४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

राजनीतिक अस्थिरताले धराशायी भयो बंगलादेशको गार्मेन्ट उद्योग

द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

ढाका (एजेन्सी)– बंगलादेशको गार्मेन्ट उद्योग गम्भीर संकटमा फसेको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि सात महिनाभित्रै १ सय ४० भन्दा बढी गार्मेन्ट कारखाना बन्द हुँदा १ लाखभन्दा बढी कामदार बेरोजगार भएका छन् । उद्योग संकटमा जाँदा मुलुकको अर्थतन्त्र गहिरो दबाबमा परेको छ ।

बन्द भएका कारखानामध्ये सबैभन्दा बढी गाजीपुर, सावर, नारायणगञ्ज र नरसिन्दी क्षेत्रमा छन् । ती चार ठाउँमा मात्रै ५० भन्दा बढी कारखाना पूर्ण रूपमा बन्द भएका छन् भने करिब ४० कारखाना अस्थायी रूपमा बन्द छन् ।

बेरोजगारी र वेतनी समस्या चरमोत्कर्षमा

उद्योग बन्द भएपछि लाखौँ कामदार बेतलबी अवस्थामा पुगेका छन् । धेरै कारखानामा कामदारहरूले २ देखि १४ महिनासम्मको तलब पाएका छैनन् । तलब र बोनस नपाएका मजदुरहरू लगातार सडकमा उत्रिरहेका छन् । ईद पर्व नजिकिएसँगै यो समस्या झन् भयावह हुने देखिन्छ ।

सरकार र व्यवसायीहरूले उद्योगलाई बचाउने कुनै ठोस पहल गरिरहेका छैनन् । श्रमिक संगठनहरूले बारम्बार आन्दोलन गरिरहे पनि कुनै समाधान निस्किएको छैन ।

विदेशी अर्डर घट्दै, प्रतिस्पर्धी मुलुकहरूलाई फाइदा

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन ( बीजीएईए) का अनुसार पछिल्ला सात महिनामा मुलुकले गुमाएका २० प्रतिशत गार्मेन्ट अर्डर भारत, भियतनाम, श्रीलंका, इन्डोनेसिया र पाकिस्तानले पाइसकेका छन् ।सरकारले अर्डरको अभावलाई संकटको मुख्य कारण बताउँदै आएको छ । तर गार्मेन्ट वर्कर्स ट्रेड युनियन सेन्टरका कानुनी मामिला सचिव खैरुल मामुन मिन्टु यो दाबी असत्य भएको बताउँछन् । उनका अनुसार मुलुकमा अझै अर्डरहरू आइरहेका छन् तर उद्योग सञ्चालकहरू वित्तीय संकट र प्रशासनिक अव्यवस्थाका कारण समस्यामा परेका छन् ।

राजनीतिक अस्थिरता मुख्य कारक

अर्थशास्त्रीहरूका अनुसार आर्थिक मन्दी र राजनीतिक अस्थिरताका कारण गार्मेन्ट उद्योग धराशायी बन्दै गएको हो । बन्द भएका अधिकांश कारखानाहरू पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित नेताहरूका हुन् ।

शेख हसिनाका विदेशी लगानी सल्लाहकार सलमान एफ. रहमानको बेक्सिमको कम्पनी बन्द हुने कारखानामध्ये एक हो । पछिल्ला सात महिनामा बेक्सिमकोका मात्रै १५ वटा कारखाना बन्द भएका छन् । यसबाहेक अवामी लिगका मन्त्री गाजी दस्तगीरका पनि धेरै कारखानाहरू बन्द भएका छन् ।

श्रमिक नेता मोहम्मद मिन्टु भन्छन्,‘बेक्सिमको गार्मेन्ट उद्योगको ठूलो कम्पनी थियो । यसमा हजारौँ मजदुर काम गर्थे र नियमित रूपमा ज्याला तथा बोनस पाउँथे । यो बन्द भएपछि मजदुरहरू आर्थिक संकटमा परेका छन् ।’

बंगलादेशको अर्थतन्त्रमा गार्मेन्ट क्षेत्रको महत्व

गार्मेन्ट उद्योग बंगलादेशको अर्थतन्त्रको मेरुदण्ड हो । देशको कुल विदेशी मुद्राको ८४ प्रतिशत हिस्सा यही उद्योगबाट प्राप्त हुन्छ । यस उद्योगमा प्रत्यक्ष रूपमा ५० लाख श्रमिकहरू संलग्न छन् । अप्रत्यक्ष रूपमा १.५ करोड जनशक्ति यससँग जोडिएका छन् । महिला श्रमिकको ठूलो सहभागिता रहेको गार्मेन्ट उद्योग धराशायी हुँदै जाँदा मुलुकको समग्र अर्थतन्त्रमा ठूलो असर परेको छ।

राजनीति र सेनाबीचको विवादले समस्या बढायो

यसबीच बंगलादेशमा विद्यार्थी नेतृत्वको नयाँ पार्टी ‘नेशनल सिटिजन पार्टी’ (एनसीपी) र सेनाबीचको विवाद झन् गहिरिएको छ । एनसीपीका नेताहरूले सेनाले अपदस्थ शेख हसिनाको अवामी लिगलाई नयाँ स्वरूपमा पुनःस्थापित गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

एनसीपी नेता हसनत अब्दुल्लाह र सर्गिस आलमका अनुसारसेनाले अवामी लिगलाई भंग गरेर नयाँ पार्टीको रूपमा पुनःस्थापना गर्न खोजिरहेको छ ताकि शेख हसिनाको नेतृत्वलाई पुनः राजनीतिमा फर्काउन सकियोस् ।’ तर सेनाले भने यस्तो कुनै योजना नभएको स्पष्ट पारेको छ ।

बंगाल गार्मेन्ट संकट : के अब समाधान आउला ?

बंगलादेश सरकारले अर्डरको अभावलाई संकटको मुख्य कारण भने पनि वास्तविकता त्यसभन्दा गहिरो छ । उद्योगीहरू लगानी खुम्च्याउँदैछन् । ठूला व्यवसायीहरू मुलुक छोड्दैछन् । श्रमिकहरू आन्दोलन गर्दैछन् । विदेशी अर्डर प्रतिस्पर्धी मुलुकहरूतर्फ सर्दैछ । यदि समयमै प्रभावकारी समाधान ल्याइएन भने गार्मेन्ट संकट बंगलादेशको समग्र अर्थतन्त्रका लागि ठूलो धक्का साबित हुन सक्छ ।
 

प्रकाशित : ११ चैत २०८१, सोमबार 17:47
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved