६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

राप्रपा नेताहरूको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

द नेप्लिज संवाददाता
१८ चैत २०८१, सोमबार

Advertisement

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भातृ संगठनहरूले तीनकुने घटनामा राज्यले गरेको दमनको विरोध गर्दै आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ‘झुटा मुद्दामा पक्राउ परेका नेताहरूको अविलम्ब रिहाइ गर’, ‘मृतकहरूलाई शहीद घोषणा गर’, ‘घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर’ जस्ता नारासहित विरोध जनाएका हुन् ।

यसअघि गृह मन्त्रालयले राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेका संयुक्त जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेता धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्यो । गृह स्रोतका अनुसार उनीहरूसहित अन्य १० जना राजावादी आन्दोलनकारीलाई समेत निगरानीमा राखिएको छ । अध्यागमन कार्यालय तथा नाकाहरूमा परिपत्र गर्दै उनीहरूको विदेश यात्रा रोकिने व्यवस्था मिलाइएको छ ।

१५ चैतमा तीनकुनेमा राजावादी समर्थकको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले धवल शमशेर राणा र रविन्द्र मिश्रलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ । प्रमुख आरोपी दुर्गा प्रसाई भने अझै फरार छन् ।

उक्त आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का सविन महर्जनको ज्यान गएको थियो । आगजनीमा परेका एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारगृह, निजी सम्पत्ति तथा व्यवसायहरू क्षतिग्रस्त भएका थिए ।

राप्रपाको कडा प्रतिक्रिया

सोमबार प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको दमनको विरोध गर्दै लोकतन्त्रको नाममा गणतन्त्रवादीहरूले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाए । उनले राजतन्त्रको पुनःस्थापनाबिना देशको स्थायित्व सम्भव नभएको बताए । साथै तीनकुने घटनामा सरकारले पनि नागरिकमाथि दमन गरेको आरोप लगाउँदै न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे ।

‘१५ गतेको आन्दोलनमा केवल प्रदर्शनकारीहरूले मात्रै ज्यादति गरेका थिए ? सरकारको कुनै जिम्मेवारी थिएन ? तपाईंहरू कांग्रेस–एमालेको इतिहास हेरौं, तपाईंहरू तोडफोड नगरी सत्तामा आइपुगेका हो ? मान्छे नमारी आएका हो ?’ भन्दै लिङ्देनले सरकारको रवैया प्रति आक्रोश व्यक्त गरे । राप्रपाले आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएका आरोप खारेज गर्दै निष्पक्ष छानबिनको माग गरेको छ ।

प्रकाशित : १८ चैत २०८१, सोमबार 14:44
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved