाट बरामद भएको छ। परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइनेछ," एसपी खतिवडाले भने।

यसैबीच नेता डा. यादवले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण दिँदै आफूले पड्काएको वस्तु 'रेन्जर टोय' नामक खेलौना मात्र भएको बताएकी छिन्। भारतको सीमावर्ती सहर सीतामढीमा मामाकी छोरीको वैवाहिक समारोहमा नाच्ने क्रममा उक्त खेलौना प्रयोग गरिएको उनले उल्लेख गरेकी छन्।

'आफन्तहरूको आग्रहमा परिवारजनसँग रमाइलो गर्दै नाच्ने क्रममा प्रयोग गरिएको खेलौनालाई अतिरञ्जित नगर्न अनुरोध गर्दछु,'[ उनले सामाजिक सञ्जालमा लेखेकी छन्। उनले परिवारको रमाइलो क्षणमा खिचिएको भिडियोलाई सन्दर्भ र स्वीकृतिबिना सामाजिक सञ्जालमा फैलाइएको भन्दै असन्तोषसमेत व्यक्त गरेकी छन्।

भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा नेतृ यादवको व्यवहारप्रति आलोचना बढेको छ। सार्वजनिक स्थानमा हातहतियार प्रयोगको विषयमा प्रहरीको अनुसन्धानसँगै राजनीतिक तहमा समेत बहस सुरु भएको छ।

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 07:57
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved