४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

सेनाको विजयपछिको अवस्था

सुडानको ध्वस्त राजधानीमा डर, क्षति र आशा

द नेप्लिज संवाददाता
२० चैत २०८१, बुधबार

Advertisement

‘म धेरै भावुक भएकी छु, फेरि बाँच्न सिक्ने प्रयास गरिरहेको जस्तो लाग्छ । हामी स्वतन्त्र महसुस गरिरहेका छौं, हलुका महसुस गरिरहेका छौं, हावाको गन्धसमेत फरक लाग्छ ।
                                                                                                                                                                                                                            – डुआ तारिक
                                                                                                                                                                                  प्रजातन्त्र समर्थक कार्यकर्ता र सामुदायिक भान्छाघर आयोजक

 

विराटनगर– केही साताको लामो भीषण युद्धपछि सुडानको राजधानी खार्तुमको हृदय अहिले शान्त देखिन्छ । 

इदका दिन स्थलगत रिपोर्टिंगमा पुगेको बीबीसी टोली लेख्छ, ‘हामी त्यहाँ पुगेका थियौं केही दिनपछि जब सुडानी सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बाट पुनः कब्जा गर्यो । यो विजय सेनाले छ महिनासम्म देशको केन्द्रीय भागमा गरेको आक्रमणको परिणति थियो ।’

कुनै बेला सुडानको प्रशासनिक र व्यावसायिक केन्द्र रहेको खार्तुम अहिले ध्वस्त भइसकेको छ । राजधानी पुनः कब्जा गर्नु दुई वर्ष लामो गृहयुद्धको एउटा महत्वपूर्ण मोड थियो । यो द्वन्द्व सेनासँगको शक्तिसंघर्षका कारण सुरु भएको थियो जसले कम्तीमा डेढ लाख मानिसको ज्यान लिएको अनुमान छ ।

इद र त्यसमा विजय, अहिले सडकभरि खुशीको माहोल छ । धेरैले युद्ध समाप्त भएको ठानेका छन् । तर द्वन्द्वको भविष्य अझै स्पष्ट छैन । ‘हाम्रो पहिलो गन्तव्य राष्ट्रपतीय महल थियो, जुन आरएसएफले युद्ध सुरु भएदेखि नै नियन्त्रणमा लिएको थियो,’ बीबीसी लेख्छ ।

भवनको भुइँभरि भग्नावशेष र फुटेका सिसाहरू थिए । कुनै समय सरकारी समारोहका लागि प्रयोग गरिने कुर्सीहरू धुलोले ढाकिएका थिए । भित्ताहरूमा केही चित्रहरू बाँकी थिए । तर अधिकांश चिज लुटिएको थियो—विद्युत् तारहरू समेत निकालिएको थियो ।

सबैभन्दा ठूलो क्षति भवनको अगाडिको भागमा थियो, जुन सेना प्रवेश गरेपछि आरएसएफको ड्रोन आक्रमणको निशानामा परेको थियो । मुख्य प्रवेशद्वार नष्ट भएको थियो । भर्याङमा अझै पनि सुकेको रगत देखिन्थ्यो र झ्यालहरू निल नदीतर्फ खुला थिए ।

‘म वास्तवमै यो गणतान्त्रिक महलभित्र आउँदा उत्साहित थिएँ,’ एक सैनिकले भने,‘यो ठाउँ स्वतन्त्र होस् भनेर समग्र सुडानी जनताले चाहेका थिए । यो हाम्रो प्रतिष्ठाको प्रतीक हो ।'  यसैगरी सेनाका लागि यो शक्ति प्रदर्शनको महत्त्वपूर्ण प्रतीक थियो । सैनिकहरूले ईदको अवसरमा गीत गाए, नाचे र उनीहरूलाई नायकको रूपमा हेरियो । तर यो विजय ठूलो क्षतिको मूल्यमा आएको थियो ।

केन्द्रिय खार्तुमको विनाश चकित पार्ने खालको छ । सरकारी मन्त्रालयहरू, बैंकहरू, अग्ला कार्यालय भवनहरू जलाएर नष्ट पारिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा टुक्राटुक्रा भएका विमानहरू देखिन्छन् ।

बीबीसी टोली अगाडि भन्छ, ‘हामी सहरभित्र सवारी गर्दा नष्ट नभएका विस्फोटकहरू बाटोभरि छरिएका देख्यौं । एक ठाउँमा शरीरका टुक्राहरूको थुप्रो थियो—दुई वटा खप्पर स्पष्ट देखिन्थे । केही पर एउटा जलेको कार अगाडि एउटा शव थियो । हामी सन् १९०८ मा ब्रिटिशद्वारा निर्मित सेन्ट म्याथ्यू क्याथेड्रल पुगेका थियौं ।’

भवनको छानो उस्तै थियो तर पर्खालमा ठूलो प्वाल थियो । जहाँ एउटा गोला बिस्फोट भएको थियो । त्यहाँ कार्यरत एक सैनिकले भने, ‘भगवानको घर नष्ट गरिएको थिएन, तर आरएसफएफका लडाकुहरूले यो अपवित्र बनाए ।’
उनको अनुसार उनको छोरा युद्ध सुरु भएको पहिलो दिन जन्मिएको थियो तर अहिलेसम्म घर गएर उसलाई हेर्ने मौका पाएका थिएनन् । आरएसएफले कूटनीतिक मिशनहरू रहेका क्षेत्रहरू पनि कब्जा गरेका थिए ।

बेलायती दूतावास बाहिर आरएसएफको नारा लेखिएको थियो । भवनको बुलेट–प्रुफ सिसा धेरै हदसम्म सुरक्षित थियो तर गोलीका निशानले भरिएको थियो । यो सुडानको पछिल्लो ७० वर्षमा तेस्रो गृहयुद्ध हो । तर यसपटकको द्वन्द्व देशको मुटु नै चुँड्ने खालको भएको छ । तर सेनामाथि पनि नरसंहारको आरोप लागेको छ । हजारौं युद्धका कारण भाग्न बाध्य भएका छन् ।

‘म फेरि जन्मिएको जस्तो अनुभव गरिरहेको छु,’ ओसमान अल–बशिरले भने । डुआ तारिक जो प्रजातन्त्र समर्थक कार्यकर्ता हुन्, पहिलो पटक इद मनाउँदै थिइन् । ‘हामी स्वतन्त्र महसुस गरिरहेका छौं, हावा नै फरक जस्तो लाग्छ ।’

तर भविष्य अझै अनिश्चित छ । ‘हाम्रो बच्चाहरू मानसिक आघातमा छन्,’ नजवा इब्राहिम भन्छिन्, ‘उनीहरूलाई मनोवैज्ञानिक सहयोग चाहिन्छ ।’ डुआ तारिकले थपिन्, ‘हामीले विगत पाँच वर्षमा जितेका स्वतन्त्रता र अधिकारहरूको के हुन्छ ? नागरिक समाजका लागि भविष्य के होला ?’

तर १६ वर्षीया हाव्वा अब्दुलशफिया भन्छिन्, ‘हामी डाफर ( दारफुर ) का जनताका लागि प्रार्थना गरौं । भगवानले उनीहरूलाई सुरक्षित राखून् ।’ सुडानको युद्धबाट सबैभन्दा प्रभावित क्षेत्र हो डाफर ।

प्रकाशित : २० चैत २०८१, बुधबार 08:32
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved