काठमाडौं– कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षमा पहिलोपटक नेपालका प्रधानमन्त्रीले मंगलबारबाट थाइल्यान्डको औपचारिक भ्रमण गर्दैछन् ।
नेपाल र थाइल्यान्डबीच १९५९ नोभेम्बर ३० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यद्यपि ६५ वर्षमा थाइल्यान्डका प्रधानमन्त्रीले मात्र एकपटक नेपाल भ्रमण गरेका छन् । सन् २०१८ मा थाइल्यान्डका तत्कालीन प्रधानमन्त्री प्रयुत चान–ओ–चाले बिमस्टेक (बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास) को चौथो शिखर सम्मेलनका क्रममा नेपाल आएका थिए ।
प्रधानमन्त्री ओली बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुँदैछन् । उनले यस भ्रमणलाई औपचारिक बनाउन बिमस्टेक शिखर सम्मेलनअघि नै बैंकक पुग्दैछन् । अप्रिल २ देखि दुई दिन सम्म चल्ने सम्मेलनमा अप्रिल ४ का दिन मात्र सदस्य राष्ट्रका सरकार प्रमुखहरूको सहभागिता हुनेछ ।
भ्रमणका क्रममा नेपाल–थाइल्यान्ड कूटनीतिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखिएको छ । दुई देशबीच आठवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ । यसमा पर्यटन तथा संस्कृतिबारे सरकारी तहमा दुईटा र अन्य छवटा गैरसरकारी संस्थाहरूबीच सम्झौताहरू हुनेछन् ।
प्रधानमन्त्री ओलीले थाइल्यान्डका समकक्षीसँग द्विपक्षीय बैठक गर्नेछन् । यस बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त प्रेस ब्रिफिङ गर्नेछन् । ओलीले थाइल्यान्डका नरेशसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।
प्रधानमन्त्री ओलीले अप्रिल ३ मा थाइल्यान्डका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट तथा छलफल गर्नेछन् । त्यसै दिन उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । साँझ बिमस्टेकका नेताहरूलाई थाइल्यान्ड सरकारले दिने औपचारिक डिनरमा उनी सामेल हुनेछन् ।
नेपालको व्यापार घाटा थाइल्यान्डसँग ठूलो छ । आर्थिक वर्ष २०८०÷८१ मा नेपालले थाइल्यान्डसँग ८ अर्ब ७५ करोड रुपैयाँ बराबरको व्यापार गरे पनि नेपालबाट निर्यात अत्यन्त न्यून रह्यो । चालु आर्थिक वर्ष २०८१÷८२ मा यो घाटा झन् बढ्दै गएको छ ।
यसै कारण प्रधानमन्त्री ओलीको भ्रमण व्यापार असन्तुलन कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने दिशामा केन्द्रित हुने अपेक्षा गरिएको छ । थाइल्यान्डबाट नेपालमा आउने पर्यटकको संख्या वृद्धि गर्नु ओलीको प्राथमिकतामा पर्नेछ । सन् २०२३ मा मात्र २५ हजार ६ सय ७८ जना थाई पर्यटक नेपाल घुम्न आएका थिए । अधिकांशको गन्तव्य लुम्बिनी थियो ।
बिमस्टेक शिखर सम्मेलन सकिएपछि अप्रिल ४ साँझ प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बैंककमा भेटवार्ता गर्ने कार्यक्रम तय छ । यसअघि दुवै नेताबीच न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा दौरान भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओली अप्रिल ५ (चैत २३) मा स्वदेश फर्कनेछन् । यो भ्रमण नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने तथा पर्यटन प्रवद्र्धनमा सहयोगी बन्ने अपेक्षा गरिएको छ । कूटनीतिक दृष्टिले पनि यो भ्रमण ऐतिहासिक मानिएको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares