२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

सार्वजनिक यातायात बन्द हुँदा सडकमा सास्ती

द नेप्लिज संवाददाता
१९ जेठ २०८२, सोमबार

Advertisement

विराटनगर — देशभर सार्वजनिक यातायातको गाडी सोमबार बिहानैदेखि ग्यारेजमै थन्किए। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा यातायात व्यवसायीले अनिश्चितकालीन बन्द घोषणा गरेपछि काठमाडौं उपत्यकादेखि तराई–मधेस र हिमाली भेगसम्म जनजीवन अस्तव्यस्त भएको छ।

कोटेश्वर–जडिबुटी क्षेत्रका सडकमा यातायात व्यवसायीको नाराबाजी र विरोधपछि अवस्था तनावपूर्ण बन्यो। ट्याक्सीले यात्रु बोकेको भन्दै व्यवसायीले जबरजस्ती ओराल्न खोज्दा प्रहरी परिचालन गर्नु पर्‍यो। यात्रुहरू प्रतिक्षालयमै अलपत्र परे, धेरै विद्यार्थी कलेज जान नपाएर फर्किए।

देशभर विद्यालय बस र निजी सवारी साधन केही मात्रामा सञ्चालन भए पनि दैनिक सार्वजनिक सवारीमा भर परेकाहरू सडकमा अलपत्र परिरहेका छन्।गण्डकी प्रदेश सरकारले जेठ १ देखि कार्यान्वयनमा ल्याएको ‘राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली’को विरोधमा यातायात व्यवसायी आन्दोलित भएका हुन्।

यसअघि वैशाख ३१ मा मन्त्रिपरिषदबाट पारित नियमावलीले निजी सवारीलाई कानुनीरूपमा यात्रु ओसारपसार गर्न अनुमति दिएको हो। यो निर्णयपछि सार्वजनिक यातायात व्यवसायीहरू आक्रोशित बनेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसी भन्छन्, ‘सरकारको निर्णयले सार्वजनिक यातायात प्रणालीलाई नै ध्वस्त पार्ने खतरा भएकोले हामी बाध्य भएर सडकमा आएका हौं।’

यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी सवारीले यात्री ओसारपसार गर्न नपाउने कानुनी व्यवस्था थियो। तर २०८१ असार १३ मा सर्वोच्च अदालतको आदेशपछि राइड सेयरिङ कानुनीरूपमा मान्यता पाएको हो।

सार्वजनिक सवारी साधन बन्द भएसँगै राइड सेयरिङ कम्पनीहरूले सेवामा वृद्धि मात्र गरेनन्, मोबाइल एप्समा भाडा समेत दोब्बर बनाए।पठाओ र इन्ड्राइभजस्ता कम्पनीहरूले अगाडिनै ‘पिक आवर’मा भाडा बढाउने नीति अपनाइरहेका थिए। आजको बन्दको मौकामा त कतिपय राइडरले एपमा १८०/१९० रुपैयाँ देखाएर अफलाइनमा २५०–३५० रुपैयाँसम्म माग्न थाले।

सडकमा भेटिएका एक यात्रुको गुनासो यस्तो थियो, ‘हिजो २ सय ५० मा गएको ठाउँमा आज ५ सयभन्दा कममा जानै मानेनन्। एपमै रकम बढेको छ, एसेप्ट नै भएन। बाध्यता छ, तर मनपरी भाडा तिर्नुपरेको छ।’एउटा राइडरले पनि बढेको भाडाको पुष्टि गरे, ‘एपमा आज हिजोको तुलनामा डेढ गुना भाडा छ। यात्रुहरू रिसाएका छन्, तर यो कम्पनीको नीति हो।’

राइड सेयरिङ कम्पनीहरू यसअघि पनि कार्यालय समय र राति थप शुल्क असुल्ने गर्थे। आजको बन्दपछि उनीहरूले एपको मूल्यमै समेत मनपरी बढाएको पाइएको छ। यस्तो खुल्लमखुल्ला ठगी भइरहँदा पनि राज्य नियमनकारी निकायले कारबाही गर्न सकेको छैन।

यातायात व्यवस्था विभाग मौन छ, यात्रुहरू असहाय छन्। सार्वजनिक सवारीको अभावमा बचेको विकल्पले पनि शोषण गरेको देखिन्छ।

आजको दिनले देखायो—न त यातायात व्यवसायीको आन्दोलनले नागरिकको पीडा बुझ्यो, न त राइड सेयरिङ कम्पनीले सहानुभूति देखायो। एकातिर विरोधको नाममा सवारी ठप्प, अर्कोतिर मौकामा चरम व्यापार।

बन्दका घडीमा स्कुल जाने बालबालिका, कलेजका विद्यार्थी, बिरामी बोकेर अस्पताल धाउनेहरू, सबैभन्दा धेरै मारमा परेका छन्।सडक भने आज सस्तो सवारीको होइन, पीडाको प्रतीक बनेको छ।
 

#सडक#मा #अलपत्र

प्रकाशित : १९ जेठ २०८२, सोमबार 08:23
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved