विराटनगर — सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रममार्फत भव्य रूपमा मनाइँदैछ। सन् १९५३ मे २९ का दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेकेका थिए। मानवीय साहस र क्षमताको प्रतीक यो उपलब्धिको सम्झनामा हरेक वर्ष मई २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ।
यस वर्ष पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विविध कार्यक्रमको आयोजना गर्दै दिवस मनाउने तयारी गरेको छ। पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले गणतन्त्र दिवस र संसद्मा बजेट वक्तव्य परेकाले कार्यक्रमहरू समय मिलाएर व्यवस्थापन गरिएको जानकारी दिए। बिहान प्रभातफेरी र दिउँसो संसद्मा बजेट वक्तव्य सकिएपछि ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रम आयोजना हुने मन्त्रालयले जनाएको छ।
बिहान कर्मचारी सञ्चय कोष, ठमेलबाट सुरु भएको प्रभातफेरी विभिन्न झाँकीसहित वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत भएको छ। दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने ’सगरमाथा समिटर्स समिट’ कार्यक्रममा कीर्तिमानी आरोहीहरूको अनुभव आदानप्रदान, साहसिक पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभावबारे बहस गरिनेछ। कार्यक्रममा विभिन्न कीर्तिमानी आरोहीहरूलाई सम्मान गरिनेछ।
नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघलगायत निजी पर्यटन व्यवसायीहरूसँग सहकार्य गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले हिलारी परिवारसहित विभिन्न देशका आरोही दिवसको अवसरमा नेपाल आउने जानकारी दिएका छन्।
‘लुक्ला विमानस्थललाई तेन्जिङ–हिलारी विमानस्थल नाम दिइएको छ। जलवायु परिवर्तनका कारण कालापत्थर देखिन थालेको अवस्थाले सगरमाथा र हिमाल संरक्षणबारे गम्भीर सोच्नुपर्ने अवस्था आएको छ,’ अध्यक्ष शेर्पाले भने।
नेपालमा हाल ५ हजार ८ सय मिटरभन्दा अग्ला १ हजार ७ सय ९२ हिमाल छन्, जसमध्ये आठ हजार मिटरभन्दा अग्ला आठ हिमाल नेपालमा छन्। तीमध्ये ४६१ हिमालमात्र आरोहणका लागि खुला गरिएको पर्यटन विभागको तथ्यांक छ।
सरकारले यो दिवसलाई भावी पुस्तामा पर्वतीय सपनाप्रति आकर्षण बढाउने र हिमाली क्षेत्रको सम्मान एवं संरक्षणका लागि चेतना अभिवृद्धि गर्ने अवसरका रूपमा समेत लिएको छ।
#७२#औँ #अन्तर्राष्ट्रिय# सगरमाथा# दिवस
अर्थ/वाणिज्य
भिजिट भिसामा निष्पक्ष छानबिन नभए अमेरिकाको कालोसूचीमा नेपाल पर्न सक्ने जोखिम
द नेप्लिज संवाददाताअमेरिकी डलर महँगियो, अन्य प्रमुख विदेशी मुद्राको विनिमय दर पनि बढ्यो
द नेप्लिज संवाददातासिन्डिकेटको सामु झुकेको सरकार : अदालतको आदेश, ऐनको व्यवस्था र यात्रुको अधिकारको उपेक्षा
द नेप्लिज संवाददाताघरजग्गा कारोबारमा सरकारको कडाइ, अब बैंकमार्फत मात्र किनबेच गर्न पाइने
द नेप्लिज संवाददातारमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो काठमाडौँबाट पक्राउ, बुवा र दाजु फरार
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares