काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रबार चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीको निरीक्षण गरेकी छिन् । सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका–२ मा आयोजित ऐतिहासिक तातोपानी धाराको पुनर्निर्मित भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएपछि उनले नाका र भन्सार क्षेत्रको स्थलगत अवलोकन गरेकी हुन् ।
तातोपानी नाका निरीक्षणका क्रममा मन्त्री राणाले भन्सार कार्यालयलाई थप व्यवस्थित गर्न निर्देशन दिइन् । उनले काठमाडौँ–कोदारी राजमार्गसहित नाकासँग जोडिएका सडकहरूको स्तरोन्नति गर्न सरकारले आवश्यक पहल गर्ने बताइन् । पर्यटन प्रवद्र्धनका हिसाबले मानसरोवर यात्रा सहज हुने भएकाले नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिइन् ।
परराष्ट्रमन्त्रीको तातोपानी भ्रमणलाई केही विश्लेषकहरूले भारतप्रति अप्रत्यक्ष सन्देशको रूपमा हेरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएदेखि भारतसँग सम्बन्धमा चिसोपन देखिएको छ ।
प्रधानमन्त्री नियुक्त भएको केही दिनमै भ्रमणको निम्तो दिने भारतले ओली प्रधानमन्त्री भएको नौ महिना बित्दा पनि मौन छ । यसबीच परराष्ट्रमन्त्री राणा तीन पटक भारत भ्रमण गरेकी छन् । तर भारतले निम्तो दिने संकेत दिएको छैन ।
गत चैतमा बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा थाइल्यान्डको बैंककमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । भेटपछि दुवै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा सकारात्मक धारणा सार्वजनिक गरे पनि औपचारिक निम्तोको विषयमा प्रगति देखिएको छैन ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री राणाको तातोपानी भ्रमण पूर्वनियोजित कार्यक्रमको हिस्सा थियो । सिन्धुपाल्चोकका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको निम्तोमा मन्त्री राणा तातोपानी धाराको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन् । उक्त कार्यक्रमपछि नजिकै रहेको तातोपानी नाका निरीक्षण गर्नु स्वाभाविक रहेको मन्त्रालयले जनाएको छ ।
तातोपानी नाकाको वर्तमान अवस्था
२०७२ को भूकम्पपछि तातोपानी नाका लामो समय बन्द रह्यो । हाल नाका सञ्चालनमा आए पनि पूर्वाधारको अवस्था जीर्ण छ । अरनिको राजमार्गको विभिन्न खण्डहरू भत्किएका छन् जसले यातायातमा समस्या उत्पन्न गरेको छ । चीनले आफ्नो पक्षमा ’इम्पोर्ट जोन’सहित शहर विकास गरिसकेको भए पनि नेपालतर्फ पूर्वाधार विकासमा ढिलाइ भएको छ ।
तातोपानी नाकाबाट हाल दैनिक पाँचवटा कन्टेनर मात्र नेपाल भित्रिन्छन् जुन भूकम्पपूर्वको अवस्थाको तुलनामा निकै कम हो । निर्यात पनि न्यून छ सात वर्षपछि गत वर्ष निर्यात पुनः सुरु गरिएको थियो । परराष्ट्रमन्त्री राणाको तातोपानी भ्रमणले नेपाल–चीन व्यापारिक सम्बन्ध सुदृढ गर्ने संकेत दिन्छ ।
साथै भारतसँगको सम्बन्धमा देखिएको चिसोपनको सन्दर्भमा यो भ्रमणले कूटनीतिक सन्देश दिएको अड्कल गरिएको छ । सरकारले तातोपानी नाकाको पूर्वाधार विकासमा ध्यान दिएर व्यापारिक गतिविधि सुदृढ गर्नुपर्ने आवश्यकता देखिन्छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares