अष्ट्रेलियाको कानुनअनुसार कुनै पनि प्रकारको घरेलु हिंसा सह्य हुँदैन । दोषी पाइएमा कडा कारबाही हुन्छ । यस्तो अवस्थामा विदेशमा रहेका नेपाली नागरिकहरूले स्थानीय कानुनको पालना गर्नेतर्फ सचेत रहन आवश्यक देखिन्छ ।
विराटनगर– घरेलु हिंसामा संलग्न भएको आरोपमा एक नेपाली नागरिकलाई अष्ट्रेलियाले देश निकाला गरेको छ । अष्ट्रेलियाको अध्यागमन विभागले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई नेपाल फिर्ता पठाएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार थापा थरका ती नेपाली नागरिकलाई गत साता थाइ एयरको जहाजमार्फत काठमाडौं फर्काइएको हो । अष्ट्रेलियामा घरेलु हिंसासम्बन्धी कानुन निकै कडा छ । पारिवारिक हिंसा, शारीरिक आक्रमण, मानसिक यातना, वित्तीय नियन्त्रण, धम्की वा जबरजस्ती नियन्त्रणलाई अष्ट्रेलियाली कानुनले गम्भीर अपराधको रूपमा लिन्छ ।
कुनै व्यक्तिले यस्ता कार्यमा संलग्न भएको प्रमाणित भएमा उनलाई कारबाहीको भागीदार बनाइन्छ । यदि ती व्यक्ति विदेशी नागरिक भएमा उनलाई देशनिकाला गर्ने व्यवस्था पनि कानुनमा उल्लेख छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अष्ट्रेलियामा रहेको नेपाली समुदायभित्र घरेलु हिंसाका केही घटनाहरू देखिएका छन् । तिनैमध्ये एक घटनामा संलग्न भएको आरोपमा थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । आवश्यक प्रमाणहरू जुटेपछि अष्ट्रेलियाली सरकारले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार घरेलु हिंसामा मुछिएका थापालाई त्यहाँको प्रहरीले अनुसन्धान गरेपछि नेपाली दूतावाससँग आवश्यक कागजात (ट्राभल डकुमेन्ट)को बन्दोबस्ती गरी डीपोर्ट गरिएको जानकारी पाएका छौं ।थापाले कुन प्रकारको घरेलु हिंसा गरेका थिए भन्नेबारे भने हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । तर अष्ट्रेलियामा कुनै पनि प्रकारको घरेलु हिंसालाई कानुन अनुसार कडा रूपमा हेरिन्छ ।
नेपाली समुदायमा समेत घरेलु हिंसाका घटना हुन थालेका छन् । धेरैजसो घटना रिपोर्ट नगरिने हुँदा पीडितहरूले न्याय पाउन कठिनाइ बेहोर्नु परेको छ । अष्ट्रेलियामा घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम, कानुनी सहायता तथा हेल्पलाइनहरू सञ्चालनमा छन् ।
विशेषगरी परिवारभित्रको झगडा, आर्थिक समस्या, सांस्कृतिक भिन्नता र मानसिक तनावका कारण घरेलु हिंसाका घटनाहरू बढिरहेका छन् । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा मात्र हालै भएको ‘अपरेसन अमेसिया’ अभियान अन्तर्गत ६ सयभन्दा बढी व्यक्ति घरेलु हिंसासम्बन्धी आरोपमा पक्राउ परेका थिए ।
अष्ट्रेलियाबाट निष्कासित भएकाले भविष्यमा पुनः अष्ट्रेलियामा प्रवेश पाउने सम्भावना कम रहन्छ । यदि कुनै व्यक्तिलाई गम्भीर अपराधमा दोषी ठहर गर्दै निष्कासन गरिएको हो भने उनलाई लामो समय वा आजीवन प्रतिबन्ध लाग्न सक्छ ।
नेपाली दूतावास तथा विभिन्न कानुनी संगठनहरूले नेपाली समुदायलाई अष्ट्रेलियाको कानुन पालना गर्न आग्रह गरेका छन् । घरेलु हिंसाका घटना न्यूनीकरण गर्न सचेतनात्मक कार्यक्रम तथा कानुनी सहायता आवश्यक रहेको बताइन्छ ।
घरेलु हिंसाको घटनामा संलग्न भएको भन्दै अष्ट्रेलियाले नेपाली नागरिकलाई निष्कासन गरेको घटनाले नेपाली समुदायलाई ठूलो पाठ सिकाएको छ । अष्ट्रेलियाको कानुनअनुसार कुनै पनि प्रकारको घरेलु हिंसा सह्य हुँदैन । दोषी पाइएमा कडा कारबाही हुन्छ । यस्तो अवस्थामा विदेशमा रहेका नेपाली नागरिकहरूले स्थानीय कानुनको पालना गर्नेतर्फ सचेत रहन आवश्यक देखिन्छ ।
विश्व/प्रवास
चीनद्वारा आफ्ना नागरिकलाई अमेरिका यात्रामा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताम्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares