६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

डा.आरजुको हल्का अभिव्यक्तिले कूटनीतिक क्षति

द नेप्लिज संवाददाता
२२ चैत २०८१, शुक्रबार

Advertisement

विराटनगर–  कूटनीतिमा ‘कम तर प्रभावकारी बोल्नु’ भन्ने मान्यता विश्वव्यापी छ । शब्द मात्र होइन, हाउभाउ, पहिरन, बसाइजस्तै प्रस्तुतिले पनि सन्देश दिन्छ । तर नेपालजस्तो संवेदनशील भू–राजनीतिक परिवेशमा अवस्थित देशका परराष्ट्रमन्त्रीले आफू सार्वभौम देशको नागरिक हुँ भन्ने समेत बिर्सेर बोलेका केही शब्दले कूटनीतिक सन्तुलनमा गम्भीर प्रश्न उठाएका छन् ।

पछिल्लो पटक परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको १२ दिने भारत भ्रमण त्यसकै उदाहरण बनेको छ । भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै उनले भनेकी थिइन्, ‘भारत नेपालको सरकार ढाल्ने खेलमा छैन । उहाँहरूको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने बुझ्न जरुरी छ ।’

यो अभिव्यक्तिले भारतलाई अप्रत्यक्ष रूपमा नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने शक्तिको रूपमा चित्रित मात्र गरेन, स्वतन्त्र राष्ट्रको स्वाभिमानमा पनि आघात पु¥यायो । डा. राणा भारत सरकारको निमन्त्रणामा नयाँ दिल्लीमा आयोजित ‘रायसिना डाइलग २०२५’ मा भाग लिन गएकी थिइन् । यो भारतको वार्षिक भू–राजनीतिक सम्मेलन हो, जुन २०१६ देखि नयाँ दिल्लीमा हुँदै आएको छ ।

तर कार्यक्रममा उनले १५ मिनेट मात्र बोल्न पाइन्, त्यो पनि १२ दिन कुरेपछि । कूटनीतिक प्राथमिकता प्राप्त नेताहरूले यस्तो कार्यक्रममा अक्सर उच्चस्तरीय भेटघाट र सन्देश आदान–प्रदान गर्छन् । तर परराष्ट्रमन्त्री राणाले एक्लै फोटा सेसन, औपचारिक भेट नपाएको गुनासो मात्र लिएर फर्किइन् । पहिलो भ्रमणमा साउथ ब्लकले प्रधानमन्त्रीसरह स्वागत गरेको थियो ।

दोस्रोपटक भारतका उच्च अधिकारीहरूले बेवास्ता गरे, बिजेपीका राममाधवसँग मात्र भेट भयो । तेस्रो भ्रमण (रायसिना डाइलग) मा विदेशमन्त्री एस. जयशंकरसँग मात्र पाँच मिनेट ‘बाटोमा’ भेट भएको पुष्टि भएको छ । 
आरजुले जयशंकरसँग हात मिलाएको फोटो पोस्ट गर्दा प्राप्त उपलब्धिको प्रचार गरिन् तर जयशंकरले केही टाढाबाट लिइएको फोटो पोस्ट गरे जसले औपचारिक दूरी प्रकट गर्यो । 

नेपाल–भारत सम्बन्धको संवेदनशीलता, सार्कको अध्यक्ष राष्ट्रको भूमिका, ईपीजी (प्रबुद्ध व्यक्ति समूह) प्रतिवेदन अलपत्र रहेको अवस्था, अनि विगत आठ महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले निम्तो नपठाएको सन्दर्भमा परराष्ट्रमन्त्रीको बारम्बार भ्रमणले कुनै रणनीतिक उपलब्धि देखाएको छैन । 

नेपाल–भारत इपिजी प्रतिवेदन २०१८ मै तयार भए पनि दुवै देशले स्वीकृति दिइसकेका छैनन् । २०१४ यता सार्क सम्मेलन स्थगित छ, पछिल्लो सम्मेलन काठमाडौँमा भएको थियो । कूटनीतिक हल्का शैली, विदेश नीतिको स्पष्ट दिशानिर्देशको अभाव, अनि व्यक्तिगत पहुँचका भरमा गरिएको भ्रमणले नेपालको परराष्ट्र प्रतिष्ठा ओझेलमा परेको छ । 

आरजुको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धको संवेदनशील मोडमा दिल्लीको हस्तक्षेपलाई प्रोत्साहन दिने संकेत दिएको देखिन्छ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पत्नीसमेत रहेकी मन्त्रीले यस्तो बोल्नुले राजनीतिक संकेतभन्दा पनि गम्भीर कूटनीतिक गल्ती मानिएको छ।

नेपाल जस्तो मुलुकका लागि परराष्ट्र सम्बन्ध सन्तुलन र परिपक्वता माग्ने विषय हो । तर मन्त्रीकै अनावश्यक सक्रियता र हल्का अभिव्यक्तिले नेपाललाई ’दक्षिणकोटिको आश्रित’ देखाउने जोखिम बढाएको छ । यस्तो अवस्थामा, सरकार र परराष्ट्र मन्त्रालयले दीर्घकालीन रणनीति र शालीनता अपनाएर सम्बन्ध सुधारमा ध्यान दिनु आजको आवश्यकता हो । मन्त्री आरजुले गरेको अभिव्यक्ति विभिन्न मिडियाहरूमा ३१ मार्च २०२५ तिर सार्वजनिक भएको थियो ।
 

प्रकाशित : २२ चैत २०८१, शुक्रबार 11:21
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved