४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

ट्रम्प र गुप्तचर प्रमुखहरूले सिग्नल ग्रुप च्याट लिकलाई सामान्य घटना भन्दै पन्छाए

द नेप्लिज संवाददाता
१३ चैत २०८१, बुधबार

Advertisement

विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका गुप्तचर प्रमुखहरूले एक सुरक्षा उल्लंघनलाई सामान्य घटना भन्दै पन्छाएका छन् । उक्त घटनामा एक पत्रकार गल्तीवश सिग्नल ग्रुप च्याटमा समावेश भएपछि उनले अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरू यमनमा हवाई आक्रमणको योजना बनाउँदै गरेको देखेका थिए ।

अमेरिकी गुप्तचर निर्देशक तुलसी गबार्ड र सीआईए निर्देशक जोन र्याट्क्लिफले सिनेट सुनुवाइका क्रममा उक्त सन्देश सञ्जालमा कुनै गोप्य सूचना साझा नभएको दाबी गरे । तर डेमोक्र्याट सांसदहरूले तिनीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित अयोग्य भन्दै आलोचना गरे ।

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि उपस्थित थिए, जो सो लिकको केन्द्रमा थिए । ट्रम्पले वाल्ट्जको समर्थन गर्दै यो घटनाले सैनिक कारबाहीलाई कुनै असर नगरेको बताए ।
घटनाले वाशिङ्टनमा हलचल ल्याएको छ जसले कानुनी मुद्दा जन्माएको छ र उच्च अधिकारीहरूले संवेदनशील जानकारी सुरक्षित ढंगले कसरी आदानप्रदान गर्ने भन्ने विषयमा प्रश्न उठाएको छ ।

पत्रकार गल्तीवश समूहमा समावेश

’अटलान्टिक’ पत्रिकाका प्रधान सम्पादक जेफ्री गोल्डबर्ग १८ सदस्यीय ग्रुप च्याटमा गल्तीवश समावेश भएका थिए । उनले सुरुमा यो ह्याकरको काम हुनसक्ने आशंका गरेका थिए तर यमनमा १५ मार्चका दिन भएको हवाई आक्रमणपछि उक्त च्याटका सन्देशहरू वास्तविक रहेको महसुस गरे । ती आक्रमणमा ५३ जनाको मृत्यु भएको थियो। अमेरिकी अधिकारीहरूले ती आक्रमणहरू इरान समर्थित हुथी लडाकाहरूलाई लक्षित गरिएको दाबी गरे ।

सिनेटरहरू जवाफ खोज्दै

सोमबारको सिनेट गुप्तचर समितिको सुनुवाइमा उक्त घटनाले ध्यान तान्यो । र्याट्क्लिफले च्याटमा कुनै गोप्य सैन्य जानकारी आदानप्रदान नभएको दाबी गरे । उक्त लिक ठूलो गल्ती हो कि होइन भन्ने प्रश्नमा उनले ‘होइन’ भन्ने जवाफ दिए । गबार्डले पनि कुनै गोप्य सूचना खुलाइएको छैन भन्दै ‘अनायास लीक’ र ‘दुर्भावनापूर्ण लीक’ फरक हुने बताए । 

रक्षा सचिव पिट हेगसेथलाई सो ग्रुपमा मुख्य सूचना स्रोत मानिएको छ । गोल्डबर्गका अनुसार च्याटमा भएका संवेदनशील सूचनाहरू हेगसेथको नामबाट साझा गरिएको थियो ।

ट्रम्प प्रशासनको बचाउ

ट्रम्प प्रशासनका अधिकारीहरूले यस घटनालाई राष्ट्रपति ट्रम्पको उपलब्धिबाट ध्यान हटाउने षड्यन्त्रको रूपमा चित्रित गरे । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले भने, ‘यो सामान्य एप हो, जुन धेरै सरकारी अधिकारीहरू प्रयोग गर्छन् ।’

वाल्ट्जले गल्ती स्वीकार गर्दै भने, ‘यो मेरो पूर्ण जिम्मेवारी हो । यो लज्जास्पद छ । हामी यसको वास्तविकता पत्ता लगाउनेछौं ।’ उनले एलन मस्कसँग पनि छलफल गरेको खुलासा गरे । राष्ट्रिय सुरक्षा विशेषज्ञहरूका अनुसार उक्त लिकले अमेरिकाको सैन्य अभियानमा गम्भीर जोखिम निम्त्याउन सक्थ्यो ।

अर्कोतर्फ अमेरिकी निगरानी समूह ’अमेरिकन ओभरसाइट’ ले संघीय अभिलेख ऐन उल्लङ्घन गरेको आरोपमा च्याटमा संलग्न अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको छ । सिनेट डेमोक्र्याट सांसदहरूले यस घटनालाई ‘अयोग्य र लज्जास्पद’ भनेका छन्। रिपब्लिकन सांसदहरूले भने यस विषयमा सतर्क प्रतिक्रिया दिएका छन् । सिनेटर लिन्डसे ग्राहामले ‘हामी ठूलो संकटबाट जोगियौं,’ भनेका छन्।

सिनेटरहरूले यस प्रकरणको पूर्ण अनुसन्धान गर्ने बताएका छन्। सिनेटका सशस्त्र सेवा समितिका अध्यक्ष रोजर विकरले च्याट लिकको विस्तृत छानबिन गरिने बताएका छन् । राष्ट्रपति ट्रम्पले यस प्रकरणलाई सामान्य घटना भन्दै वाल्ट्जको समर्थन गरेका छन् । उनले भने, ‘वाल्ट्जले पाठ सिकेका छन्, उनी राम्रो मानिस हुन् । यो एउटा प्रविधिगत गल्ती मात्र हो ।’
 

प्रकाशित : १३ चैत २०८१, बुधबार 09:31
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved