६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

लोकतन्त्र विरुद्धको पथमा टर्कीका राष्ट्रपति

द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

अंकारा (बीबीसी)– टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानका मुख्य प्रतिद्वन्द्वीलाई औपचारिक रूपमा पक्राउ गरी भ्रष्टाचारको आरोप लगाइएको छ ।

इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई आइतबार हुने मतदानमा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) को २०२८ को राष्ट्रपति उम्मेदवार चयन गर्न लागिएको थियो । उनले आरोप अस्वीकार्दै यसलाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । ‘म कहिल्यै झुक्ने छैन,’ उनले पक्राउ पर्नु अघि ’एक्स’ मा लेखे ।

उनको पक्राउ पछि टर्कीमा दस वर्षयताका सबैभन्दा ठूलो प्रदर्शनहरू भएका छन् । एर्दोगानले प्रदर्शनको निन्दा गर्दै सीएचपीलाई ‘शान्ति भंग गर्ने र जनतालाई ध्रुवीकरण गर्ने प्रयास’ गरेको आरोप लगाएका छन् ।

इमामोग्लु सहित सय भन्दा बढी व्यक्ति जसमा अन्य राजनीतिज्ञ, पत्रकार र व्यापारीहरू छन्, बुधबार एक अनुसन्धानअन्तर्गत पक्राउ परेका थिए । यसले पाँच दिनसम्म लगातार प्रदर्शन निम्त्यायो ।

आइतबार उनलाई औपचारिक रूपमा ‘अपराध संगठन स्थापना र सञ्चालन, घुस लिने, जबर्जस्ती असुली, व्यक्तिगत डेटा अवैध रूपमा संकलन गर्ने र ठेक्कामा धाँधली गर्ने’ आरोपमा गिरफ्तार गरिएको हो ।

उनलाई मुद्दा चलाइँदासम्म हिरासतमा राख्ने निर्णय भएको छ । एएफपी र स्थानीय मिडियाका अनुसार उनलाई सिलिभ्रीस्थित एक जेलमा लगिएको छ । टर्कीको गृह मन्त्रालयका अनुसार उनलाई मेयर पदबाट निलम्बन गरिएको छ ।

लोकतन्त्रमा कालो धब्बा

इमामोग्लुले सामाजिक सञ्जालमा आफ्नो गिरफ्तारीलाई ‘हाम्रो लोकतन्त्रमा कालो धब्बा’ भन्दै कानुनी प्रक्रिया पालना नगरिएको आरोप लगाएका छन् । उनले देशभरका नागरिकलाई प्रदर्शनमा सहभागी हुन र आइतबारको मतदानमा भाग लिन आह्वान गरेका छन् । आइतबार अबेर ’एक्स’ मा आफ्ना वकिलमार्फत सन्देश पठाउँदै उनले प्रदर्शनकारीहरूलाई सलामी दिए । ‘टर्कीका जनताले एर्दोगानबाट ’अब काफी भयो’ भन्ने सन्देश दिएका छन्,’ भने।

आइतबार पाँचौं दिन पनि प्रदर्शन जारी रह्यो । यद्यपि सरकारद्वारा सभाहरूमा प्रतिबन्ध लगाइएको थियो । इस्तानबुलको सिटी हल नजिक ठूलो संख्यामा भीड जम्मा भएको थियो । तिनीहरू टर्कीका झण्डा फहराउँदै नाराबाजी गरिरहेका थिए । दंगा प्रहरीको पंक्तिबाट अगाडि बढ्ने प्रयास गर्नेहरूमाथि पानीको फोहरा र पेपर स्प्रे प्रयोग गरिएको थियो ।

राष्ट्रपति पदमा उम्मेदवारी र कानुनी चुनौती

इमामोग्लु सीएचपीको राष्ट्रपति उम्मेदवार चयन प्रक्रियामा एक्ला प्रत्याशी थिए । उनको गिरफ्तारीले राष्ट्रपतिको उम्मेदवारी र चुनाव जित्ने क्षमतामा कुनै रोक लगाउँदैन । तर यदि उनी माथि लगाइएका आरोपमा दोषी ठहरिए भने उनलाई उम्मेदवार बन्न निषेध गरिनेछ।

सीएचपीका अनुसार आइतबार झन्डै १.५ करोड मत खसेका थिए । जसमा १६ लाख मत पार्टीका सदस्यहरूले हालेका थिए भने अन्य मतदाता इमामोग्लुप्रति ऐक्यबद्धता जनाउन आएका थिए ।

बीबीसीले यी संख्याहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । इमामोग्लु एर्दोगानका सबैभन्दा सशक्त प्रतिद्वन्द्वी मानिन्छन् जो २२ वर्षदेखि टर्कीमा प्रधानमन्त्री र राष्ट्रपति रूपमा सत्तामा छन् ।

तर संविधानअनुसार एर्दोगान २०२८ मा पुनः उम्मेदवार बन्न पाउँदैनन् । उनले सत्तामा टिकि रहनलाई संविधान परिमार्जन गर्नैपर्छ । विपक्षी नेताहरूले यी गिरफ्तारीहरूलाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । तर न्याय मन्त्रालयले एर्दोगानलाई यस मामिलासँग जोड्नेहरूप्रति आपत्ति जनाउँदै अदालत स्वतन्त्र रहेको दाबी गरेको छ ।

सामाजिक सञ्जालमा प्रतिबन्ध र शैक्षिक विवाद

आइतबार ’एक्स’ को ग्लोबल गभर्नमेन्ट अफेयर्स विभागले टर्कीको सञ्चार नियामक निकायबाट ७ सय भन्दा बढी खाताहरू प्रतिबन्ध लगाउने आदेश आएको बताएको छ। ’एक्स’ का अनुसार यसमा टर्कीका राजनीतिक व्यक्तित्व र पत्रकारका खाताहरू समेत छन् । ’एक्स’ ले यस कदमलाई ‘गैरकानुनी’ भन्दै टर्कीका लाखौँ प्रयोगकर्तालाई समाचार र राजनीतिक संवादबाट बञ्चित गरिएको आरोप लगाएको छ ।

यसैबीच इस्तानबुल विश्वविद्यालयले मंगलबार इमामोग्लुको डिग्री रद्द गरेको घोषणा गरेको छ । यदि यो निर्णय कायम रह्यो भने, इमामोग्लुको राष्ट्रपति उम्मेदवारी संकटमा पर्नेछ किनभने टर्कीको संविधानअनुसार राष्ट्रपतिले उच्च शिक्षा पूरा गरेको हुनुपर्छ । 

इमामोग्लुका वकिलहरूले यो निर्णयविरुद्ध संवैधानिक अदालत र युरोपेली मानव अधिकार अदालतमा अपिल गर्ने बताएका छन् । इमामोग्लुको उम्मेदवारी योग्य छ वा छैन भन्ने अन्तिम निर्णय सर्वोच्च निर्वाचन परिषद्ले गर्नेछ ।

आतंकवादको आरोप र विरोध प्रदर्शन

अभियोजनकर्ताहरूले इमामोग्लुलाई ‘सशस्त्र आतंकवादी संगठनलाई सहायता पुर्याएको आरोपमा मुद्दा चलाउने योजना बनाएका छन् । तर टर्कीको अदालतले हाललाई यसलाई आवश्यक नरहेको बताएको छ । सीएचपीले गत वर्षको स्थानीय निर्वाचनका सन्दर्भमा प्रोकुर्दिस पिपुल्स इक्वालिटी एन्ड डेमोक्रेसी पार्टी (डीईएम) सँग अनौपचारिक गठबन्धन गरेको थियो । डीईएमलाई टर्की सरकारले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) सँग सम्बन्धित भएको आरोप लगाउँदै आएको छ, जुन डीईएमले अस्वीकार गरेको छ ।


पीकेकेले यसै महिनाको सुरुमा टर्कीविरुद्ध ४० वर्षदेखि जारी संघर्ष अन्त्य गर्न युद्धविरामको घोषणा गरेको थियो । पीकेकेलाई टर्की, युरोपेली संघ, बेलायत र अमेरिकाले आतंकवादी संगठनका रूपमा सूचीबद्ध गरेका छन् । इमामोग्लुको गिरफ्तारीपछि टर्कीभर हजारौँ मानिसले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

टर्की अधिकारीहरूका अनुसार प्रदर्शन सुरु भएयता ७ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । शनिबार, इस्तानबुलमा मेयरको कार्यालयबाहिर एक युवतीले बीबीसीलाई भनिन्, ‘म कुनै राजनीतिक कारणले विरोध गरिरहेकी छैन, न त म विपक्षी दलको समर्थन गर्छु । म केवल लोकतन्त्रको रक्षा गर्न यहाँ आएको हुँ ।’

उनकै छेउमा ११ वर्षका छोरा लिएर आएकी अर्की महिलाले भनिन्, ‘म उनलाई यहाँ ल्याउन चाहन्थेँ किनभने म उनको भविष्यका लागि चिन्तित छु ।’ ‘टर्कीमा बाँच्न दिनप्रतिदिन कठिन हुँदै गएको छ । हामी हाम्रो जीवन नियन्त्रण गर्न सक्दैनौं, हामी आफैंले चाहेको नेता छान्न सक्दैनौं, यहाँ कुनै वास्तविक न्याय छैन ।’
 

प्रकाशित : ११ चैत २०८१, सोमबार 09:09
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved