३० चैत : धार्मिक आस्थाको अदभुत दिवस
विराटनगर– ३० चैत, शनिबार । यो सामान्य दिन होइन । हिन्दु धर्मालम्बी नेपालीका लागि भक्तिभावको दिवस हो । एकैपटक विविध महत्वपूर्ण धार्मिक पर्वहरूको हार्दिक स्वागत गरिने आस्था, संस्कृति र एकताको एक विशेष दिन हो । हनुमान जयन्ती, चैत शुक्ल पूर्णिमा, पूर्णिमा व्रत, वैशाख स्नान प्रारम्भ र काठमाडौँको प्रसिद्ध बालाजु बाइसधारा मेलाले देशभरको वातावरणलाई धार्मिक र आस्थामय बनाएको छ ।
हनुमानको जन्मजयन्ती सनातन धर्मका अनुयायीले मनाउँछन् । चैत्र शुक्ल पूर्णिमाका दिन रामदूत हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख एवं संकटबाट मुक्ति पाइने जविश्वास छ । रामायण कथाहरू, पात्रहरू र धार्मिक घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान, शक्तिशाली र कर्मप्रति समर्पित देवपात्रका रूपमा प्रकट हुन्छन् । रामभक्त बलवान हनुमानलाई बल र साहसको पर्यायका रूपमा पनि अभिव्यक्त गरिएको पाइन्छ ।
पौराणिक कथामा उल्लेख भएअनुसार अञ्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन् । उनी आफूमाथि परेको श्रापको कारणले पृथ्वीलोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन् ।
हनुमानलाई पवन पुत्र पनि भनिन्छ । आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए । त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति र ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायुपुत्र या पवनपुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् ।
यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिन्छ । शनिबार बिहानैदेखि देशका मुख्य हनुमान मन्दिरहरू काठमाडौंको हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिनाथ परिसरको हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकाको पञ्चमुखी हनुमान, भक्तपुरको ठिमी, ललितपुरको सानो गौरा र देशभरका हनुमान मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको देखिन्छ ।
संकटमोचन हनुमानको जन्मजयन्तीका अवसरमा विशेष पूजा, हवन र भजनकीर्तन आयोजना गरिँदैछ । धेरैजसो भक्तजनले व्रत बस्दै हनुमान चालिसा, रामायण पाठजस्ता धार्मिक ग्रन्थको वाचन गरिरहेका छन् । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ ।
यस दिन चन्द्रमाको पूणर्तामा आधारित चैत शुक्ल पूर्णिमा पनि परेको छ । धार्मिक मान्यताअनुसार पूर्णिमाको दिन व्रत बस्नाले पाप क्षय हुने, पुण्य प्राप्ति हुने र चित्त शुद्ध हुने विश्वास गरिन्छ । यस विशेष दिनलाई ‘सत्य र आस्थाको उज्यालो’ भनेर मानिन्छ ।
चैत्र पूर्णिमा पनि भाग्यशाली पूर्णिमा मानिन्छ । भनिन्छ कि यस दिन उपवास बस्नाले इच्छा पूरा हुनुका साथै भगवानबाट ठूलो आशीर्वाद पनि प्राप्त हुन्छ । यसदिन चन्द्रमाको विशेष पूजा गरिन्छ । पुराणका अनुसार चैत्र पूर्णिमामा अनुष्ठानका साथ पूजा गर्दा श्री हरि विष्णुबाट विशेष आशिष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
पूर्णिमा उपवास प्रत्येक महिना आउँछ तर सनातन धर्ममा चैत्र पूर्णिमाको विशेष महत्व छ । चैत्र शुक्लपक्षको पूर्णिमा तिथिलाई चैत्र पूर्णिमा भनिन्छ । चन्द्रदेवले व्रतालुलाई चाहिएको फल दिन्छन् भन्ने मान्यता छ । यस दिन दानको पनि विशेष स्थान छ ।
उपवास र अनुष्ठान आफैँमा शारीरिक एवं मानसिक हिसाबले पनि महत्वपूर्ण हो । पूर्ण चन्द्रको उज्यालो रातमा नै उपवास र अनुष्ठान गर्दा शारीरिक एवं मानसिक स्वच्छताको लागि यसले फाइदा गर्ने बताइन्छ । पुराणमा उल्लेख भए अनुसार यस दिन तुलसी स्नानको विधि छ । माता लक्ष्मीबाट विशेष आशिष पाउनको लागि यो प्रभावकारी हुन्छ ।
यदि कुनै पनि व्रत छिटो गर्ने बाहानामा पूर्ण भक्तिका साथ गरिएको छैन भने त्यसबाट परिणाम प्राप्त हुँदैन । एकाग्र भक्ति अर्थात् मनलाई आफ्नो नियन्त्रणमा ल्याउने काम हो । जसले मान्छेमा हुने बेचैनीलाई कम गर्न मद्दत गर्छ ।
अनुष्ठानमा एकाग्रताको नियम चैत्र पूर्णिमामा झनै पालन गरिन्छ । यसका लागि पूर्णिमाको दिन ब्रह्म मुहूर्तमा नुहाएर उपवासको सुरुवात गर्नुपर्छ । यसदिन देवी लक्ष्मीको पनि पूजा गर्नुपर्छ । यसका लागि ं कनकधारा स्तोत्र पाठ गर्न सकिन्छ ।
रातमा चन्द्रमालाई पानी अर्पण गर्दै पूजा गर्ने चलन छ । पछि खानाले भरिएको भाँडो एक दुःखी व्यक्तिलाई दिँदा चन्द्रदेव प्रसन्न भएर उपवासका सबै इच्छाहरू पूरा हुने आशीष दिन्छन् भन्ने मान्यता छ ।
३० चैतबाट वैशाख स्नानको शुभारम्भ पनि भएको छ । धार्मिक मान्यताअनुसार वैशाख महिनाभरि बिहानै उठेर नदी, खोला, पोखरी वा तालमा स्नान गर्दा मन, वचन र कर्म शुद्ध हुन्छ भन्ने विश्वास छ । विशेषतः त्रिवेणी, बागमती, कोशी, गण्डकी र कर्णाली नदी किनारमा स्नान गर्न आस्थावानहरु पुगिरहेका छन् ।
काठमाडौँको उत्तरपश्चिममा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल बालाजु बाइसधारा क्षेत्र आज विशेष भक्तिभाव र मेलाको रौनकले गुञ्जिएको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ आयोजना हुने बाइसधारा मेला हजारौँ भक्तजनको आकर्षणको केन्द्र बन्ने गर्दछ ।
परम्परा र प्रकृतिको संगम २२ धाराबाट पानी बग्ने अनौठो र परम्परागत संरचना हेर्न, पूजा गर्न तथा नुहाउन आउने भक्तजनको ओइरो छ । परापूर्व कालदेखि जारी यस मेलामा लामा दूरी पार गरेर आउने भक्तजनहरू सहभागी हुन्छन् ।
एकै दिन यति धेरै धार्मिक पर्व र गतिविधि परेको ३० चैतलाई हिन्दु नेपालीहरूले ‘आस्थाको बहार’ का रूपमा लिएका छन् । धार्मिकस्थलहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने स्थानीय समुदाय, गुठी संस्थान र मन्दिर व्यवस्थापन समितिहरूले भक्तजनको सुव्यवस्था मिलाएका छन् । यो दिन नेपाली समाजमा आस्था, भक्ति र परम्पराको पुनर्जागरण भएको दिनका रूपमा स्मरणीय रहन्छ ।
साहित्य/कला
‘भाग्य लेख्नेसँग कुनै रंग थिएन’
प्रविण प्रताप शाह‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares