२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

२० प्रतिशत कमिशनमा उपभोक्तालाई योजना बाँड्दै प्रमुख सिंह

|
गणेश साह
१७ जेठ २०८२, शनिबार

Advertisement

महोतरी– मधेस प्रदेश सरकारअन्तर्गतका ८ जिल्लामध्ये २–२ वटा जिल्ला कार्य क्षेत्र भएको ४ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गरी कार्यसञ्चालन भइरहेको छ । सिरहा, महतोरी, रौतहट र पर्सामा भू तथा जलाधार कार्यालय छन् । जलाधार कार्यालय सिरहामा १७ करोड २० लाख, महोतरीमा ८ करोड ७९ लाख, रौतहटमा ८ करोड ४९ लाख र पर्सामा ८ करोड ४९ लाख ९६ हजार चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । जिल्लागत बजेट विनियोजनमा विभेद गरेका तत्कालिन मन्त्री त्रीभूवन साहले गृह जिल्ला सिरहा जलाधारमा १० प्रतिशत कमिशनमा दुई पटकमा ६ करोड बजेट थप पठाइसकेको छ । 

अहिले भू तथा जलाधार व्यवस्थापन कार्यालय महोतरीका प्रमुख बलराम सिंहले भएको बजेट खर्च गर्न छाडेर कमिशनको खेलमा थप एक करोड ३७ लाख ५० हजार बजेट वन तथा वातावरण मन्त्रालयसँग माग गरेको छ । प्रमुख सिंहले आफ्नै कार्यालयका काम गर्ने अन्य कर्मचारीहरुलाई जानकारी नदिई २०८२ जेठ ६ गते चलानी नम्बर ३३७ को पत्रमार्फत मन्त्रालयमा बजेट माग गरेको छ । महोतरीको कूल बजेट ८ करोड ७९ लाखमध्ये पूँजीगततर्फ ६ करोड ५० लाख रहेको छ । जसमध्ये हालसम्ममा ३ करोड अर्थात् ४६ प्रतिशत बजेट मात्रै खर्च भएको लेखाको तथ्यांकले जनाएको छ । तर मन्त्रालयले आर्थिक वर्ष समाप्त हुन निकै थोरै समय रहेको र कार्यालयमा भएकै बजेट खर्च हुन नसक्ने अवस्था रहेकोले थप बजेट दिन सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । 

प्रमुख सिंहले कार्यालयमा भएको बजेटबाट योजनाको काम अधिकांश उपभोक्ता समितिबाट गराइरहेका छन् । जिल्लामा हालसम्म उपभोक्ता समितिले कमिशन दिनैपर्ने अवस्थामा १० प्रतिशत मात्रै भू तथा जलाधार कार्यालयलाई दिने परम्परा रहेको तर प्रमुख सिंहले उपभोक्ताहरुलाई २० प्रतिशत कमिशनमा मात्रै काम दिने वार्गेनिङ गर्दै आएकाले हालसम्म योजनाहरुको काम अघि बढ्न नसकेको स्रोतको भनाइ छ । 

प्रमुख सिंह लोक सेवा आयोगबाट बढुवा भएर आएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले तत्कालिन निमित कार्यालय प्रमुख बेचन महतोलाई वन निर्देशनालयमा पठाएर उनलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो । तत्कालिन निमित प्रमुख महतोले नै ४० प्रतिशत काम गरेर गएकोमा सिंह प्रमुख भएर आएको करिब दोस्रो महिना बित्न लाग्दासम्ममा ६ प्रतिशत मात्रै काम अघि बढाएको प्रति कर्मचारीहरु असन्तुष्ट देखिएको हो । प्रमुख सिंहले २० प्रतिशत कमिशन असुल्ने चक्करमा अनेकौं बहानामा काम अल्झाएर राख्ने गरेकोले कामको प्रगति हुन नसकेको र प्रमुख सिंहको कमिशन असुल्ने रबैयाले अधिकतम ६०–६५ प्रतिशत यस वर्ष काम हुने देखिएको छ । 

प्रमुख सिंहले १५ लाख बजेट रहेको रातु नदी खोला किनार संरक्षण बलवा नगरपालिका ४ को योजना जनमत पार्टीका महोतरी जिल्ला इञ्चार्ज बिरेन्द्र मण्डललाई दिने आश्वासन दिएको तर कमिशनमा कुरो नमिलेपछि हालसम्म काम अघि बढ्न नसकेको स्रोतले जनाएको छ । यस्तै, जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी मो. अब्दुल कादिरलाई पनि प्रमुख सिंहले योजना दिने आश्वासन दिएको तर उनीसँग पनि कमिशनमा कुरो नमिलेकोले पछि हटेको एक स्राेतले सुनाए । 

धनुषा जिल्लाको मिथिला नगरपालिका ११ स्थिति गल्छी पहिरो नियन्त्रणसम्बन्धी दुई वटा योजनाको काम सम्पन्न भएको महिना दिन बित्न लाग्दा पनि कमिशनमा कुरो नमिल्दा प्रमुख सिंहले भूक्तानि दिन रोक लगाएको छ । प्रमुख सिंहले दुबै योजनामा २०–२० प्रतिशत कमिशन दिनै पर्ने अडान लिएकाले भुक्तानी प्रक्रिया रोकिँदा उपभोक्ता पिडित भएका हुन् । उपभाेक्ता हैरान भएर १० प्रतिशतसम्म कमिशन दिन तयार भए पनि प्रमुख सिंह २० प्रतिशत लिएर मात्रै भुक्तानी दिने अडानमा छन् । 

भू तथा जलाधार व्यवस्थापन कार्यालयअन्तर्गतको काम यसै कार्यालय मातहतका कर्मचारीहरुले गर्ने, गराउने, उनीहरुले नै बील पनि बनाउने र बीलको भूक्तानीका लागि मात्रै उपभोक्ता समिति गठन गरेर प्रक्रिया पुर्याउने चलन रहेको छ । प्रत्येक योजनाको काम जलाधारकै कर्मचारीले गर्ने, गराउने भएकाले कार्यालय प्रमुखलाई नभई नहुने अवस्थामा मात्रै उपभोक्ता समितिले १० प्रतिशत कमिशन दिने परम्परा रहेको स्राेतकाे भनाइ छ । २० प्रतिशत नै कमिशन लिने र उपभोक्ता पनि सकभर सिंह नै हुनुपर्ने प्रमुख सिंहको अडानले कार्यालयको काम अघि बढ्न नसकेको जन गुनासाे छ । कार्यालय प्रमुख सिंहमा जातीय विभेद पनि देखिएकोले स्थिति प्रतिकुल बन्दै गएको स्राेतकाे भनाइ छ । 

प्रमुख सिंहले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आफ्नो भतिजो भएको र जनमत पार्टी अध्यक्ष सिके राउत सहपाठी भएकोभन्दै अनेकौं धामधम्की लगाएर कर्मचारी र उपभोक्तालाई समेत डरत्रास देखाउने गरेको उपभाेक्ताहरूले गुनासो पोखेका छन् । यी विषयमा प्रमुख सिंहसँग प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्न खोज्दासमेत सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित : १७ जेठ २०८२, शनिबार 13:52
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved