४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

जनमतका नेताले बन्दुक बोकेको तस्बिर सामाजिक सञ्जालमा राखे पछि....

द नेप्लिज संवाददाता
५ फागुन २०८१, सोमबार

Advertisement

विराटनगर– दुई जनाले हातमा बन्दुक बोकेका छन् । माझमा गमक्क परेर जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वखानेपानी मन्त्री अब्दुल खान र जिल्ला इन्चार्ज सेख जमशेद बसेका छन् । यो तस्बिर र यससँग सम्बद्ध भिडियो कुन्नी के सोचेर रौतहट–६ बासी जमशेदले आइतबार फेसबुकमा अपलोड गरे । 

त्यस पछि जे भयो तराई–मधेसका यी मसिहाहरुले सोचेका पनि थिएनन् । नागरिक स्तरबाटै कडा सार्वजनिक आलोचना सुरु भए पछि प्रहरी अगाडि आउनु पर्यो । मधेस तिर यस्तो गर्नु नौलो होइन तर कसले त्यस्तो गतिविधि गर्यो भन्नेमा पनि भर पर्छ । केही दिनअघि मात्रै जन्मदिनमा हातहतियार प्रदर्शन गरेकोमा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो । सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा यस्तो अराजक गतिविधि गर्नेलाई कारबाही हुने कानुनी व्यवस्था छ ।

प्रहरीले पहिलो पटकलाई भनेर उनीहरुलाई सचेत गराए पछि जमशेदले तस्बिर र भिडियो फेसबुकबाट हटाइसकेका छन् । पूर्वमन्त्री जनमत नेता खान शनिबार जमसेदको सबगढास्थित निवास पुगेका थिए । यो मौकामा जनमतका केन्द्रीय सदस्य हरपल सिंह र गुजरा नगरपालिकाका इन्चार्ज मोहम्मद असबुल्लाह पनि उपस्थित थिए । त्यही बेला दुवैतिर सशस्त्र सहयोगी सहित खान र जमसेद  हिंडेको तस्बिर अर्का एक नेताले खिचेका थिए । सामाजिक सञ्जालमा जनमतका नेताहरूलाई कारबाहीको माग गर्दै स्थानीय प्रहरी–प्रशासनको ध्यानाकर्षण गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अधिकृतहरुले जमसेदलाई बोलाएर जानकारी लिंदा दुवै बन्दुकको इजाजत रहेको पाइयो । हतियार सफा गर्दाको दृश्य भएको भन्दै जमशेदले यो मामिलालाई थामथुप पारे । फेसबुकमा पोस्ट गरेको दृश्य भन्ने फिल्मी शैलीको छ । रमाईलोका लागि खिचेर पोस्ट गरेको जनमतका एक नेताले बताए । ‘हाम्रो तिर यस्तो सामान्य हो, आत्मरक्षाका लागि राखेको हतियार हो, कसैलाई क्षति पु¥याउने वा धम्क्याउने नियतले राखेको होइन,’ ती नेताले भने । 

भिडियोमा भने जनमतका नेताहरु सिंह र असबुल्लाहले काँधमा बन्दुक राखेर बीचमा पूर्वमन्त्री खान एवं जमसेदलाई केही समय हिँडाएको देखिन्छ । यसपछि पूर्वमन्त्री खान र जिल्ला अध्यक्ष जमसेद कुर्सीमा बस्छन् । सिंह र असबुल्लाह बन्दुक तेस्र्याएर अंगरक्षकजस्तै दायाँबायाँ उभिन्छन् । जमसेदले ‘राष्ट्रिय उपाध्यक्ष अब्दुल खानसित भेटघाट’ भन्दै हतियारसहित स्वागत गरेर डुलाएको तस्बिर र भिडियो फेसबुकमा राखेका थिए ।

सामाजिक सञ्जालमा राख्नु गल्ती भएको जमसेदले बताए । ‘पाहुनाको आगमन हुँदा इजाजत प्राप्त हतियार सफा गर्दै थिएँ । संजोग पर्न गएको हो, प्रदर्शन गरेको होइन,’ उनले ढाकछोप शैलीमा स्थानीय सञ्चारकर्मीहरुसँग भनेका छन् । अन्य दलहरुले इजाजत रद्द गरेर हतियार प्रदर्शन गर्नेमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले प्रहरीको अनुसन्धान पछि आफू कहाँ मुद्दा आए पछि मात्र केही भन्न सकिने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : ५ फागुन २०८१, सोमबार 11:31
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved