६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

भयानक आगलागीले दाङको प्लाइ उद्योग ध्वस्त, करोडौंको क्षति

द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

काठमाडौं– दाङको घोराही–९ खैरास्थित गणपती प्लाइ उद्योगमा भएको भीषण आगलागी नियन्त्रणमा ल्याउने प्रयास जारी छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो सवा नौ बजेसम्म पनि निभाउन सकिएको छैन ।

स्थानीय प्रशासनका अनुसार आगो नियन्त्रणका लागि दाङका तीनवटा दमकल पर्याप्त नभएपछि बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीबाट समेत दमकल मगाइएको छ । हालसम्म दाङका तीन, बाँकेका दुई, कपिलवस्तुका दुई तथा बर्दिया र रुपन्देहीका एक÷एक दमकल परिचालित छन् । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कार्यालयको अग्नि नियन्त्रक टोली तथा स्थानीय बासिन्दा आगो निभाउन अहोरात्र खटिएका छन् ।

आगलागीको मुख्य कारण खुलेको छैन


गणपती प्लाइ उद्योग सांग्रिला ब्रान्डको प्लाई उत्पादन गर्दै आएको उद्योग हो जुन करिब सात बिघा क्षेत्रफलमा फैलिएको छ । उद्योगमा काठ तथा अन्य ज्वलनशील कच्चा पदार्थ धेरै भएकाले आगो नियन्त्रण गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णप्रसाद लम्सालले जानकारी दिए । आगलागीको कारण अहिलेसम्म खुल्न नसके पनि प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बस्ती जोगाउन विशेष सतर्कता

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी इन्सपेक्टर कविराज रोकायका अनुसार आगो बस्तीमा नफैलियोस् भन्नका लागि चारैतिरबाट नियन्त्रणको प्रयास भइरहेको छ । हालसम्म कुनै मानवीय क्षति भएको जानकारी छैन ।

करोडौंको क्षतिको अनुमान
आगलागीबाट उद्योगका संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । आगो निभिसकेपछि मात्रै वास्तविक क्षतिको विवरण संकलन गरिने भए पनि प्रारम्भिक अनुमान अनुसार करोडौं रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय प्रशासनको अपिल

प्रजिअ लम्सालले आगलागीको स्थितिलाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित रहन र अनावश्यक रूपमा घटनास्थलमा भीड नगर्न आग्रह गरेका छन् । साथै आगो नियन्त्रणपछि घटनाको विस्तृत अनुसन्धान गरिने र आवश्यक सुरक्षात्मक उपायहरू अपनाइने जनाइएको छ ।
 

प्रकाशित : ११ चैत २०८१, सोमबार 10:54
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved