याङ्गुन (बीबीसी)– म्यानमारको ऐतिहासिक सहर माण्डले कहिल्यै सुनौलो स्तूपहरू र स्वर्णमय बौद्ध तीर्थस्थलहरूले चिनिएको थियो । तर अहिले त्यही सहरभरि शवको दूर्गन्ध छ । शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्पले म्यानमारलाई तहसनहस बनाएको छ ।
शुक्रबारको भूकम्पपछि शवहरू संकलन गर्नै नसकिने अवस्थामा छन् । एक स्थानीयका अनुसार अब सामूहिक रुपले मृतकहरूको दाह संस्कार गर्नुपरेको छ । उद्धारकर्ताहरू भग्नावशेषबाट शव निकाल्न तल्लीन छन् । तर धेरै अझै ढुंगामाटोभित्र पुरिएका छन् ।
यो महात्रासदीमा हालसम्म २ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ४ हजार ५ सय २१ घाइते छन् । सयौँ अझै हराइरहेका छन् । सैन्य सरकारद्वारा सार्वजनिक गरिएको तथ्यांकभन्दा वास्तविक क्षति अझै भयावह हुनसक्ने अनुमान गरिएको छ ।
देशको दोस्रो ठूलो सहर माण्डलेका बासिन्दाहरू रातभर सडकमा अनिदो बस्न बाध्य छन् । घरहरू कमजोर भइसकेकाले उनीहरू भूकम्पको अर्को झट्काबाट जोगिन खुला स्थानमा बस्न विवश छन् । ‘मैले मान्छेहरुलाई सडकमा बसेर चिच्याउँदै र रुन्दै गरेको देखेँ,’ २३ वर्षीया विद्यार्थी जे भन्छिन् । उनले फुपू गुमाएकी छिन् । ‘तर उनको शव भग्नावशेषबाट दुई दिनपछि मात्रै निकालियो,’उनी भन्छिन् ।
खानेपानी र खाद्यान्न अभावले नागरिकहरू झन् पीडित छन् । उद्धारकर्ताहरूले चार दिनमा ४०३ जनालाई भवनहरुको भग्नावशेषबाट जीवित उद्धार गरेका छन् । २ सय ५९ शव निकालेका छन् ।
म्यानमारको राजनीतिक अस्थिरता, कमजोर पूर्वाधार र सैनिक शासनको नियन्त्रणले उद्धार तथा राहतलाई झन् कठिन बनाइरहेको छ । भूकम्प प्रभावित क्षेत्रहरूमा सहायता पुर्याउन स्थानीय समूहहरूले कठिनाइ झेलिरहेका छन् ।
मानवअधिकार संगठनहरूले राहत टोलीलाई अबिलम्ब स्वतन्त्र पहुँच दिन माग गरेका छन् । ‘सैनिक शासनले मानवीय सहायता रोक्दै त्रास फैलाइरहेको छ,’ ह्युमन राइट्स वाचका एसिया निर्देशक ब्रायोनी लाउ भन्छन् ।
म्यानमारका नागरिकहरू प्राकृतिक र मानवीय दुव्र्यवहारको दोहोरो मारमा छन् । माण्डलेका एक धार्मिक अगुवाले भने, ‘हामीले छिमेकीका शवहरू भग्नावशेषबाट निकालिएको देख्यौँ । यो असहय दृश्य हो ।’
यो विपत्तिले म्यानमारलाई झन् ठूलो संकटमा धकेलेको छ । अन्तर्राष्ट्रिय समुदायबाट राहत आइरहे पनि उद्धारकार्य सुस्त र अपूरो देखिएको छ । म्यानमारको ‘सुनको सहर’ आज ध्वस्त छ । त्रासदीको धुवाँमा हराएको छ ।
विश्व/प्रवास
चीनद्वारा आफ्ना नागरिकलाई अमेरिका यात्रामा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताम्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares