४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

गाउँ ब्लक जग्गा फुकुवा माग गर्दै मालपोत कार्यालयमा धर्ना, कामकाज ठप्प

´उपमेयरदेखि वडा अध्यक्षसम्म स्थानीयसँगै धर्नामा`
द नेप्लिज संवाददाता
२९ माघ २०८१, मङ्गलबार

Advertisement

सिरहा । सिरहाको लहान नगरपालिकामा गाउँ ब्लक जग्गाको सम्पूर्ण फुकुवा माग गर्दै स्थानीयहरुले मंगलबार मालपोत कार्यालय लहानमा धर्ना दिएका छन् । स्थानीयकाे धर्नाले कार्यालयकाे कामकाज ठप्प भएको छ ।

धर्नामा स्थानीयसँगै लहान नगरपालिकाका उपमेयर रामचलितर महतो, वडा अध्यक्ष रमेश गौतमलगायत बसेका छन् । लेखापढी व्यवसायीहरुले पनि आन्दोलनमा सहमति जनाएर लेखापढी गर्न राेकेका छन् ।

जग्गाकाे हक हस्तान्तरण, बिक्री र बैंक तथा वित्तीय संस्थामा राख्न मिल्ने गरी स्रेस्ता प्रयोगको माग उनीहरुले गरेका छन् ।

उनीहरूले यसअघि मालपोत, नापी, इलाका प्रशासन र लहान नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । माग सम्बोधन नभएपछि मसाल जुलुस, विरोध प्रदर्शन गरेर धर्ना बसेका छन् ।

आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरेका उनीहरु सोमबार नगरभरि विरोध प्रदर्शन गरेका छन् । माग पुरा नभएपछि तालाबन्दी गर्ने संघर्ष समितिका संयोजक अरुण केसीले जानकारी गराएका छन् । लहान नगरपालिकाका २४ वटै वडामा गाउँ ब्लक जग्गा संघर्ष समिति गठन गरेका छन् ।

उनीहरुले गाउँ ब्लक जग्गाको अध्यावधिकीकरण, नापी र लालपुर्जा वितरण गर्नुपर्ने माग राखी आन्दोलित भएका छन् । ‘यहाँका केही वडामा नापी गरी लालपुर्जा वितरण भएको छ । केही जग्गाकाे नापी भए पनि धेरै व्यक्तिहरुको जग्गन नापी हुन सकेकाे छैन,’ संयोजक केसीले भने, ‘नापी र मालपोत कार्यालयको ढिला सुस्तीले जनताले दुःख पाइरहेको छ । पटक पटक मौखिक र ज्ञापनपत्र बुझाएर अवगत गराएपनि काम तिव्र रुपमा अगाडि बढेको छैन । बाध्य भएर हामी आन्दोलित भएका छौँ ।’ कर्मचारीको ढिला सुस्तीलाइ राज्यका माथिल्लो निकायले चासो देखाउनुपर्ने उनले बताए । करिब ७ हजार परिवार गाउँब्लकको जग्गा समस्याले पीडामा परेको उनले जानकारी गराए ।

‘मेरो गाउँमा गाउँ ब्लक जग्गामा घर भएकाहरुलाई ०७२ सालमै लालपुर्जा वितरण भएको छ तर, अध्यावधिकीकरण नहुँदा जग्गा किनबेच, बैँकमा धितो राखेर केही कार्य गर्न नपाएको लहान- १९ का जगदिस साहले गुनासाे पाेखे । ´जग्गा नापी नभएकाले अंश वण्डा पनि भइरहेको छैन,’ साहले भने, ‘मालपोत जाँदा नापी कार्यालयबाट कागजात नआएको र नापी जाँदा मालपोतले ढिलाई गरेको भन्छ । हामी कर्मचारीको रबैयाले दुःख पाइरहेका छौँ ।’ माग सम्बोधन नभएसम्म हामी आन्दोलन गरिरहने उनले सुनाए । पाएको लालपुर्जा हेर्न र घरमा थन्काउने बाहेक केही गर्न नपाएको उनको भनाई छ ।

मालपोत र नापीले काम अगाडी नबढाउँदा हामी जनप्रतिनिधिहरुले गाउँगाउँमा जाँदा गुनासाे नै गुनासाे सुन्नू परेको लहान नगरपालिकाका मेयर महेश चौधरीले सुनाए । ‘यहाँका हजारौँ घरपरिवारकाे गाउँब्लक जग्गाको समस्या समाधन नहुँदा पीडामा छन् । हामीलाई गुनासो गरेको गर्यैछ तर, आफुहरुले पहल गर्दापनि काम छिटो हुन पाएको छैन,’ उनले भने, ‘जति चाडो यो समस्या समाधान भयो त्यति नै चाडो जनताले राहत पाउनेछ ।’ नगरपालिकाबाट हुने कामका लागि हामी सहजीकरण, समन्वय र सहयोग गर्न तयार रहेको उनले सुनाए ।

लहानस्थित मालपोत कार्यालयका सूचना अधिकारीसमेत रहेका नायब सुब्बा शिवकुमार

यादवले नापी कार्यालयबाट प्राप्त भएको स्रेस्ता कम्प्युटरमा प्रविष्ट गर्न नपाउँदा समस्या भएको स्विकार गरेका छन् ।

प्रकाशित : २९ माघ २०८१, मङ्गलबार 11:40
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved