विराटनगर– क्यानडाको भ्यानकुभरमा सडक महोत्सवका क्रममा भीडमा गाडी चलाइएपछि पाँच वर्षीया बालिका सहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । यसमा संलग्न एक व्यक्तिमाथि दोस्रो दर्जाको हत्या आरोपमा आठ वटा मुद्दा दर्ता गरिएको छ ।
आरोपित ३० वर्षीय काइ–जी एडम लोलाई पक्राउ लगतै आइतबार राति नै अदालतमा उपस्थित गराइएको थियो । भ्यानकुभर प्रहरी विभागका अनुसार उनी फेरि हिरासतमा फर्काइएका छन् । प्रहरीले थप अभियोगहरू लगाइने अपेक्षा गरिएको जनाएको छ ।
कार्यवाहक प्रहरी प्रमुख स्टिभ राईले शनिबार ’लापु लापु डे’ महोत्सवमा भएको आक्रमणलाई ‘शहरको इतिहासको सबैभन्दा अँध्यारो दिन’ भनेका छन्। उक्त महोत्सवमा झण्डै एक लाख मानिस सहभागी थिए।
मारिने व्यक्तिहरूको पहिचान अझै सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार उक्त घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् र आक्रमणलाई आतंकवादी कार्यका रूपमा भने लिइएको छैन । प्रहरीले जनाएको छ कि अभियुक्त आक्रमणअघि नै प्रहरीको निगरानीमा थिए। वार्षिक रूपमा आयोजना हुने लापु लापु महोत्सवका आयोजकहरूले भ्यानकुभरको घनिष्ट फिलिपिनी समुदाय ‘शोकमा डुबेको’ र आक्रमणको असर वर्षौंसम्म महसुस गरिने बताएका छन्।
यो आक्रमण शनिबार स्थानीय समयअनुसार बेलुका ८ बजेर १४ मिनेटमा भ्यानकुभरको दक्षिण भागस्थित ईस्ट ४३औं एभेन्यु र फ्रेजर स्ट्रीटमा भएको थियो। शनिबारको घटनाका थुप्रै प्रत्यक्षदर्शीहरूले कालो रंगको एसयूभी गाडी भीडमा पसीकन सबैलाई ठक्कर दिएको क्षणको बयान दिएका छन्। ‘एउटा कार सीधै बाटो हुँदै गइयो र सबैलाई ठक्कर दियो,’ स्थानीय बासिन्दा अबिगेल एन्डिसोले एपीलाई भनिन् ।
उनले भनिन्,‘मैले एकजनालाई मरेको देखेँ, अर्को व्यक्तिलाई जमिनमा देखेँ र जब म कार गएको अन्त्यतिर पुगेँ, त्यहाँ थप घाइतेहरू देख्न सकिन्थ्यो, करिब २० जना जति मानिसहरू भुइँमा थिए, सबै आत्तिएका थिए, चिच्याइरहेका थिए।’
प्रहरीले जनाएको छ कि लो घटनास्थलमै उपस्थित सर्वसाधारणद्वारा नियन्त्रणमा लिएपछि प्रहरीको हिरासतमा पुगेका थिए । अलग्गै समाचार ब्रीफिङमा आइतबार प्रमुख राईले भने, ‘ज्यान गुमाउनेहरुको संख्या आगामी दिन वा सातामा अझै बढ्न सक्छ।’
तर राईले सम्भावित उद्देश्य स्पष्ट पार्न मानेनन्, तर उनले भने, ‘यो घटना आतंकवादी कार्य हो भन्ने कुनै प्रमाण भेटिएको छैन।’ उनका अनुसार आरोपीको मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण प्रहरी र स्वास्थ्यकर्मीहरूसँग विगतमा ‘महत्वपूर्ण सम्बन्ध’ रहेको थियो।
भ्यानकुभरमा आयोजित वार्षिक महोत्सव – जहाँ १ लाख ४० हजारभन्दा बढी फिलिपिनी मूलका क्यानेडेली नागरिकहरू बसोबास गर्छन् – लापु लापुको सम्झनामा आयोजना गरिन्छ, जो १५ औं शताब्दीमा स्पेनी उपनिवेशवादविरुद्ध लडेका फिलिपिनी राष्ट्रिय नायक हुन् । प्रमुख राईका अनुसार महोत्सवअघि नै प्रहरीले सुरक्षा मूल्यांकन गरेको थियो र एउटा विद्यालय पछाडिको सडक आंशिक रूपमा बन्द गरिएको थियो, जहाँ मुख्य कार्यक्रमहरू भइरहेको थियो।तर कुनै उच्च खतरा हुने संकेत थिएन।जहाँ आक्रमण भयो, त्यो सडक खाद्यान्न ट्रकहरूले प्रयोग गरिरहेका थिए र कुनै सुरक्षात्मक अवरोधहरू थिएनन्।
राईले उक्त घटना सहरका अधिकारीहरू र आपतकालीन सेवाका लागि ‘ऐतिहासिक मोड’ बन्ने बताए। अर्को दिन पत्रकार सम्मेलनमा, ‘फिलिपिनो बीसी’ संस्थाका प्रमुख आरजे आक्विनोले भने, ‘शनिबार राति अत्यन्तै कठिन रह्यो र समुदायले यसको असर लामो समयसम्म महसुस गर्नेछ।’ ‘अहिले धेरै प्रश्नहरू उठिरहेका छन्, तर हामी भन्न चाहन्छौं कि हामी शोकमा छौं,’ उनले थपे। आक्रमणपछि भ्यानकुभरको घनिष्ट फिलिपिनी समुदायमा ठूलो भ्रम र अफरातफरी उत्पन्न भएको आक्विनोले बताए। धेरैले एकअर्कालाई फोन गरी आफन्तहरूको अवस्था बुझिरहेका थिए।
‘मेरो जीवनमा यति धेरै पटक फोन बजेको याद छैन,’ उनले भने,‘ धेरै आतंक थियो र जब कसैले फोन उठाउँथ्यो, त्यसपछि राहत महसुस हुन्थ्यो ।’ आइतबार घटनास्थलमा मानिसहरूले फूल अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। डोना नाम गरेकी एक महिला, जो महोत्सवमा सहभागी थिइन्, उनले बीबीसीलाई भनिन्, ‘मानिसहरू यहाँ रमाइलो गर्न र उत्सव मनाउन आएका थिए। यो साँच्चिकै दुःखद छ।’
यो आक्रमण क्यानडाको संघीय निर्वाचन (२८ अप्रिल) भन्दा केही दिनअघि भएको हो। जसले गर्दा प्रधानमन्त्री मार्क कार्नीले क्याल्गरी र रिचमन्डमा तय भएका लिबरल पार्टी समर्थकहरूको ठूलो भेला रद्द गरे। क्यानाडाली जनतालाई सम्बोधन गर्दै टेलिभिजनमार्फत कार्नीले आफू भावविह्वल र स्तब्ध भएको बताए । आइतबार साँझ उनी घटनास्थल पुगेका थिए, जहाँ उनले मैनबत्ती बालेर स्थानीय समुदायसँग मौन श्रद्धाञ्जली अर्पण गरे ।
कार्नीले पीडित परिवारहरूलाई भेटे र एक चर्चमा आयोजना गरिएको प्रार्थना सभामा फूल अर्पण गरे।मुख्य विपक्षी उम्मेदवार पियर पोइलिएभ्रेले चुनाव प्रचार जारी राखे, तर मिसिसागा (टोरन्टोको उपनगर) मा अचानक चर्च पुगे र फिलिपिनी समुदायसँग भेटघाट गरे। आफ्नी पत्नी एना पोइलिएभ्रे सँगै देखिएका कन्जरभेटिभ नेताले श्रद्धाञ्जली व्यक्त गर्दै भने, ‘म तपाईंहरूसँग ऐक्यबद्धता प्रकट गर्न यहाँ आएको हुँ ।’
त्यसैगरी, ब्रिटिश कोलम्बिया न्यू डेमोक्रेटिक पार्टीका नेता डेभिड एबीले आफू आत्तिएको र हतास भएको प्रतिक्रिया जनाए । न्यू डेमोक्र्याट्सका जगमीत सिंह, जो शनिबार लापु लापु महोत्सवमा सहभागी भएका थिए, उनले आइतबारका आफ्नो निर्धारित कार्यक्रमहरू परिवर्तन गरेका थिए ।
उनले भने, ‘त्यति धेरै खुशी एकाएक यति हिंसात्मक ढंगले हरण भएकोे देख्दा हृदय टुट्यो।’ ‘मैले त्यहाँ परिवारहरूलाई सँगै बसेको देखेँ, बालबालिकाहरू नाचेका देखेँ, संस्कृतिमा, इतिहासमा र समुदायमा गर्व देखेँ,’ उनले थपे ।
विश्व/प्रवास
अमेरिकामा न्यायाधीशले आफूलाई कानुनभन्दा माथि ठान्दा...
माइक वेन्डलिङ/बीबीसी न्यूजयौन दुर्व्यवहारविरुद्धकी योद्धा भर्जिनिया जिउफ्रेद्वारा आत्महत्या
क्रिस्टल हेस/ बीबीसी न्यूजइरानको बन्दरगाहमा भीषण विस्फोट : २८ जनाको मृत्यु, ८०० घाइते
द नेप्लिज संवाददातापुटिनद्वारा युक्रेनमा ८ मेदेखि तीनदिने युद्धविराम घोषणा
द नेप्लिज संवाददाताअमेरिकी हवाई आक्रमणमा यमनमा ६८ अफ्रिकी आप्रवासीको मृत्यु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares