२० वैशाख २०८२, शनिबार 03 May 2025, Saturday

कोशी प्रदेश लगानी सम्मेलन सम्पन्न, कस्ता परियोजनाहरुमा भयो समझदारी पत्रमा हस्ताक्षर सूचीसहित

४६ परियोजनामा एक खर्ब ५२ अर्ब १६ करोड लगानी प्रतिबद्धता
द नेप्लिज संवाददाता
१९ वैशाख २०८२, शुक्रबार

Advertisement

विराटनगर– कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलनमा ४६ परियोजनामा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेको दुई दिने पहिलो प्रदेश लगनी सम्मेलनको शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समापन गरेका हुन् । 

प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड लागतका पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आईटी, स्वास्थ्य, नगरपालिकाको फोहोर व्यवस्थापन गरी ८ क्षेत्रका ७१ वटा परियोजना प्रस्तुत गरेको मध्ये ४६ वटामा शुक्रबार कोशी प्रदेश लगानी प्राधिकरण र लगानीकर्ताबीच दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा परियोजना निर्माण तथा सञ्चालनका लागि द्विपक्षीय सम्झौता भएको हो । 

प्रदेश सरकारले भविष्यमा दिने सहायताका लागि केही निर्माणधिन र निर्माणको प्रक्रियामा रहेका परियोजनाहरुसमेत लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजना सूचीमा यहाँका उद्योगी व्यवसायीहरुले समावेश गराएर समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

लगानी सम्मेलनले कोशी प्रदेशमा कोदोको रक्सीको अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङदेखि युरिया मल, क्लिंकर, कृषिजन्य उत्पादन प्रशोधन, जडिबुटी प्रशोधन, विद्युतीय कार एसेम्बिलङ, शीत भण्डार उद्योग स्थापना, जलविद्युत, पाँचतारे होटल, कृषि फार्म, नगरपालिकाको फोहोर व्यवस्थापन, अन्तर्राष्ट्रिय स्तरको अस्पताललगायत पर्यटन पूर्वाधारमा लगानी भित्र्याउन स्वदेशी तथा गैर आवासीय नेपाली लगानीकर्ताहरुसँग समझदारी भएको छ ।

कृषि फार्मअन्तर्गत लगानीकर्ता केपी सिटौलाले इलामको देउमाईमा २२ करोडको लागतमा देउमाई कफी फार्मिङ सेन्टर, केशव घिमिरेले सुनसरीमा १९ करोडको लागतमा वेसार उत्पादन तथा प्रशोधन केन्द्र, गिरिराज बस्नेतले मोरङमा ४५ करोड लागतको ग्रिनयार्ड एग्रो फर्म, कुशुम दाहालले ८० करोडको लागतमा इलाममा एडभान्स चिया तथा कफी प्रशोधन केन्द्र, नेत्रप्रसाद भण्डारीले १८ करोड लागतमा छुर्पी प्रोजेक्ट, राजन शर्माको २७ करोड लागतमा इलाममा सिटरस फ्रुइट्स प्रोसेसिङ एण्ड एग्रो टुरिजम प्रोजेक्ट, विश्व अग्रवालको १० करोडको लागतमा धनकुटामा किवी फार्मिङ प्रशोधन प्रोजेक्ट, जितेन्द्र भट्टराईले ६४ करोडको लागतमा धनकुटामा एभोगाडो रिसर्च सेन्टर स्थापनाका लागि लगानी प्रतिबद्धता जनाउँदै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

उर्जाअन्तर्गत विराटनगरका उद्योगी तथा संविधानसभा सदस्य पवनकुमार सारडाले १ अर्ब ६० करोडको लागतमा सुनसरीमा पशुपति इनर्जी प्रोजेक्ट, राजेन्द्र श्रेष्ठले उदयपुरमा ५ अर्ब ६० करोडको लागतमा सोलार प्रजेक्ट र राजन निरौलाले १ अर्ब ४२ करोड लागतमा संखुवासभामा पाँचखपन जलविद्युत आयोजना सञ्चालन गर्ने भएका हुन् । 

उद्योगअन्तर्गत शम्भुबाबु कोइरालाले सुनसरीमा २० करोडको लागतमा प्रेसिडेण्ट एग्रोटेक, अनन्तराम खतिवडाले मोरङमा २७ करोडको लागतमा शिवशक्ति बायोटेक, उदय बरालले १ अर्ब १६ करोडको लागतमा मोरङमा हर्बल प्रोसेसिङ, जनक राईले ४० करोडको लागतमा सोलुखुम्बुमा कोदाको रक्सी, प्रदिप घिमिरेले ६० करोड लागतको झापामा वायो फर्टिलाईजर प्रोडक्शन तथा रिसर्च सेन्टर, सिमल तरुलको उत्पादन तथा रिसर्चकालागि मनिष सापकोटाले १ अर्ब लागतमा किआन एग्रिकल्चर सिसर्च एण्ड डेभलप्मेन्ट, सुनसरीमा एग्रो प्रोसेसिङ सेन्टर सञ्चालन गर्न सरोज पाण्डेले ९ करोड लगानी गर्दा सन्तोशमणी न्यौपानेले ३२ अर्बको लगानीमा उदयपुरमा क्लिंकर उद्योग सञ्चालन गर्ने सम्झौता गरेका छन् ।

गलबहादुर ढुंगानाले सुनसरी र उदयपुरमा २६ अर्बको लागतमा ग्रिन युरिया, बाबुराम गौतम र वेदप्रसाद खरेलले ४ अर्बको लागतमा धनकुटा र उदयपुरमा बायो इथानोल प्रोजेक्ट, विराटनगरको एभरेष्ट बोर्डिङ स्कुल तथा कलेजका सञ्चालक टिकाराम पुरीले मोरङमा ३ अर्बको लागतमा विद्युतीय सवारी साधनको एसम्बलिङ, सुरज पाण्डेले १५ करोडको लागतमा सुनसरीमा मल्टी कोल्ड स्टोर स१चालनका लागि हस्ताक्षर गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्ष उद्योगी राजेन्द्र राउतले २ अर्ब ४८ करोड लागतमा मोरङको बुढीगंगामा अन्तराष्ट्रिय स्तरको सय शय्याको आरआर अस्पताल, विजय चौधरीले २ अर्ब ३० करोडको लागतमा विराटनगरमा पाँच तारे एक्सीस होटल निर्माण विराटनगरमा हाल सञ्चालन रहेको एशियाटिक होटललाई पाँच तारेमा स्तरोन्नती गर्न १ अर्ब ७५ करोड थप लगानीका लागि पुण्य भट्टराई र कृषि विकास बैंक कोशीका प्रमुख तिलक प्रधानले समझदारी पत्रमा हस्तार गरेका छन् । कमलबहादुर कार्कीले १८ करोड लागतमा उदयपुरमा बरुवा बिजनेस कम्प्लेक्स एण्ड बसपार्क, अरुण कुमार सुवेदीले १६ अर्बको लागतमा सुनसरीको बराहक्षेत्रदेखि धनकुटासम्म बराहक्षेत्र केवलकार, शैलेन्द्र मण्डलले ३० करोड लागतमा धनकुटाको भेडेटारमा भेडेटार मल्टी कम्प्लेक्स, अस्कर डंगोलले ५ अर्ब लागतमा कोशी पोडवे, पुजन चौधरीले १० अर्ब लागतमा  मुर्कुची–लिम्चुङबुङ–हलेसी केवलकार, श्याम प्रसाईंले २५ करोड लागतमा झापाको काँकडभिट्टामा मल्टी बस टर्मिनल निर्माणका लागि प्रतिबद्धता जनाएका हुन् । 

सूचना प्रविधि क्षेत्रअन्तर्गत अर्जुन सञ्जेलले २५ करोड लागतमा सुनसरीमा डिजिटल डेटा सेन्टर र नरेन्द्र पराजुलीले २२ करोड लागतमा कोशी प्रदेशलाई डिजिटल प्रदेश बनाउन डिजिटल कोशी प्रोजेक्टका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

फोहोर व्यवस्थापनका लागि राजाराम शर्माले १० करोड लागतमा सुनसरीको दुहबी नगरपालिकामा फोहोर व्यवस्थापन केन्द्र र प्रशान्त झाले ५० करोड लागतमा अर्वन सोलीड फोहोर व्यवस्थापन परियोजना निर्माणका लागि हस्ताक्षर गरेका हुन् । 
 
पर्यटन क्षेत्रअन्तर्गत पर्यटन व्यवसायी पुण्य भट्टराईले १८ करोड लागतमा भेडेटारमा एशियाटीक रिसोर्ट, प्रत्युस राउतले २ अर्ब ३३ करोडको लागतमा विराटनगरमा पाँच तारे रोयलटन होटल, राजकुमार काफ्लेले ६० करोड लागतमा विर्तामोडमा बिग हाउजिङ एण्ड कन्ट्रक्सन, र्गरआवासीय नेपाली रोजीना राई प्रधानले ४ अर्ब २८ करोड लागतमा सुनसरीको बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, दिपेश पौडेलले ८० करोड लागतमा सुनसरीमा रासा ताल टुरिजम परियोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

यस्तै, सरोज आचार्यले २५ करोड लागतमा सुनसरीमा वाटर पार्क प्रोजेक्ट, प्रभात आचार्यले ३५ करोड लागतमा धनकुटाको राजा ताल टुरिजम प्रोजेक्ट, बसन्त रिमालले २५ अर्ब लागतमा झापाको सुरुङ्गा–इलाम–सन्दकपुर पोड्वे, मन्दिप दाहालले १७ करोड लागतमा मोरङको बुढीगंगा पार्क निर्माण र २३ करोड लागतमा मोरङ लेटाङस्थित राजारानी टुरिजम पार्क निर्मणका लागि लगानी प्रतिबद्धता गरेका छन् । 

प्रदेश सरकारले प्रस्तुत गरेको बहुप्रतिक्षित विराटनगरको बिज्नेश कम्प्लेक्श, विवादास्पद परियोजना गोकुलम रिसोर्ट, प्रदेश सरकारले ४६ करोड लगानी गरेर असफल भइसकेको प्रदेश गौरव योजनाको आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टरका लागि लगानी प्रतिबद्धता आउन सकेको छैन । तर कोशी सरकारले प्रस्तुत गरेका परियोजनामध्ये बाँकी रहेका २५ वटा परियोजनाका लागि लगानीकत्र्तालाई आकर्षित गर्न प्रदेश लगानी प्राधिकरण थप पहल गर्न जनाएको छ । 

लगानी प्रतिबद्धता आएका परियोजनामा अहिले ती आयोजनाहरु निर्माण गर्ने समझदारी मात्रै कायम भएको हो । अब यसमा लगानीकर्त्र्ताले लगानी भित्र्याउनुका साथै परियोजना निर्माण प्रक्रिया पूरा गरेर निर्माण कार्य सुरु गर्न विभिन्न चरण पार गर्नुपर्ने अवस्था रहेको छ । लगानी सम्मेलनमा कोशी सरकारले प्रस्तुत गरेका परियोजनाहरुको समझदारी पत्रमा भएको हस्ताक्षरको आधारमा लगानीकर्त्तालाई उक्त परियोजनाहरु निर्माण गर्नै पर्ने कुनै कानुनी बाध्यता नभएको लगानीकर्त्ताहरुको भनाइ छ । तर यसले परियोजनामा लगानी जुटाएर निर्माण गर्ने सहमति भने कायम भएको हो । 

कोशी सरकारले लगानीकर्त्ताहरुलाई परियोजनाको निर्माणदेखि सञ्चालनसम्ममा कानुनी सहजता कायम गर्न अध्यादेशमार्फत ८ वटा ऐन संशोधन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीकर्त्तालाई आकर्षित गर्नुका साथै परियोजनाहरु निर्माण गरी कार्यान्वयनमा ल्याउने वातावरण निर्माणका लागि ६० अर्बको अनुदान सहायता कोष बनाउने प्रतिबद्धता जनाएको छ । 

प्रदेश सरकारले भविष्यमा दिने सहायताका लागि केही निर्माणधिन र निर्माणको प्रक्रियामा रहेका परियोजनाहरुसमेत लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजना सूचीमा यहाँका उद्योगी व्यवसायीहरुले समावेश गराएर समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

समझदारी पत्रमा हस्ताक्षर भएका परियोजनाहरुको सूचीः

प्रकाशित : १९ वैशाख २०८२, शुक्रबार 23:29
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved