६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

चार महिनाको संघर्षपछि मृत्युको बाटो

द नेप्लिज संवाददाता
६ वैशाख २०८२, शनिबार

आनन्दीदेवीकी आमा बिल्टौन सदाय

Advertisement

विराटनगर– चार महिनासम्म न्याय माग्दै स्थानीय चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्म भौतारिइरहेकी सिराहा नवराजपुर–३ की २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन् ।  दलित समुदायकी यी युवतीसँग सामूहिक बलात्कारको प्रयास भएको थियो । तर प्रहरी, स्थानीय राजनीतिक समूह र पीडक पक्षको मिलेमतोमा मुद्दा दबाउन खोजिएको थियो । आर्थिक लेनदेनमा सल्टाउन खोजिएको थियो । निरन्तरको धम्की पछि अन्ततः न्यायको आश मरेपछि उनले जीवन अन्त्य गर्न बाध्य भएकी घटना विवरणले देखाउँछ ।

सामूहिक बलात्कार प्रयास र प्रहरीको खेल
२०८१ पुस ९ मा बिहान ११ बजे आनन्दी बरियारपट्टी–१ स्थित दिदीको घरतर्फ हिँडेकी थिइन् । बाटोमा गाउँकै पोखरी छेउको आँपबगैंचामा ३२ वर्षीय श्यामसुन्दर यादव र २२ वर्षीय सञ्जीवकुमार यादवले उनीसँग सामूहिक बलात्कार प्रयास गरेका थिए । रुँदैरुँदै उनी घर फर्किएकी थिइन् ।

उक्त दिन नै उनी, आमा बिल्टौन सदाय र पति उमेश सदायसँगै महेशपुर पतारस्थित इलाका प्रहरी कार्यालय पुगिन् र ‘जबरजस्ती करणी उद्योग’ अन्तर्गत जाहेरी दिइन् । तर जाहेरी दिनासाथ नै आरोपितहरूका परिवार र गाउँका प्रभावशाली व्यक्तिहरूले पीडित परिवारलाई आर्थिक लेनदेनको प्रस्ताव राख्दै मिल्न दबाब दिन थाले ।

प्रहरीले जाहेरी च्यात्यो
माघ ४ मा जाहेरी दर्ता भएको भनेर पीडितलाई भरपाईपत्र दिइयो । तर त्यसको भोलिपल्ट प्रहरीले बोलाएर गालीगलौज गर्दै त्यो पत्र च्यातिदियो । बिल्टौनका अनुसार प्रहरीले पटक–पटक पैसा लिएर मिल्न सुझायो । उनीहरु नमाने पछि प्रहरी निरीक्षक रविनराज मैनालीको निर्देशनमा जाहेरी नै बदर गरियो ।

उनको दाबीअनुसार जिल्लाबाट अर्को आदेश भए पनि मुद्दा फाँटका प्रहरीले थाहा नपाएर दर्ता गरिदिएछन्, त्यसैले बदर गर्नुप¥यो । तर यही बयानले प्रहरी प्रशासनको गम्भीर समन्वयहीनता र गैरजिम्मेवारी प्रष्ट पार्छ ।

पत्रकार सम्मेलनको डरले बल्ल दर्ता
पीडित परिवारले दलित अगुवाहरूको सहयोग मागेपछि बल्ल प्रहरीमा मुद्दा दर्ता गर्न दबाब बढ्न थाल्यो । पत्रकार सम्मेलन गर्ने तयारी भएपछि फागुन २५ मा मुद्दा पुनः दर्ता गरियो । फागुन २६ मा सिराहा जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भयो । तर आरोपीहरू खुलेआम गाउँ घुमिरहेका भए पनि प्रहरीले पक्राउ गरेन ।

सिरहा प्रहरी प्रमुख अनन्तराम शर्माले भने, ‘मुद्दा दर्ता भएपछि उनीहरू भारत भागेका छन् ।’ तर स्थानीयले बारम्बार सूचना दिए पनि कुनै कार्यवाही नभएको आरोप छ ।

मानसिक तनाव र पारिवारिक टकराव
सामाजिक लाञ्छना, प्रहरीको बदमासी, न्याय नपाउने निराशा र परिवारभित्र बढ्दो असमझदारीले आनन्दी मानसिक तनावमा थिइन् । पछिल्लो समय पति उमेशले उनीसँग बोलचाल समेत बन्द गरेका थिए । उनले आफू न्याय खोज्दा अपहेलित महसुस गर्दै आएकी थिइन् । उनकी दुई वर्षकी छोरी अहिले आमा बिना रहन बाध्य छन् ।

दलित अगुवाहरूको आक्रोश
वडाध्यक्ष वंशीलाल यादव भन्छन्, ‘प्रहरीको चरम बदमासीले गर्दा आज यो अवस्था आयो । मैले जनप्रतिनिधिका हैसियतले पहल गरें, तर प्रहरी सुनुवाइमै आएन ।’ दलित अगुवा मनोजकुमार पासवानले यो घटना राज्यकै संरचनाले दलित नागरिकलाई कसरी निराश बनाउँछ भन्ने उदाहरण भएको बताएका छन् । ‘संलग्न प्रहरी अधिकारीहरूलाई तत्काल निलम्बन र कारबाही गर्नुपर्छ,’ उनले माग गरे।

जानकारहरुका अनुसार यो घटना कुनै एक दलित युवतीको मात्र व्यथा होइन — यो राज्य संरचना, प्रहरी प्रशासन, सामाजिक न्याय प्रणाली र दलित समुदायको दयनीय अवस्थाको प्रतिनिधि कथा हो । जब प्रहरी नै अपराधीको पक्षमा उभिन्छ, जब पीडितलाई उल्टै अपमान गरिन्छ, अनि अदालतका आदेशहरू कागजमै सीमित रहन्छन् — तब न्यायको आश मर्न थाल्छ ।

यस घटनाले राज्यको जिम्मेवारीमाथि प्रश्न खडा गरेको छ । प्रहरी र प्रशासनिक निकायले यदि तत्काल सत्य तथ्यमा आधारित छानबिन नगरे, यो घटना अर्को ‘दलित न्यायहीनता’ को प्रतिक बनेर स्मरण गरिनेछ ।

प्रकाशित : ६ वैशाख २०८२, शनिबार 15:22
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved