४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

हतकडीमा रवीन्द्र मिश्र, देशले परिवर्तन खोजिरहेको संकेत

जितेन्द्र साह
१९ चैत २०८१, मङ्गलबार

Advertisement

मिश्रले अङ्ग्रेजी साहित्य, पत्रकारिता तथा अन्तर्राष्ट्रिय राजनीतिमा क्रमशः त्रिभुवन विश्वविद्यालय (नेपाल), पञ्जाव विश्वविद्यालय (पाकिस्तान) र युनिभरसिटी अफ लण्डनको स्कूल अफ ओरिएण्टल एण्ड अफ्रिकन स्टडिज् (बेलायत) बाट स्नातकोत्तर गरेका छन् ।
  


विराटनगर–  हतकडीमा रवीन्द्र मिश्र । यो सामान्य दृश्य होइन । नेपाली पत्रकारिताकै विश्वविद्यालय मानिने मिश्रले राजनीति रोजे पछिको यो नीकै ठूलो रुपान्तरण र ऐतिहासिक क्षण हो । अब उनको राजनीतिक करियरले लिने मोडले संख्यात्मक रुपले हिन्दु बहुल यो मुलुकको राजनीतिक भविष्यको रुपरेखा समेत कोर्नेछ ।

मुलुकको बडेमानका मिडिया हाउसका सम्पादक र प्रधान सम्पादकले जति नै फूर्ति लगाए पनि सवाल सोध्ने कला र खबरको भीडमा विषय वस्तुको चयन कसरी गर्ने सुत्र मिश्रबाटै सिकेका हुन् । लिखित र मौखिक विचारले पनि उनलाई देशकको उम्दा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक विचारकको श्रेणीमा खडा गर्छ ।

उनको बोल्ने र लेख्ने शैलीको प्रभाव नेपाली पत्रकारितामा प्रष्ट झल्किन्छ । समाचारको प्रस्तुति होस वा अनुवाद, उनले देखाइ दिएको बाटोलाई नपछ्याउँदा नेपाली भाषामा मिठास नै आउँदैन ।  प्रजातन्त्रको पुनबर्हालीदेखि लोकतन्त्रको स्थापना सम्मको पत्रकारिताको माध्यमबाट उनले पुर्याएको योगदान पनि स्मरणीय छ ।

पत्रकारिता क्षेत्रमा लागेकाहरुले अग्रज पत्रकार मिश्रको यो पक्षको उपेक्षा गरे पनि यो देश र जनताले भने बिर्सेको छैन । झिनो मतान्तरले प्रतिनिधिसभामा दुई पटक पराजित भए पनि पाएको मतले मिश्रको देशमा स्थापित उचाइ र  लोकप्रियताको बखान गर्छ । 

समग्र पत्रकारिता करियरमा विश्वको राजनीतिलाई नजिकबाट नियाल्ने र सटिक विश्लेषण गर्ने खुबी भएका मिश्रले गणतन्त्रको विपरित धार किन रोजे ? के हामी सर्वज्ञाता र उनी महामूर्ख हुन् ? पक्कै पनि होइन होला । भनिन्छ, कतिपय सवालको जवाफ समयले दिन्छ । समयलाई कुरौं । 

मूल्यांकन र आकलनको कलामा माहिर मिश्र जस्तो व्यक्तित्वले कुनै पथ अगाल्नुको पछाडि देश र नागरिकको भविष्य पनि जोडिएको हुन्छ । देशलाई यति धेरै माया गर्ने मिश्रले नागरिकलाई अन्धकार तिर पक्कै पनि लग्दैनन् नि ।

कुनै बेला बीबीसी नेपाली सेवामा आफ्नो घोचपेचले राजनीतिक घेरालाई थर्कमान बनाउने मिश्रको व्यक्तित्वको बारेमा कुरा गरौं । यो देशको हरेक भूगोल र समुदायलाई बुझ्ने र उहाँ जतिको यो राष्ट्रलाई माया गर्ने व्यक्तित्व कमै भेटिन्छ । यो देश र नेपाली भाषालाई आमाको रुपमा हेर्नुपर्छ भन्ने सिकाउने मिश्र नै हुन् । 

उनलाई हतकडीमा देखे पछि मभित्र सवालहरुको आँधीबेहेरी चलिरहेको छ । गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मिश्र आबद्ध दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको मात्रै होइन, ज्यान गुमाएका सञ्चारकर्मी सुरेश रजक र अर्का युवक चालक सविन महर्जनलाई सहिद घोषणा गर्न पनि माग गरेको हुनाले यता तिर बोलिन । फेरि यो प्रहरी र अदालतको घेरामा पुगेको हुनाले फैसालको प्रतिक्षा गरौं  ।

अहिले भने मिश्र राजनीतिमा किन आएका होलान् भन्ने सोचौं । अन्य दलका नेताहरु झै उनमा मन्त्री, प्रधानमन्त्री बन्ने चाहना पनि देख्दिन । उनलाई आसेपासे पाल्नु पर्ने आवश्यकता पनि छैन । देशको सबै क्षेत्रम निराशा छाएको बेला उनी राजनीतिमा आउनुले निः सन्देह आशा जगाउँछ तर राजावादीकै मार्ग किन रोजे ? 

मलाई लाग्छ, उनले देशको राजनीतिकको मूल्यांकन गरेर देशको भविष्यको आकलन गरेर अघि बढेका छन् । मिश्रको नियत सफा छ, त्यसैले उनले देखेको भविष्यको नेपाल पक्कै पनि नीकै सुन्दर होला । 

जीवनमा कहिल्यै हार र हरेस नखाने जुझारु स्वभावका उनले यो विषयमा कुनै दिन पक्कै पनि स्पष्ट पार्छन् होला । तर एउटा यथार्थ चाहिँ पत्रकारको रुपमा मैंले र यो देशका गणतन्त्रवादी दलका प्रमुख नेताहरुले स्वीकार्नै पर्छ, त्यो हो देशले परिवर्तन खोजीरहेको छ । त्यो कुनै पनि स्वरुपमा हुन सक्छ । 

राजा रहिसकेका ज्ञानेन्द्र शाह र उनलाई समर्थकहरुलाई ताजा विध्वंसको सारा दोष लगाएर पन्छिन खोज्दा यो मुलुक कहिल्यै उठ्न नसक्ने गरी अस्थिरताको लामो यात्रामा जान सक्छ । अहिले सम्म भए, गरेका गल्ती स्वीकार्दै आत्मालोचना नगरी सुखै छैन ।

अहिलेको अवस्था आउनुमा यो र त्योभन्दा पनि तीन दशक बढीदेखि सत्तामा बसेका दलहरु हुन् भन्ने जनताले राम्ररी बुझेका छन् । यही सेरोफेरोमा रविन्द्र मिश्रहरुको उदय भएको जस्तो लाग्छ । चैत १५ को अनपेक्षित घटनाका मुख्य दोषी खोज्ने क्रममा मिश्रलाई पनि हतकडी लगाइएको धेरैलाइ लागेको होला ।

तर यो बिलकुलै गलत हो । यो हतकडीले लोकतन्त्र माथि नराम्ररी व्यङ्ग्य गरिरहेको छ र व्यवस्था परिवर्तन हुने संकेत दिइरहेको छ । यसको अर्थ ज्ञानेन्द्र शाह फेरि राजा हुन्छन् भन्ने पनि होइन । अहिलेकै सिस्टमबाट २०८४ को चुनाव सम्म नयाँ शक्ति र अनुहारहरुको उदय हुन्छ । पुराना र परम्परागत दलको अन्त हुन्छ भन्ने आममान्छेको धारणा छ ।

यसको आधारशीला मिश्रहरुले नै खडा गर्छन् । गत दुई दशकदेखि व्यावहारिक परोपकारी, लेखक, परोपकारी पत्रकार र कवि रहँदै आएका रवीन्द्र मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् ।

मिश्रले सन् २०१७ को फेब्रअरी अन्त्यमा बीबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएर साझा पार्टीको स्थापना गरेका थिए । पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा कल्याणकारी लोकतन्त्रको दर्शन बोकेर स्थापना भएको उक्त पार्टीले स्थापनाको पाँच महिनापछि सन् २०१७ को जुलाईमा विवेकशील नेपाली दलसँग एकीकरण गरेको थियो । तत्पश्चात पार्टीको नाम विवेकशील साझा पार्टी राखियो ।

विवेकशील साझा पार्टीलाई धेरैले, खासगरी युवाहरूले, नेपालको रूपान्तरणका लागि एउटा आशाको रूपमा हेर्दै आएका छन् । २०७४ प्रतिनिधिसभाको चुनावमा मिश्रले नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहका प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिए । 

नेपालका ठूला दलमध्ये एक नेपाली काँग्रेसका तत्कालीन महामन्त्री तथा उपप्रधानमन्त्री भइसकेका सिंहले काठमाडौं क्षेत्र नं १ बाट दुई पटक चुनाव जितिसकेका थिए । उनीसँग मिश्र ८ सय १८ मतको झिनो अन्तरले पराजित भए । तर चुनावभन्दा केही महिनाअघि मात्रै गठन भएको पार्टीका लागि त्यो चानचुने उपलब्धि थिएन । मिश्रले २०७९ को निर्वाचनमा दोस्रो पटक नेपाली काङ्ग्रेसका नेता प्रकाश मणि सिंहविरुद्ध काठमाडौँ १ बाट चुनाव लडे तर १२५ मतको संकुचित अन्तरले पराजित भए । 

मिश्र यस्ता पत्रकार र राजनीतिज्ञ हुन् जसले आफ्नो गल्ति सहर्ष स्वीकार्छन् । २०७९ सालको स्थानीय निर्वाचनमा विवेकशील साझाले अनपेक्षितरूपमा निराशाजनक परिणाम ल्याएपछि, खराब नतिजाको पूर्णतः नैतिक जिम्मेवारी लिँदै मिश्रले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिए ।

एकै पुस्ताभित्र नेपालको रूपान्तरण गर्ने मिश्रको एक मात्र सपना रहेको छ । सुशासनको वकालत गर्दै आएका उनले विगतमा ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने भ्रष्टाचारविरोधी अभियान पनि चलाएका थिए ।

मिश्र निःशुल्क तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका दृढ वकालतकर्ता हुन् । ती तिनै विषय नागरिकका आधारभूत मानव अधिकार भएको र त्यसमा कुनै पनि निहुँमा सम्झौता हुन नसक्ने उनको धारणा छ ।

मिश्र नेपालमा सर्वाधिक विक्री भएका मध्येका चारवटा पुस्तकका लेखक हुन् । मिश्रका कल्याणकारी लोकतन्त्र तथा राजनीतिसँग सम्बन्धित स्तंभ–निबन्धहरूको सङ्ग्रह ‘राजनीतिसँगै राजकाज’, व्यावहारिक परोपकार तथा परोपकारी पत्रकारितासँग सम्बन्धित स्तंभ–निबन्ध सङ्ग्रह ‘खान पुगोस् दिन पुगोस्’, राजनीतिक तथा सामाजिक विषयमाथिका विश्लेषणहरू समेटिएको ‘भूमध्यरेखा’ र कविताहरूको संगालो ‘रवीन्द्र मिश्रका कविता’ प्रकाशित छन् ।

ती चार पुस्तकमध्ये तीनवटा पुस्तकको लेखकश्व बापतको रकम मिश्रले चितवनस्थित अति सीमान्तकृत चेपाङ समुदायलाई सहयोग गर्दै आएका छन् । अहिलेसम्म उनले १२ लाख रुपैयाँ सो समुदायलाई सहयोग गरिसकेका छन् ।
मिश्रको पछिल्लो पुस्तक ‘राजनीतिसँगै राजकाज’ को रोयल्टी बापत आउने रकम विवेकशील साझा पार्टीलाई जानेछ । मिश्रले नेपाल टेलिभिजनमा एक वर्ष र पाकिस्तानको लाहोरमा स्नातकोत्तर गर्दै गर्दा त्यहाँको अग्रणी अंग्रेजी दैनिक ‘द न्युज इन्टरन्याशनल’ मा दुई वर्ष काम गरेका थिए ।

तत्पश्चात उनी सन् १९९४ मा कार्यक्रम उत्पादकका रूपमा लन्डनस्थित बीबीसी नेपाली सेवामा आबद्ध भए । मिश्र सन् २००६ मा बीबीसी नेपाली सेवाका प्रमुख भएका थिए । बीबीसीमा कार्यरत रहँदा उनले ‘द वल्र्ड टुडे’, ‘न्यूजआवर’ जस्ता चर्चित कार्यक्रममा काम गर्नुका साथै बीबीसी विश्व सेवाको सामाचार कक्षमा पनि काम गरे ।

लन्डनस्थित बीबीसी मुख्यालयमा १५ वर्ष काम गरेपछि सन् २००९ को अप्रिलमा उनले स्थायी रूपमा नेपाल फर्कने निर्णय गरे । उक्त निर्णय आफ्नो जीवनमा अहिलेसम्म गरेका उत्कृष्ट निर्णयमध्ये एक भएको उनी ठान्दछन् । 

मिश्रले आफ्नो पत्रकारिता जीवनमा माओवादी सशस्त्र द्वन्द्वकाल, राजदरबार हत्याकाण्ड, राजाद्वारा शासनसत्ता आफ्नै हातमा लिएको घटना, राजतन्त्रको अन्त्य र संघीयता तथा धर्मनिरपेक्षताको घोषणाजस्ता नेपालका अत्यन्त महत्वपूर्ण र उतारचढावपूर्ण घटनाक्रमहरूलाई नजिकबाट नियालेर विश्लेषण तथा संप्रेषण गरेका छन् ।

पत्रकारिताका सबै मञ्च — छापा, अनलाइन, रेडिओ तथा टेलिभिजन — मा काम गरिसकेका मिश्र खासगरी जानकारीयुक्त, सटिक, गहिरो र दिशानिर्देश गर्ने प्रकृतिको अन्तर्वार्ता तथा लेखनका निम्ति परिचित छन् ।

मिश्रले अङ्ग्रेजी साहित्य, पत्रकारिता तथा अन्तर्राष्ट्रिय राजनीतिमा क्रमशः त्रिभुवन विश्वविद्यालय (नेपाल), पञ्जाव विश्वविद्यालय (पाकिस्तान) र युनिभरसिटी अफ लण्डनको स्कूल अफ ओरिएण्टल एण्ड अफ्रिकन स्टडिज् (बेलायत) बाट स्नातकोत्तर गरेका छन् ।

लन्डनमा हुँदा मिश्रले समान सोच भएका साथीहरूसँग मिलेर हेल्प नेपाल नेटवर्क नामक परोपकारी संस्था स्थापना गरे जसका शाखाहरू विभिन्न १४ मुलुकमा छन् । हेल्प नेपालले सयभन्दा बढी कक्षाकोठा, साना विद्यालय भवन र पुस्तकालय बनाउन सघाएको छ ।

उक्त संस्थाले अहिले पनि बाढी–पहिरो, आगलागी लगायतका विपद्मा नेपालभरि सहयोग गर्ने गर्छ । सन् २०१५ को शक्तिशाली भूकम्पपछि राहत कार्यक्रममा हेल्प नेपालले महत्वपूर्ण तथा अग्रणी भूमिका निर्वाह गरेको थियो ।
हेल्प नेपालले हाल सिन्धुपाल्चोक र दोलखामा दुईवटा ‘नमूना’ विद्यालय निर्माणमा मद्दत गरिरहेको छ । ती दुवै विद्यालय सन् २०१५ को भूकम्पमा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।

राजनीतिमा संलग्न भएपछि सम्भावित स्वार्थको द्वन्द्वको अवस्था आउन नदिन मिश्रले हेल्प नेपालबाट आफूलाई अलग गरेका थिए । यद्यपि उनले व्यक्तिगत रूपमा परोपकारी कामहरू गर्दै आएका छन्।
                                                                                                                           (गुगलमा उपलब्ध सामग्रीको आधारमा तयार पारिएको यो लेख नीजी विचार हो । यसले द नेप्लिज डट कमको नीतिलाई प्रतिनिधित्व गर्दैन )


 

प्रकाशित : १९ चैत २०८१, मङ्गलबार 07:30
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved