२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

यसपाली बढी वर्षा : सतर्क रहन मौसम विभागको आग्रह

द नेप्लिज संवाददाता
७ जेठ २०८२, बुधबार

Advertisement

विराटनगर– यस वर्षको मनसुन सिजनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ। विभागद्वारा बुधबार आयोजित ’मनसुन आउटलुक फोरम’ कार्यक्रममा विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले चार महिने मनसुन अवधिभर औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिइन्।

उनका अनुसार कर्णालीको पूर्वी, लुम्बिनीको उत्तरी र गण्डकीका अधिकांश भागमा ५५ देखि ६५ प्रतिशत सम्भावनासहित सरदरभन्दा बढी वर्षा हुने देखिएको छ। त्यस्तै सुदूरपश्चिमका तराई, लुम्बिनीका पश्चिमी तराई, गण्डकीको उत्तर–पूर्वी भूभाग, बागमती र कोशीका उत्तरी क्षेत्रहरूमा पनि औसतभन्दा बढी वर्षाको सम्भावना रहेको बताइएको छ। तर मधेश प्रदेशका पूर्वी र दक्षिणी भागमा भने यो सम्भावना ३५ देखि ४५ प्रतिशत मात्र रहेको छ।

प्रि–मनसुनबाटै सक्रिय मौसमी प्रणाली
हाल देशभर पश्चिमी तथा स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको असर रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालले बताए। मईबाट प्रि–मनसुन प्रणाली सक्रिय भएको र त्यसले देशका धेरै भूभागमा बादल, वर्षा, हावाहुरी, चट्याङ र मेघगर्जनजस्ता गतिविधि गराइरहेको छ।‘कालो बादलको उचाइ बढ्दै जाँदा बिजुली चम्कने, मेघगर्जन र हावाहुरीसहित हल्का, मध्यम वा भारी वर्षा हुने प्रि–मनसुनको प्रकृति हो,’ मौसमविद् ढकालले भने।

वर्षा दरमा तीव्रता, विपद् जोखिम पनि बढ्दो
गत साता करिब तीन घण्टा लगातार वर्षा भएपछि काभ्रेको रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग १६ घण्टासम्म अवरुद्ध बनाएको थियो। पनौतीको ठाडो खोलाले एक महिलालाई बगाएको घटनाको कारण पनि तीव्र दरमा भएको वर्षा रहेको बताइएको छ। पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार दुई दिनमा पर्ने पानी अहिले दुई–तीन घण्टामै पर्ने प्रवृत्तिले विपद् निम्त्याइरहेको छ।

जलवायुविज्ञ ङमिन्द्र दाहालले पनि प्रि–मनसुनको दरमा आएको परिवर्तन र हावाको लुकामारीले कतै गर्मी, कतै चिसो महसुस हुने अवस्था देखिएको बताएका छन्। ‘घण्टाको दरमा हेर्दा पानी पर्ने मात्रा बढेको, समय घटेको छ,’ दाहालले भने, ‘यसले बाढी, पहिरोजस्ता जोखिम बढाएको छ।’

औपचारिक मनसुन अझै सुरु भइसकेको छैन
हाल प्रि–मनसुन नै सक्रिय रहेको मौसम विभागले जनाएको छ। ‘मनसुन सुरु भएको छैन, प्रि–मनसुन नै चलिरहेको छ,’ मौसमविद् ढकालले बताए। विभागका अनुसार सामान्यतः मनसुन जुन १३ मा पूर्वी नेपालबाट प्रवेश गरेर अक्टोबर २ मा पश्चिम नेपाल हुँदै बाहिरिने गर्छ। गत वर्ष मनसुन औसतभन्दा तीन दिन अगाडि सुरु भएको थियो।

विगतका तथ्यांकः कहिले कति लामो ?
नेपालमा औसत ११२ दिन सक्रिय रहने मनसुन सन् १९७९ मा सबैभन्दा छोटो ७३ दिनको र सन् २०२२ मा सबैभन्दा लामो १३४ दिनको रेकर्ड रहेको छ। सन् १९९६ मा सबैभन्दा चाँडो (मई ३१) र सन् १९८२ मा सबैभन्दा ढिलो (जुन २७) मा मनसुन भित्रिएको थियो। त्यस्तै, सन् १९९५ मा सेप्टेम्बर २ मा मनसुन सबैभन्दा चाँडो बाहिरिएको थियो भने सन् २०१४ मा अक्टोबर १९ मा सबैभन्दा ढिलो।

कृषि र पूर्वतयारीका लागि सन्देश
मौसमविद्हरूका अनुसार यसपालिको वर्षातले कृषिबालीलाई फाइदा पुग्न सक्ने, खानेपानी संकट टार्न सक्ने तथा गर्मीको असर तुलनात्मक रूपमा कम हुने अपेक्षा गरिएको छ। तर पानी जमिनमा सोसिन नदिइ सिधै खोलातिर बग्ने प्रवृत्तिले दीर्घकालीन फाइदा नहुने जलवायुविज्ञ दाहालले बताए।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्ययोजनामा पनि मनसुनसँगै सम्भावित विपद्हरूको तयारीका लागि सचेत रहनुपर्ने उल्लेख छ।
 

#मनसुन#अवधि#भर# औसत#भन्दा #बढी #वर्षा

प्रकाशित : ७ जेठ २०८२, बुधबार 15:22
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved