सिरुवा, सलहेस जयन्ती, जुडशीतल र विश्व कला दिवस
विराटनगर– नयाँ वर्षको सुरुआतमै सांस्कृतिक र सृजनात्मक विविधताले तराई–मधेसमा झन् चहकिएको देखिएको छ । वैशाख १ बाट सुरु हुने सिरुवा पर्व, मिथिलाञ्चलमा लोकदेवता सलहेस जयन्ती, वैशाख २ मा जुडशीतल पर्व र विश्व कला दिवसले यो क्षेत्रलाई परम्परा, धर्म, प्रकृति र कल्पनाशीलताको संगमस्थल बनाएको छ ।
सिरुवा पर्व आदिवासी र मधेसी समुदायको मौलिक परम्परागत नववर्ष हो जहाँ पानीको प्रयोगले प्रकृतिप्रति कृतज्ञता र आपसी सम्बन्धमा शुद्धता देखिन्छ । यो पर्व विशेषगरी पूर्वी तराईका झापा, मोरङ, सुनसरी लगायत जिल्लामा धूमधामका साथ मनाइन्छ । किसानहरूले खेतमा पानी छर्किएर उपजका लागि कामना गर्छन् भने आपसमा पानी छर्किने परम्पराले रिसराग पखाल्ने सन्देश दिन्छ ।
जानकारहरु भन्छन्, ‘सिरुवा केवल उत्सव होइन, यो समृद्धि र सजीव सहअस्तित्वको जीवनशैली हो जसले जल स्रोतप्रति सम्मान अभिव्यक्त गर्छ । तीन दिनसम्म मनाइने सिरुवा पर्व तराई मधेसका आदिवासी, जनजाति र मधेसी समुदायको मुख्य चाड हो । वैशाख १ अर्थात सिरुवा पर्वको पहिलो दिन अझै पनि ग्रामीण बस्तीमा पानी खेलेर सिरुवा र नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको छ । सिरुवा पर्वको शाब्दिक अर्थ–शीर्षस्थ अर्थात् वर्षको सबैभन्दा पहिलो पर्व, शुरुको पर्व हुन्छ । वर्षको सबैभन्दा पहिले आउने हुनाले स्थानीय लवजमा सिरुवा पर्व भनिएको हो ।
आफूभन्दा ठूलाको खुट्टा ढोगेर आर्शिवाद लिएपछि पानी सिरुवा खेल्न सुरु गर्ने चलन छ । ठूलाबडाले पानी शिरमा राखेर वर्षभरि शान्त रहनु, सधैँ शीतलता प्राप्त गर्नु तथा स्वास्थ्य रहनु भन्दै आर्शिवाद दिने परम्परा छ । वैशाख १ मा पानी, २ गते काद (माटोको हिलो) र ३ गते रंग सिरुवा खेल्ने परम्परा छ ।
सिरुवाको पहिलो दिन घर आँगन लिपपोत गर्ने, घरमा कसैको कुदृष्टि नलागोस् भनेर प्याज, लसुन, खुर्सानी, कागती बाँधेर घरको मूल ढोकामा झुण्डाउने गरिन्छ । सिरुवाको दोस्रो दिन माटोको पूजा गरेर ठूलाबडाबाट आर्शिवाद लिएपछि हिलो छ्यापाछ्याप गर्दै काद सिरुवा खेल्ने गरिन्छ ।
उक्त दिन आदिवासी समुदायले आफ्नो कुल देवताको पूजापाठ गर्ने गर्छन् । बिहान काद सिरुवा खेलेर पूजापाठ गरेपछि बेलुका ‘घाटोसरी’ पूजा गर्ने चलन छ । मधेशका कतिपय समुदायमा स्थानीय महिलाहरुले बेलुकाको समयमा नजिकैको नदी÷तलाउमा गएर घाटोसरी पूजा गर्ने गर्छन् ।
सिरुवाको तेस्रो तथा अन्तिम दिन रंग सिरुवा मनाइन्छ । वर्षभरि जीवन रंगिन बनुस्, खुसी र सुख प्राप्त होस् भन्ने कामना गर्दै आपसमा रंग दलेर रंग सिरुवा खेल्ने चलन छ । सिरुवा पर्वमा मीठामीठा परिकार खाने र सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने तथा सिरुवा मेला घुम्न जाने चलन पनि छ ।
मिथिला र आसपासका क्षेत्रमा नयाँ वर्षको भोलिपल्ट मनाइने जुडशीतल पर्व धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा महत्वपूर्ण छ । मधेसका कतिपय समुुदायले १ वैशाखमा सिरुवाको आरम्भसँगै जुडशीतल मनाउँछन् । ‘जुड’ र ‘शीतल’ दुई शब्द मिलेर ‘जुडशीतल’ बनेको हो । जुडको अर्थ वरदान/आशीर्वाद हो भने शीतलको अर्थ हो– शीतलता । गर्मीमा शीतलताको कामना यो पर्वको मर्म हो । यस पर्वको पहिलो दिन बेलुका कूलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाइ भोलिपल्ट एकाबिहानै त्यो शीतल जल परिवारको ज्येष्ठ सदस्यले तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन् ।
घरघरै सातु, दही, बरी, तरुवा र पुवा लगायतका विशेष परिकारहरू तयार पारिन्छ । सामाजिक अनुसन्धानकर्ता प्रभाकर मिश्र भन्छन्, ‘जुडशीतल पारिवारिक एकता, आत्मीयता र संयमको अभ्यास हो, जसले आधुनिकताको दौडमा हराउँदै गइरहेका सम्बन्धहरूलाई पुनः स्मरण गराउँछ ।’
नयाँ वर्षको स्वागतमा आयोजन हुने जुडशीतल पर्वसँगै लोकदेवता सलहेस जयन्तीमा मिथिलाञ्चलमा रमझम हुन्छ । सलहेस जयन्ती नयाँ वर्षको आगमनसँगै सुरु हुन्छ । जुडशीतल पर्वमा गाउँ नगरका मान्यजनहरु आफूभन्दा कान्छा उमेरका व्यक्तिको टाउकोमा शीतल जल खन्याएर वर्षभरि शीतल रहने आशिष दिन्छन् । बालबालिका र किशोर किशोरीहरु एक आपसमा हिलो माटो दलेर रमाइलो गर्छन् । ठाउँ ठाउँमा मेला लाग्ने गरेको छ । पहलमानहरुबीच दंगल तथा मटकाफोर आदि खेल तमासाको आयोजन गरिन्छ ।
वसन्त ऋतुको मध्यमा आयोजना हुने जुडशीतलको पर्वको अवसरमा गाई, गोरुलाई नुहाइधुवाइ गरिन्छ भने रुखहरुमा पानी पटाउने, घर आँगन सफा सुग्घर गर्ने परम्परा छ । गाउँघरका इनार, पोखरी तथा नालाहरु सफाइ गर्ने परम्परा पनि छ । गर्मीबाट जोगिने संस्कृतिको सुरुवात स्वरुप मनाइने दुई दिने यस पर्वको पहिलो दिन अर्थात् वैशाख १ मा सतुआइन मनाइन्छ । यस दिन चनाको सातु खाने चलन छ । दोस्रो दिन घरघरमा वड वडी (बेसन र दहीबाट बनाइने पारम्परिक परिकार) सँगै विभिन्न प्रकारका तरुवा (पकौडा) खाने चलन छ । यसै दिनदेखि आँपको चटनी खाने गरिन्छ ।
जुडशीतलको दिन चुल्हो समेतको पूजा हुन्छ । घरमा एक छाक खाना मात्र पाक्छ । सन्ध्या चुल्होलाई शीतल राखिन्छ । सम्भवतः मधेशमा वर्षको यौ नै एक दिन होला जब भान्छाले पनि आराम पाउँछ । नयाँ वर्षको आगमनसँगै धनुषा, सिरहा, सप्तरी, महोत्तरीसहितका दुसाधवहुल गाउँहरुमा सलहेस जयन्तीको आयोजन सुरु भएको छ । सलहेस दुसाध जातिका जातीय देवता तथा मिथिलाञ्चलका लोक देवता मानिन्छन् ।
यस अवसरमा सलहेस गाथासँग सम्बद्ध सिरहाको महिसौथा, फूलवारि–पतारि,चोहर्वा तथा मानिकदह लगायतका ऐतिहासिक स्थलहरुमा विशेष मेलाको आयोजन गरिएको छ । धनुषाको अकौडा, झिझा, बघचौडा, कपटौल, नरहियालगायतका दुसाधवहुल गाउँहरुमा सलहेसको प्रतीमा बनाएर भव्य मेला लाग्छ ।
छैठौँ—सातौँ शताब्दीमा मध्यमधेसको सिरहा नगरपालिकाको महिसौथामा जन्मेका सलहेस मिथिलाञ्चलका लोकप्रिय लोकनायक हुन् । सलहेस जयन्तीको पूर्वसन्ध्यामा सिरहाको पतारीस्थित फूलबारीमा रहेको हारमको रुखमा फूल्ने सुनाखरीको फूललाई सलहेस र उनकी प्रेमिका मालिन दिदी बहिनीबीचको प्रेमको प्रतीकको रुपमा चित्रण गरिन्छ ।
वर्षको एक दिन मात्र फुल्ने फूल ! सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । पूर्व–पश्चिम राजमार्ग खण्डअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा फूलबारीमा यस्तै फूल देख्न पाइन्छ । सलहेस फूलबारीको नाामले प्रसिद्ध रहेको उक्त ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख मौलाएर जान्छ ।
फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) सँगै टाँसिएको उक्त रुखमा वर्षको एकदिन एकाबिहानै फूल फुल्नु र साँझपख मौलाएर जानु आजसम्म रहस्यनै बनेको छ । माला आकारको सेतो फूलको थुङ्गा जस्तो देखिन्छ । साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । ती रुख के का हुन् कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय हो । वनस्पतिविद्हरूका अनुसार छैटौँ/सातौँ शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
राजा सलहेस को थिए, कसरी एउटा दुसाद (दलित) जातिका व्यक्ति राजा भए र राजा सलहेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फुल्ने फूलका बारेमा पनि एउटा रोचक तथा सत्य घटना रहेको छ । छैटौँ/सातौँ शताब्दीतिर त्यसबेला मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्दछ । त्यसबेला त्यहाँका सामन्त, जमिन्दार, भैरव, भूपाल, सोनम र मन्दोदरीको कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । सानैदेखि सौर्यवान प्रखर वुद्धिमान धनी र शौर्यशाली थिए सलहेस ।
सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किराँत प्रदेश तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो । बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्न सलहेसका बुबा भूपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्दुपति शम्सेर भण्डारीलाई मद्दत गर्न गए ।
भोट र किराँतसँग भएको युद्धमा भूपाल सोमनदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गढपति बने । सलहेस गढपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो शैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सलहेस र मालिनीबीच प्रेम भएको भन्ने किम्वदन्ती रहिआएको छ ।
राजा सलहेस दलितमध्ये दुसाध जातिका भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको गहवर बनाई देउताको रुपमा पूजा गर्ने परम्परा रहिआएको छ । लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारनको रुखमा वैशाख १ का दिन मात्र सोनाखरी फूलमाला देखा पर्छन् । दिन ढल्दै जाँदा उक्त माला विस्तारै मौलाउँदै जान्छन् । अचम्मको उक्त फूल हेर्न भारतबाट समेत श्रद्धालु आउने र मेला भर्छन् ।
किम्वदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुने जन विश्वास छ । मेलाको दिन युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेम विवाह गर्ने गर्छन् । यो मात्र एउटा यस्तो देउता हो जसलाई सबै समुदायका मान्छेले पुज्ने गर्छन् । राजा सलहेसको गथालाई जीवन्तता दिन अहिले पनि गाउँगाउँमा गीत र महराइमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ ।
सलहेस पूजा लोकपरम्परा अनुसार गर्ने चलन छ । झाइल, मृदंगको मधुरो तानमा महराई गाइन्छ । सामाजिक रुपले उपेक्षित दुसाधहरुको एक शाखा सलहेसलाई र अर्को शाखाले चोहरमललाई देवता मान्ने चलन छ । सलहेस गाथामा वर्णन भए अनुसार सलहेस सुन्दर, बलमान र सुदर्शन पुरुष थिए । उनको रुप र गुणमाथि मोहित तत्कालीन राजकुमारीले विवाहित सलहेससँग प्रेम गर्न थालेका थिए । यसका अतिरिक्त मलिनिया बहिनी पनि उनीमाथि लट्ठ थिइन् । सलहेस जयन्तीको अवसरमा माटोका आकर्षक प्रतीमाहरु निर्माण गरिन्छ जहाँ सलहेससँगै चुहरमल, मलिनिया आदिको प्रतीमा बनाइन्छ ।
साथै लियोनार्दो दा भिन्चीको जन्मदिनको अवसरमा २०१२ को १५ अप्रिलदेखि देखि मनाउन थालिएको विश्व कला दिवस अहिले विश्वभर सिर्जनशीलता, अभिव्यक्ति स्वतन्त्रता र सांस्कृतिक विविधताको सम्मानको दिन बनिसकेको छ । पालमा पनि कला प्रदर्शनी, चित्रकला प्रतियोगिता र कला कार्यशालामार्फत यस दिवसको महत्व बढ्दो छ । चित्रकलाकै लागि चिनिएका मिथिलावासीले यो दिवशको सम्मान गर्छन् ।
कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष यस दिन सर्वसाधारणमा विभिन्न कलाका बारेमा चेतना जगाउने काम पनि गरिन्छ । पहिले नेपालमा धार्मिक र सांस्कृतिक मान्यताअनुसार जात्रा र पर्व मात्रै मनाउने चलन थियो । हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउने परम्पराले प्रधानता पाइरहेको छ ।
विराटनगरका युवा कलाकार मनीषा साह भन्छिन, ‘कला केवल चित्र होइन, त्यो समाजको ऐना हो । विश्व कला दिवसले सन्देश दिन्छ कि हाम्रा संस्कार, पर्व र आवाजहरू रंगहरूमा पनि बोल्छन् ।’ तराई–मधेसमा वैशाख १ र २ का यी पर्वहरू—सिरुवा, जुडशीतल र विश्व कला दिवस—तीनवटा अलग इतिहास र सन्देश बोके पनि एउटै धागोमा गाँसिएका छन्, मानवता, सहिष्णुता र सिर्जनशीलता । यिनले यो क्षेत्रको सांस्कृतिक समृद्धि मात्र होइन, सामाजिक गहिराइ, धर्म, परम्परा, प्रकृति–प्रेम र सृजनशील ऊर्जाको उदाहरण पनि प्रस्तुत गर्छन् ।
साहित्य/कला
हनुमान जयन्तीदेखि बालाजु मेलासम्म, भक्तिभावले गुञ्जियो देश
जितेन्द्र साह‘भाग्य लेख्नेसँग कुनै रंग थिएन’
प्रविण प्रताप शाह‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददातामध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares