वासिङ्टन– अमेरिकाको विस्कन्सिन राज्यकी एक न्यायाधीशलाई गैरकानुनी आप्रवासीलाई पक्राउबाट जोगाउन खोजेको आरोपमा संघीय एजेन्टहरूले पक्राउ गरेका छन् । एफबीआई निर्देशक काश पटेलले मिल्वाउकी काउन्टी सर्किट अदालतकी न्यायाधीश हान्ना डुगानले जानाजान आप्रवासन अधिकारीलाई भ्रममा पारेको आरोप लगाउँदै उनलाई पक्राउ गरिएको बताएका छन् ।
उनीमाथि अधिकारीहरूले पक्राउ गर्न खोजेको मेक्सिकन नागरिकलाई अदालतबाट भगाउन खोजिएको बताइएको छ । ‘हाम्रो एजेन्टहरूले दौडिएर अभियुक्तलाई समाते र अहिले उनी हिरासतमा छन्,’पटेलले एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, ‘तर न्यायाधीशको अवरोधका कारण सार्वजनिक सुरक्षामा खतरा बढेको थियो ।’
शुक्रबार भएको प्रारम्भिक सुनुवाइमा डुगानका कानुनी प्रतिनिधिले भने, ‘न्यायाधीश डुगानलाई पक्राउ गरिएकोप्रति गहिरो आपत्ति छ र उनी त्यसको विरोध गर्छिन् । यो सार्वजनिक सुरक्षाको नाममा गरिएको कदम होइन ।’
उनलाई न्यायिक प्रक्रियामा अवरोध पुर्याएको र एक व्यक्तिलाई गिरफ्तारीबाट जोगाएको अभियोग लगाइएको छ । दुवै अभियोगमा दोषी ठहरिएमा अधिकतम ६ वर्ष जेल सजाय हुन सक्छ । अवरोधको अभियोगमा ५ वर्षसम्मको जेल सजाय र २.५ लाख डलर जरिवाना हुन सक्छ भने गिरफ्तारीबाट जोगाएको अभियोगमा एक वर्षसम्मको जेल सजाय र एक लाख डलर जरिवाना हुन सक्छ ।
डुगानलाई हाल अदालतको अर्को सुनुवाइ १५ मेसम्मको लागि धरौटीमा रिहा गरिएको छ । घटनाको सुरुवात १७ अप्रिलमा भएको हो जब एक आप्रवासन मेक्सिकन नागरिक एडुआर्डो फ्लोरेस–रुइजविरुद्ध पक्राउ पूर्जी जारी भयो । फ्लोरेस–रुइजमाथि घरेलु हिंसासम्बन्धी तीनवटा सामान्य कुटपिट मुद्दा दर्ता थिए ।
भोलिपल्ट १८ अप्रिलमा फ्लोरेस–रुइज अदालतमा उपस्थित भए । त्यही बेला एफबीआई, यूएस आप्रवासन तथा सीमाशुल्क कार्यान्वयन (आईसीई) र लागूपदार्थ नियन्त्रण निकाय (डीईए) का ६ जना अधिकारीहरू उनलाई पक्राउ गर्न अदालत पुगे ।
एफबीआईको भनाइ अनुसार अधिकारीहरू अदालतबाहिर पर्खिरहेका थिए । तर न्यायाधीश डुगानले उनीहरूको उपस्थितबारे थाहा पाएपछि क्रोधित हुँदै यो अवस्था हास्यास्पद भएको टिप्पणी गर्दै कार्यकक्ष (चेम्बर) भित्र गइन् ।
त्यसपछि उनी र अधिकारीबीच पक्राउ पूर्जीको प्रकारबारे विवाद भयो । न्यायाधीशले अधिकारीहरूलाई पक्राउ पूर्जी जारी गर्ने काउन्टीका मुख्य न्यायाधीशको कार्यालयमा जान निर्देशन दिइन् ।
त्यो बेला डुगानले अभियुक्त फ्लोरेस–रुइज र उनका वकिललाई अदालतको जूरी सदस्यहरूका लागि बनाइएको पछाडिको ढोका प्रयोग गरी बाहिर जान सहयोग गरेकी थिइन् । तर दुई अधिकारी भने अझै नजिकै थिए र उनीहरूले फ्लोरेस–रुइज भाग्ने प्रयास गरिरहेको देखे । सन् २०१३ मा अमेरिकाबाट डिपोर्ट गरिएका फ्लोरेस–रुइज अदालतबाट निस्कन सफल भए पनि केही मिनेटमै दौडिएर पक्राउ गरियो ।
डुगानको गिरफ्तारीको एक दिनअघि मात्र न्यू मेक्सिकोमा एक पूर्व न्यायाधीशलाई एक भेनेजुएली गिरोहका सदस्यलाई आफ्नो घरमा लुकाएको आरोपमा पक्राउ गरिएको थियो । संयुक्त राज्यकी अटर्नी जनरल प्याम बन्डीले फक्स न्यूजमा भने, ‘केही न्यायाधीशहरू आफैलाई कानुनभन्दा माथि ठानिरहेका छन् । यदि तपाईंले प्रमाण नष्ट गर्नुभयो, न्यायमा अवरोध गर्नुभयो र घरेलु हिंसाका पीडितहरू अदालतमा बसिरहँदा अभियुक्तलाई पछाडिको ढोकाबाट भगाउनुभयो भने, त्यो स्वीकार्य हुँदैन ।’
यो घटनामा राजनीतिक प्रतिक्रिया पनि विभाजित देखिएको छ । विस्कन्सिनकी डेमोक्र्याट सिनेटर टैमी बाल्डविनले यसलाई गम्भीर र चरम कदम भनेकी छन् । उनले भनिन्, ‘हामी राजतन्त्रमा होइन, कानूनद्वारा सञ्चालित लोकतान्त्रिक देशका नागरिक हौं ।’
मिल्वाउकीका मेयर काभालियर जोनसनले पनि यसलाई नाटकबाजी भन्दै आलोचना गरे र अदालत प्रक्रियामा यसले नकारात्मक असर पार्ने चेतावनी दिए । विपक्षी रिपब्लिकन सिनेटर रोन जोनसनले भने, ‘सबैले संघीय कानुन कार्यान्वयन निकायसँग सहकार्य गर्नुपर्छ र तिनीहरूको कार्यमा अवरोध गरेर सार्वजनिक सुरक्षामा खतरा ल्याउनु हुँदैन ।’
डुगान सन् २०१६ मा पहिलोपटक न्यायाधीशमा निर्वाचित भएकी थिइन् । २०२२ मा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी थिइन् । विस्कन्सिनमा न्यायाधीश निर्वाचनहरू गैर–दलगत मानिन्छ, यद्यपि उनलाई डेमोक्र्याट मेयरको समर्थन प्राप्त थियो ।
यसअघि सन् २०१९ मा, ट्रम्प प्रशासनको समयमा म्यासाचुसेट्सकी एक न्यायाधीश सेल्ली एम. जोसेफमाथि पनि यस्तै आरोप लागेको थियो । उनले एक गैरकानुनी आप्रवासीलाई अदालतको लकअपबाट आफ्ना सामान लिन अनुमति दिएकी थिइन् । यस पछि ती व्यक्ति अदालतबाट निस्केका थिए । ती व्यक्तिमाथि लगाइएको अवरोधको आरोप सन् २०२२ मा खारेज गरिएको थियो । तर उनीमाथि नैतिकता सम्बन्धी उजुरी अझै प्रक्रियामा छ ।
विश्व/प्रवास
जम्मू–कश्मीरमा पर्यटकमाथि आक्रमणपछि मोदीको भ्रमण छोटियो
द नेप्लिज संवाददातापाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छोड्न आदेश
द नेप्लिज संवाददातापाकिस्तानले दियो भारतलाई कडा जवाफ, हवाई र स्थल सीमा बन्द गर्यो
द नेप्लिज संवाददाताभारत–पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान र कूटनीतिक संकट
द नेप्लिज संवाददातायौन दुर्व्यवहारविरुद्धकी योद्धा भर्जिनिया जिउफ्रेद्वारा आत्महत्या
क्रिस्टल हेस/ बीबीसी न्यूजDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares