२७ वैशाख २०८२, शनिबार 10 May 2025, Saturday

भारत–नेपाल सीमामा परिचयपत्र अनिवार्य

द नेप्लिज संवाददाता
२६ वैशाख २०८२, शुक्रबार

Advertisement

विराटनगर — भारतको पहलगाममा भएको आतंकवादी आक्रमणपछि उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले भारतसँग जोडिएका सबै दक्षिण सीमाबाट हुने आवागमनमा यात्रुका लागि परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै सम्बन्धित सुरक्षा निकायलाई निगरानी र अभिलेख व्यवस्थापन कडा बनाउन निर्देशन दिएको छ।

गृह मन्त्रालयको परिपत्रपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयहरूलाई सीमा क्षेत्रमा निगरानी तथा परिचयपत्र जाँच कडा बनाउन भनिएको छ। सशस्त्र प्रहरीका साढे दुई सय बोर्डर आउटपोस्ट (बीओपी) र प्रहरीका ६० भन्दा बढी सीमा युनिटमार्फत अतिरिक्त गस्ती बढाइएको छ।

सरकारले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत–पाकिस्तानबीचको तनाव र त्यसले नेपालमा पार्न सक्ने सम्भावित असरबारे चारवटै सुरक्षा निकायबाट संयुक्त ब्रिफिङ गराइएको थियो। त्यसपश्चात गृहमन्त्री रमेश लेखक नेतृत्वमा बसेको सुरक्षा बैठकले परिचयपत्रबिनाको आवागमनमा रोक लगाउने निर्णय गरेको हो।गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार विकसित घटनाक्रमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न निर्देशन दिइसकिएको छ।

पहलगाम आक्रमण र भारत–पाकिस्तान तनाव

वैशाख ९ मा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो। उक्त आक्रमणको जिम्मा पाकिस्तानस्थित लश्कर–ए–तोयबाका संस्थापक हफिज सईद नेतृत्वको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले लिएको थियो। त्यसयता भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ र हाल स्थिति आक्रमण–प्रत्याक्रमणको चरणमा प्रवेश गरेको छ।

नेपालसँग भारतको करिब १,८८० किलोमिटर लामो खुला सीमा रहेको र त्यहाँबाट हुने अनियन्त्रित आवागमनलाई व्यवस्थापन गर्न चुनौतिपूर्ण हुने भएकाले सरकारले सावधानीस्वरूप परिचयपत्र अनिवार्य गरेको हो। चीनसँगको सिमानामा भने यस्ता चुनौती छैनन् किनभने त्यहाँ भिसाबाहक व्यक्तिमात्रै आउजाउ गर्न पाउँछन्।

घूसपैठ र पूर्वघटनाबाट लिइएको सिकाइ

म्यानमारबाट लखेटिएका रोहिंग्या समुदायलाई गिरोहले भारत हुँदै नेपाल भित्र्याएको घटनादेखि लिएर अफगानिस्तानमा तालिवान सत्तारोहणपछि नेपाली भूमिमा नक्कली कागजातसहित अफगान नागरिक प्रवेश गरेको अतीतका उदाहरणले सरकारलाई गम्भीर बनाएको सुरक्षा अधिकारीहरू बताउँछन्। सन् २०१२ मा भारत हुँदै नेपाल आएका रोहिंग्या शरणार्थीहरूको संख्या ५ सयभन्दा बढी भएको थियो।

नेपाली नागरिकलाई ‘ट्राभल एडभाइजरी’

भारत–पाक तनाव चर्किएको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सरकारले भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकलाई सचेत र सुरक्षित रहन ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ। दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ भने परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीलाई इस्लामावादस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन भनेको छ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ। तत्काल कुनै सहयोग आवश्यक परे दूतावासमा सम्पर्क गर्न सकिनेछ।’
 

प्रकाशित : २६ वैशाख २०८२, शुक्रबार 22:55
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved