२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

समावेशी समाज निर्माणका लागि महिला समानता अपरिहार्य : उपराष्ट्रपति यादव

द नेप्लिज संवाददाता
२४ फागुन २०८१, शनिबार

Advertisement

विराटनगर– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिला समानता अपरिहार्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवस ‘८ मार्च’ को अवसरमा शुभकामना सन्देशमार्फत उपराष्ट्रपतिले देवीको रुपमा पूजित महिलामाथिको विभेद देवगणको अपमान भएको बताएका हुन् । 

‘महिलाको सशक्तीकरण, समावेशीकरण, समानता, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता लगायतको पक्षमा वकालत गर्न यो दिवस विश्वभर मनाइरहेको अवस्थामा महिलाहरुको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा समान एवं सम्मानजनक सहभागिता गराउन सके मात्रै यो दिवसको सार्थकता प्रमाणित हुनसक्छ’ उनले सन्देशमा भनेका छन्, ‘सबैलाई आ–आफ्नो स्थान र स्तरबाट अत्यन्तै संवेदनशील भई यसबारे चिन्तन, मनन गर्न यो दिवसले उत्प्रेरित गर्न सकोस् ।’
 
महिलालाई प्राचीन र वैदिक कालदेखि नै सम्मान र देवत्व प्राप्त भएको सन्देशमा उल्लेख छ । ‘महिलाको तुलना देवी देवताहरु र भगवानसंग समेत गरिन्छ, परिवारमा सन्तानका रुपमा छोरीको जन्म भएपछि घरमा लक्ष्मी भित्रिएको, नव विवाहित बुहारी आए, उनको तुलना लक्ष्मीको आगमनसँग गर्ने परम्परा छ,’ सन्देशमा भनेको छ, ‘जहाँ महिलाको पूजा हुन्छ त्यहाँ देवताको वास हुन्छ । त्यसैले महिलाको सम्मान हामी सबैले गर्न सक्नुपर्दछ ।’

परम्पराको नाममा समाजमा कायम रहेका गलत मान्यता र अभ्यासहरु बालविवाह, बोक्सी, छाउपडी, दहेज पर्थालगायत परित्याग गर्दै महिला, किशोरी तथा बालिकामाथि हुने सबै खाले विभेद, उत्पीडन, हिंसा, अत्याचारको निर्मूल गर्न जरुरी रहेको उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ । 
 
‘आमनागरिकहरुका लागि लैङ्गिक समानता र महिलाहरुको अधिकारबारे जागरुकता अभियान थप सक्रियताका साथ चलाउन आवश्यक छ,’ उनले भनेका छन्, ‘पछिल्लो समय नेपाली महिलाहरुले विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धी र सफलताहरु हासिल गर्नु गौरवको विषय हो । यसमा निरन्तरता कायम राख्दै सफलताको थप उचाईमा पुग्ने प्रयत्न र प्रयासको खाँचो छ ।’ आजको सन्दर्भमा महिला सशक्तीकरण र सबलीकरण एउटा ज्वलन्त प्रश्न रहेको उनको भनाइ छ । महिलाहरुमा जागरुकता र कार्यदक्षता, स्वनिर्णय गर्ने क्षमता अभिवृद्धि गर्न उनले आग्रह गरेको छ । 

‘मुलुकको सर्वाङ्गिण र समरसतापूर्ण विकास तब मात्रै सम्भव छ जब महिलाहरु समाजमा यथोचित स्थान, सम्मान र योग्यताका आधारमा अवसर प्राप्त गर्न सक्ने हैसियतमा पुग्दछन्,’ उनले भनेका छन्, ‘महिलाहरुले देश र समाजको विकास एवं प्रगतिमा सदैव महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनीहरुको साक्षरता, जागरुकता, आत्मनिर्भरता बढाउन समन्वित, संगठित प्रयास जरुरी छ । किनभने आज पनि अधिकांश महिलाहरुलाई आफ्नो संवैधानिक अधिकारहरु र उनीहरुको विकासका लागि बनाइएका शासकीय र गैरशासकीय योजनाहरुबारे पर्याप्त जानकारी नहुनु चिन्ताको विषय हो । महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक र मानसिक रुपमा बलियो बनाउन सक्नुपर्दछ ।’

लैङ्गिक–उत्तरदायी वित्तिय कार्यान्वयन, हरित अर्थ व्यवस्था लगायतमा केन्द्रित हुन यो दिवसले सबैलाई उत्प्रेरित गर्न सकोस् भन्दै उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय महिला दिवसको फेरी पनि हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित : २४ फागुन २०८१, शनिबार 07:09
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved