विराटनगर - यमनमा अमेरिकी आक्रमणमा पाँच बालबालिका सहित मृत्यु हुनेको संख्या ५३ पुगेको हुथी विद्रोहीहरूका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अमेरिकाले शनिबार हुथी लक्षित निर्णायक र शक्तिशाली हवाई आक्रमणको लहर सुरु गरेको बताएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमणको कारण रातो समुद्रमा हुथीहरूद्वारा गरिएको जहाजमाथिको आक्रमणलाई बताएका छन्।
वासिङ्टनले केही प्रमुख हुथी नेताहरू मारिएको दाबी गरे पनि हुथीहरूले यसको पुष्टि गरेका छैनन्।
हुथी नेता अब्दुल मलिक अल-हुथीले भनेका छन् कि जबसम्म अमेरिका यमनमा आक्रमण जारी राख्छ, तबसम्म उनका लडाकुहरूले रातो समुद्रमा अमेरिकी जहाजहरूलाई लक्ष्य बनाउनेछन्।
मृतकको संख्या वृद्धि
पहिले बताइएको सङ्ख्यालाई परिमार्जन गर्दै हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता अनिस अल-असबाहीले 'एक्स' मा पोस्ट गर्दै ५३ जनाको मृत्यु भएको र ९८ जना घाइते भएको जनाएका छन्। मृतकमध्ये पाँच बालबालिका र दुई महिला रहेको उनले उल्लेख गरेका छन्।
सानामा बस्ने दुई सन्तानका बाबु अहमदले एएफपी समाचार संस्थालाई भने, 'म १० वर्षदेखि सानामा बस्दै आएको छु। मैले पूरै युद्धभर बम वर्षा सुन्दै आएको छु। तर, ईश्वरको कसम, यस्तो आक्रमण कहिल्यै देखेको थिइनँ।'
हुथीहरूका अनुसार आइतबार राति अमेरिकी सेनाले हुदायदाह बन्दरगाहमा थप आक्रमण गरेका छन्। अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिकी प्रतिक्रिया
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबीसी न्यूजलाई भने:
'शनिबारको आक्रमणमा धेरै हुथी नेताहरू निशानामा परेका छन् र हामीले उनीहरूलाई समाप्त गरेका छौँ।'
उनले फक्स न्यूजलाई भने, 'हामीले उनीहरूलाई अत्यधिक शक्तिशाली आक्रमण गर्यौं। साथै, इरानलाई चेतावनी दिएका छौँ कि अब यसभन्दा धेरै सहन सकिँदैन।'
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले भने कि जबसम्म हुथी आक्रमण बन्द हुँदैन, तबसम्म "निरन्तर मिसाइल आक्रमण" जारी रहनेछ।
उनले फक्स बिजनेससँगको टेलिभिजन अन्तर्वार्तामा भने:
'म स्पष्ट रूपमा भन्न चाहन्छु, यो अभियान नौसैनिक आवागमनको स्वतन्त्रता र प्रतिरोध पुनःस्थापित गर्नका लागि हो।'
हुथीहरूले भने रातो समुद्रमा जहाजहरूलाई लक्ष्य बनाइरहने बताएका छन्, जबसम्म इजरायलले गाजामाथिको नाकाबन्दी हटाउँदैन।
पृष्ठभूमि
इरान समर्थित हुथी विद्रोहीहरूले राजधानी साना र यमनको उत्तर-पश्चिम भाग नियन्त्रणमा लिएका छन्। तर, उनीहरूलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको रूपमा स्वीकार गरिएको छैन।
हुथीहरूले आफूहरू इजरायलको विरोधी भएको बताउँदै आएका छन्। उनीहरूले इजरायल र हमासबीच गाजामा जारी युद्धका क्रममा प्यालेस्टिनीहरूको समर्थनमा कारबाही गरिरहेको दाबी गरेका छन्। यद्यपि, उनीहरूले जहाजहरू केवल इजरायल, अमेरिका वा बेलायतसँग सम्बन्धित रहेको दाबी झूटो साबित हुँदै आएको छ।
हुथी आक्रमण र अमेरिकी चेतावनी
नोभेम्बर २०२३ देखि हुथीहरूले रातो समुद्र र अदनको खाडीमा दर्जनौं व्यापारिक जहाजहरूमा मिसाइल, ड्रोन र साना डुंगाहरूबाट आक्रमण गरेका छन्। उनीहरूले दुई जहाज डुबाएका छन्, तेस्रो कब्जा गरेका छन्, र चार जना चालक दलका सदस्यहरू मारिएका छन्।
शनिबारको आक्रमणको घोषणा गर्दै ट्रम्पले भने: 'हामी आफ्नो लक्ष्य प्राप्त नभएसम्म अत्यधिक घातक बल प्रयोग गर्नेछौं।'
उनले सामाजिक सञ्जालमा लेखे:
'इरानको लगानीमा चलेका हुथी अपराधीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरे, हाम्रा सेनाहरू र साझेदारहरूलाई निशाना बनाए। उनीहरूको समुद्री डकैती, हिंसा र आतंकवादका कारण अर्बौं डलरको क्षति भएको छ र धेरै मानिसहरूको जीवन जोखिममा परेको छ।'
हुथीहरूलाई सिधै चेतावनी दिँदै ट्रम्पले लेखे:
'यदि तिमीहरू रोकिएनौ भने, तिमीहरू माथि यस्तो विनाश आउँनेछ, जुन तिमीहरूले अहिलेसम्म देखेका छैनौ।'
तर हुथीहरूले भने आफ्नो प्रतिक्रियामा कुनै परिवर्तन नहुने बताएका छन्। उनीहरूका अनुसार यो आक्रमण प्यालेस्टिनीहरूप्रति उनीहरूको समर्थनलाई कम गर्न सक्दैन।
इरानको प्रतिक्रिया
इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकालाई चेतावनी दिँदै 'एक्स' मा लेखे:
'अमेरिकी सरकारले इरानी परराष्ट्र नीतिमा हस्तक्षेप गर्ने कुनै अधिकार छैन।'
उनले भने,'इजरायली नरसंहार र आतंकवादको समर्थन बन्द गर। यमनी जनताको हत्या बन्द गर।'
हुथीहरूको प्रतिकार
हुथी सेनाका प्रवक्ताले आइतबार दाबी गरे कि उनीहरूले अमेरिकी विमानवाहक युद्धपोत 'यूएसएस ह्यारी एस. ट्रुम्यान' र यसको सुरक्षार्थ खटिएका युद्धपोतहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोनले हमला गरेका छन्।
तर, रोयटर्स समाचार संस्थालाई एक अमेरिकी अधिकारीले भने कि अमेरिकी सेनाले ११ वटा हुथी ड्रोन खसालेको छ, जस मध्ये कुनै पनि 'ट्रुम्यान' नजिक पुगेको थिएन।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार अत्यधिक संयमता अपनाउन र सबै प्रकारका सैन्य गतिविधि रोक्न आग्रह गरेका छन्।
विश्व/प्रवास
म्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताचीनको चुम्बकमा अड्कियो अमेरिका
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares