विराटनगर– कार्यपालिका बैठकको दुई प्रस्तावमा असहमति जनाए पछि मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्ष चढ्ने सरकारी सवारीसाधनको चाबी खोसेका छन् । गत उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेर माझी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उक्त बैठकमा मंगलबार ६ प्रस्ताव राखिएको थियो । तीमध्ये दुई प्रस्तावमा असहमति जनाउँदा अध्यक्षले गाडीको चाबी खोसेको उपाध्यक्ष गुणावतीदेवी चौधरीको आरोप छ । कांग्रेस र एमाले पक्षका जनप्रतिनिधिले बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति जनाएका थिए । अध्यक्षले माओवादी कार्यकर्ता खटाएर चाबी खोसेको उपाध्यक्ष चौधरीको आरोप छ ।
माझीले अध्यक्षको पदभार सम्हालेदेखि नेपाली कांग्रेस र नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन् । माघ २९ गतेको कार्यपालिका बैठकका निर्णय पनि कार्यान्वयन गर्न उच्च अदालत विराटनगरले रोक लगाएको छ ।
नियम अनुसार कार्यपालिका सदस्यलाई तीन दिनअगाडि बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीले अदालतमा रिट दायर गरेकी थिइन् । ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडाले पनि मोटरसाइकलको चाबी खोसिएको आरोप लगाएका छन् । ग्रामथान कार्यपालिकामा कांग्रेस–एमालेबाट निर्वाचत जनप्रतिनिधिको बहुमत छ ।
उनीहरूले बक्राहासहितका खोलाबाट हुनै अवैध उत्खननमा अध्यक्षको मिलेमतो रहेको भन्दै विरोध गर्दै आएका छन् । अध्यक्ष माझीले स्थानीय स्रोत साधनको प्रयोग गरेर पालिकाले आम्दानी गर्ने बाटो नै रोकेको हुनाले जनप्रतिनिधि चढ्ने सरकारी गाडीको चाबी खोसेको बताए । जनहितको बहुपोषण कार्यक्रम र आम्दानीको मुख्य स्रोत खोलाको बालुवा ठेक्का अवरुद्ध गरेर पालिकालाई निस्क्रिय बनाइएको उनको आरोप छ ।
‘बक्राहासहितका खोलाबाट हुने एक करोडभन्दा बढीको आम्दानी पालिकाको मुख्य स्रोत हो, आम्दानी नै नभए पछि गाडीमा इन्धन हाल्ने खर्च कहाँबाट आउँछ ? काम नगर्ने, अनि गाडीमा बसेर हात हल्लाएर हुन्छ,’अध्यक्ष माझीले भने । उनको अनुसार सशर्त अनुदानमा सञ्चालन हुने दुई करोडभन्दा माथिको बहुपोषण कार्यक्रममा पनि कांग्रेस–एमालेका जनप्रतिनिधिहरुले सहमति दिएनन्, कुनै कामै नगर्ने भन्ने गाडी केको लागि चाहियो ? गाडीमा हाल्ने इन्धन खर्च कसले दिने ?’ अध्यक्ष माझीले पार्टीगत गुटबन्दी वा गठबन्धन बनाएर गरिने यस्ता विरोधले जनतालाई बेफाइदा पुर्याउने बताए । ‘जुन दलबाट जितेर आए पनि जनप्रतिनिधि हो, पार्टीका लागि होइन जनताका लागि काम गर्ने हो ,’उनले भने,‘कामै नगर्नेलाई सरकारी गाडी किन चाहियो ?’
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares