विराटनगर– गाजा युद्धविरामका लागि भइरहेको प्रयासको हिस्सा स्वरूप हमासले अमेरिकी–इजरायली नागरिक इदान अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको छ। उनी गाजामा रहेका अमेरिकी नागरिकमध्ये जीवित रहेको विश्वास गरिएका अन्तिम बन्धक हुन्।
यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी मंगलबार हुने मध्यपूर्व भ्रमणको पूर्वसन्ध्यामा आएको हो। हमासका अनुसार यो कदम मानवीय सहायता प्रवेशका लागि सम्झौता सहज बनाउन लिइएको हो। इजरायलले गाजालाई ७० दिनदेखि नाकाबन्दीमा राखेको छ।
बीबीसीसँग कुराकानी गर्दै एक वरिष्ठ हमास अधिकारीले समूहले कतारमा अमेरिकी प्रशासनका एक प्रतिनिधिसँग प्रत्यक्ष वार्ता गरिरहेको बताएका थिए।इजरायली प्रधानमन्त्री कार्यालयले अमेरिकी पक्षबाट अलेक्ज्यान्डरको रिहा गर्ने हमासको योजनाबारे जानकारी पाएको पुष्टि गरेको छ। एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई भनेअनुसार ट्रम्पको आगमनअघि सद्भाव प्रदर्शनस्वरूप हमासले उक्त घोषणा गरेको हो।
उनका अनुसार अलेक्ज्यान्डरको रिहाको प्रक्रिया अन्तिम बनाउने उद्देश्यले सोमबार बिहान हमास र मध्यस्थकर्ताबीच अर्को बैठक तय गरिएको छ। रिहाको क्रममा इजरायली सैन्य गतिविधिमा अस्थायी विराम र आकाशे आक्रमणहरू रोक्नुपर्नेछ।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै अलेक्ज्यान्डरको रिहालाई ऐतिहासिक समाचार र सद्भावमा उठाइएको महत्वपूर्ण कदम भनेका छन्।तेल अविवमा जन्मिएका तर न्यु जर्सीमा हुर्केका २१ वर्षीय अलेक्ज्यान्डर गाजा सीमासँगै रहेको इजरायली सेनाको एक विशिष्ट इकाईमा कार्यरत रहँदा गत ७ अक्टोबरको हमास आक्रमणमा पक्राउ परेका थिए।
सन् २०२३ मा हमासले अपहरण गरेका २५१ जनामध्ये ५९ अझै गाजामा रहेको विश्वास गरिन्छ । यसमा २४ जना अझै जीवित हुन सक्ने अनुमान छ। तीमध्ये पाँच जना अमेरिकी नागरिक मानिन्छन् भने अलेक्ज्यान्डरमात्र जीवित रहेको ठानिएको हो।
हमासले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ कि अलेक्ज्यान्डरको रिहा युद्धविराम स्थापनाको प्रयासको हिस्सा हो, जसले खाद्यान्न, औषधि र अन्य आपूर्तिहरू गाजामा प्रवेश गराउन मद्दत गर्नेछ। समूहले अन्ततः युद्ध अन्त्य गर्ने समझदारीमा पुग्ने लक्ष्य राखेको जनाएको छ।
इजरायली प्रधानमन्त्री कार्यालयले वक्तव्य जारी गर्दै अमेरिकी पक्षबाट उक्त जानकारी पाएको र यो कदम अमेरिकीहरूतर्फको सद्भाव संकेतस्वरूप उठाइएको जनाएको छ। साथै यसले थप बन्धकहरूको रिहा सम्बन्धी वार्तालाई अघि बढाउने अपेक्षा गरिएको छ।इजरायलको नीति भनेको युद्धमै वार्ता गर्दै सबै लक्ष्य प्राप्त गर्नु हो भन्ने उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले वार्ता दबाबका बीचमा हुने स्पष्ट पारेको छ।
बन्धक परिवारहरूको अभियान समूह ‘फेमिलिज एन्ड मिसिङ फोरम’ ले अलेक्ज्यान्डरको रिहालाई बाँकी सबै बन्धकहरूलाई छुटाउन व्यापक सम्झौताको सुरुआत हुनुपर्ने भनेको छ। समूहले ट्रम्पले बन्धक परिवारहरूलाई आशा दिएको बताएका छन् । प्रधानमन्त्री नेतन्याहुलाई अब सबैलाई घर फर्काउने आग्रह गरेका छन्।
यसअघि हमासले युद्ध अन्त्य नगरी कुनै सम्झौतामा नजाने अडान लिँदै आएको थियो, जसलाई इजरायली प्रधानमन्त्री नेतन्याहुले बारम्बार अस्वीकार्दै आएका छन्।युद्धविरामका लागि चलिरहेका वार्ताका बीचमा ट्रम्प प्रशासन इजरायली प्रधानमन्त्री नेतन्याहुको अडानबाट असन्तुष्ट भएको धेरै रिपोर्टहरू आएका छन्। नेतन्याहु आफ्नै देशभित्र पनि आलोचनामा छन्, जहाँ धेरैले उनी राजनीतिक लाभका लागि युद्ध लामो बनाएको आरोप लगाइरहेका छन्।
राष्ट्रपति ट्रम्पले मंगलबार मध्यपूर्व पुग्ने कार्यक्रम रहेको छ। इजरायलले ट्रम्पको भ्रमण सकिँदासम्म सम्झौता नभए आफ्नो सैन्य आक्रमण विस्तार गर्ने चेतावनी दिएको छ।इजरायली अधिकारीहरूले गाजाको सम्पूर्ण भूभाग कब्जा गर्ने, प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ जबरजस्ती सार्ने र संयुक्त राष्ट्रसंघ तथा मानवीय सहयोगी संस्थाहरूको विरोधका बाबजुद राहत आपूर्तिको जिम्मा निजी कम्पनीहरूलाई दिने योजना बनाइएको बताएका छन्।
संयुक्त राष्ट्रसंघले यस्तो कदमले मानवीय सहायता हतियारमा रूपान्तरण गर्ने चेतावनी दिँदै सहयोग नगर्ने बताएको छ।७० दिनदेखि इजरायलले खाद्यान्न, औषधि तथा अन्य मानवीय सहायता गाजामा प्रवेश गर्न रोक लगाएको छ। सहयोग संस्थाहरूका अनुसार यसलाई भोकमरीको नीति मानिएको छ, जुन सम्भावित युद्ध अपराध हुनसक्छ।
मार्चको मध्यतिर इजरायली सेनाले फेरि आकाशे आक्रमण र अन्य सैन्य कारबाही सुरु गरेको थियो, जसमा हालसम्म २ हजार ७ सय २० जना प्यालेस्टिनीको मृत्यु भएको छ भनी हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।संयुक्त राष्ट्रसंघका अनुसार वर्षको सुरुआतदेखि गाजामा १० हजार बालबालिकामा तीव्र कुपोषण देखिएको छ। खाद्य मूल्यहरू १ हजार ४ सय प्रतिशतसम्म बढेका छन्।
७ अक्टोबर २०२३ मा हमास नेतृत्वमा दक्षिण इजरायलमा भएको आक्रमणबाट युद्ध सुरु भएको हो, जसमा झण्डै १ हजार २ सय जनाको मृत्यु र २ सय ५० भन्दा बढी अपहरणमा परेका थिए। तीमध्ये ५९ जना अझै बन्धक अवस्थामा छन् । करिब २४ जना जीवित रहेको विश्वास गरिन्छ। इजरायली सैन्य आक्रमणले गाजामा ५२ हजार ८ सय २९ जनाको मृत्यु गराएको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
#गाजा
विश्व/प्रवास
दक्षिण अफ्रिकी गोरालाई अमेरिकामा विशेष स्वागत
द नेप्लिज संवाददाताअष्ट्रेलियाको नयाँ मन्त्रिमण्डलमा आधी महिला
द नेप्लिज संवाददाताअमेरिका–चीन सम्बन्ध सुध्रिने संकेतसँगै डलर र युआनको मूल्य उकालो
द नेप्लिज संवाददाताहमासद्वारा इदान एलेक्जेन्डरको रिहाइ
द नेप्लिज संवाददातायुद्धविराममा अमेरिकाको भूमिकामा मोदी मौन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares