६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

प्रेस चौतारीको अध्यक्षमा पाण्डे निर्विरोध घोषित

निर्वाचनमा आफू जित्दा समग्र पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओली हार्ने भएपछि आफूपछि हट्न बाध्य : राजेश राई
द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

विराटनगर– प्रेस चौतारी नेपालको जारी १० औँ महाधिवेशनले गणेश पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित घोषणा गरिएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको दवावमा निर्वाचन प्रक्रिया रोकेर निर्विरोध निर्वाचित घोषणा गरिएको हो ।

उपाध्यक्षद्वयमा कृपा भण्डारी र चेतन अधिकारी, महासचिवमा हिरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवहरूमा नरेश भण्डारी, प्रदिप अर्याल, विष्णु पारूके र विक्रम लुइटेल निर्वाचित घोषित भएको निर्वाचन समिति सदस्य तथा निवर्तमान अध्यक्ष गणेश बस्नेतले बताए ।

९९ सदस्यीय कार्यसमितमध्ये १७ सदस्य र निर्वाचन आयोग बाँकी राखेर ८२ सदस्यका साथै लेखा समिति अध्यक्षमाअर्जुन श्रेष्ठ, नीति आयोगको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ र अनुशासन आयोगको अध्यक्षमा समिर मलामीसमेत सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित घोषित भएको उनले बताए ।

चौतारीको सम्पूर्ण कार्यसमिति सदस्यको निर्वाचन प्रक्रिया बीचमा नै रोकेर निर्विरोध निर्वाचित घोषणा गरिएको हो । निर्वाचन समितिले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सुरू गरेको निर्वाचन प्रक्रिया बीचमा नै रोकेर निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उम्मेदवारको अन्तिम नामावली सोमबार ४ः२० बजे र त्यसको १० मिनेटपछि ४ः३० बजे निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने उल्लेख थियो । तर त्यो प्रक्रिया प्रधानमन्त्री ओलीको दवावले बीचमा नै रोकिएको महाधिवेशन प्रतिनिधिहरूको भनाइ छ ।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि अध्यक्षका उम्मेदवारलाई ३५ हजार, पदाधिकारीको २५ हजार, केन्द्रीय आयोग अध्यक्षको १५ हजार र केन्द्रीय सदस्यको मनोनयन शुल्क १० हजार निर्धारण गरे पनि मनोनयन दर्ता फारम वितरण नगरी निर्विरोध गरेको हो । 

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डेलगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गराउन दिएको निर्देशन अनुसार नेताहरुले चौतारीको कार्यसमिति निर्विरोध गराएको हो । 

अध्यक्षका अर्का दावेदार निवर्तमान उपाध्यक्ष राजेश राईको प्यानलले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न माग गर्दै आएका थिए । तर उनले चुनावी प्रक्रियाबाट नेतृत्व चयनको माग गरेपछि अत्यन्तै दवाव आएको र निर्वाचनमा आफू जित्दा समग्र पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओली हार्ने भएपछि आफूपछि हट्न बाध्य भएको गुनासो पोखेका हुन् । उनले प्रेस चौतारीको २२ वर्षे यात्रा टुङ्ग्याएको समेत घोषणा गरेका छन् ।

‘लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छान्दा पार्टी, संगठन र लोकतन्त्र कसरी कमजोर हुन्छ ?,’ उनले प्रश्न गरेका छन्, ‘कोही निर्वाचित हुँदा पार्टी र अध्यक्ष कसरी कमजोर हुन्छ ? यस्तो प्रश्न अब यसपछि कसैले दर्ज गराउने अवस्था नआओस् ।’ उनले सम्बोधन गरेर हलबाट बाहिरिएसँगै महाधिवेशन प्रतिनिधिहरुसमेत रुँदै बाहिरिएका थिए ।

बन्दसत्रका अध्यक्षता गरेका नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले प्रेस चौतारीको नेतृत्व चयन सर्वसम्मतिले गर्ने नीति ९ औँ महाधिवेशनले तय गरेकोले सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी गराए । उनले अध्यक्षका दावेदार राजेश राईलाई पार्टीमा स्थान दिने घोषणा समेत गरे ।

प्रकाशित : ११ चैत २०८१, सोमबार 20:54
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved