६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

‘निरकुंश शासनसँग लोकतन्त्रको तुलना हुँदैन’

द नेप्लिज संवाददाता
७ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासनसँग लोकतन्त्रको तुलना पनि हुन नसक्ने बताएका छन् । जहानियाँ शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएको संरचनाको तुलना वस्तुगत र तथ्यगत नहुने बताएका छन् ।

७५ औं प्रजातन्त्र दिवसमा बुधबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा राणा र राजाको शासन कस्तो थियो भन्ने प्रष्टयाउन उनले बढी समय खर्चिए । पछिल्लो क्रममा लोकतन्त्र प्रति देखिएको नागरिकको निराशालाई उनले संवोधन गर्ने प्रयास गरेका छन् । उ बेलाको शासन राम्रो थियो भन्ने बन्न लागेको जनमत प्रति उनी सतर्क र सावधान देखिए ।  ‘यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता कथा मात्रै बनेको बताए । ’पुस्तान्तरको समयचापले कहिलेकाहिँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रिको क्रूर स्मृतिलाई गुमाउन पुग्छ र भन्छ, ‘प्रजातन्त्रले के गरेको छ ? ! त्यसले त अझै राणाकालका दरबारहरूबाट निर्वाह गरिरहेको छ ?,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् । ‘जहानियाँ शासकले सन्तानका लागि दरबार बनाए । जनताका लागि प्रजातन्त्रले सडक बनायो, पुल बनायो, कुलो बनायो, विजुली व्यापार केन्द्र र विद्यालय बनायो’, प्रधानमन्त्री ओलीले भने ।

उनले नागरिकको जीवन बदल्न प्रजातन्त्रमा बनेका संरचनाको राणाले सन्तानका लागि बनाएका संरचनासँग तुलना हुननसक्ने भन्दै विवेकको तराजुमा राखेर तौलिनुपर्ने बताए । उनले अहिले देशमा समग्ररुपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे । बढ्दो जनआकांक्षा र चुनौतीबीच पनि लय मिलाएर संगतीपूर्ण रुपमा सरकार अघि बढेको उनको भनाइ छ । 


त्यसकारण भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले आजको दिन बिर्सनै नमिल्ने प्रधानमन्त्री ओलीले बताए । ’फागुन ७ गतेले हाम्रो, खेर गएको सिंगो शताब्दिको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य-तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन् । उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरे । युवा पुस्ता देशको भविष्य भएको भन्दै उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको उनले बताए ।

उनले लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारलाई हटाउँदै लैजाने प्रतिबद्धता जनाए । दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र भएको उनले बताए । 

फागुन ७ , नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर-वीरङ्गनाहरुको स्मरण गर्ने दिन भएको ओलीले बताए । प्रजातन्त्र स्थापनाको संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन भएको उल्लेख गरे ।

मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकांक्ष पूरा गर्ने अभियानमा जुटेर योगदान गर्न पनि ओलीले आह्वान गरे ।  उनले राष्ट्रको समृद्धि जनताको सुख, सन्तुष्टि र खुशीसँग प्रत्यक्ष जोडिने बताएका छन् । उनले ‘राष्ट्रको समृद्धि र जनताको सुखलाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको बताएका हुन् । 

‘चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गर्यो । परिपूर्ण लोकतन्त्रले सबैलाई उनले भने,‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो । हामी त्यसतर्फ इमान्दारीपूर्वक हिंडिरहेका छौँ ।’

बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यकाबीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेको उनले जानकारी गराए । ‘लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ । तर हाम्रा चुनौती अझै बाँकी छन् । लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्ने छौँ ’ओलीले भने, ‘लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ ।’

सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दीगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको उल्लेख गरे । ओलीले भने, ‘सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्य सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुने छौँ ।’ 

राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा


सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा  गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा)  पुरस्कृत घोषित भएका थिए ।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।

पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मंसिर १७ को मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट एक करोड रुपैयाँ थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो ।

उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो । तत्यसपछि कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।

प्रकाशित : ७ फागुन २०८१, बुधबार 14:28
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved