ओली–मोदी भेटवार्ता
काठमाडौँ – थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनका अवसरमा शुक्रबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तापछि दुवै नेताले सामाजिक सञ्जालमार्फत यसलाई ‘सकारात्मक’ र ‘फलदायी’ भएको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा नेपाली, हिन्दी र अंग्रेजी गरी तीन भाषामा सन्देश पोस्ट गर्दै भेटलाई ‘सार्थक र सकारात्मक’ भएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाली र अंग्रेजी भाषामा पोस्ट गर्दै नेपाल–भारत सम्बन्धलाई प्राथमिकता दिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले मोदीलाई ‘मेरो प्रिय मित्र’ भनेर सम्बोधन गर्दै लेखेका छन्, ‘मेरो प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो । हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु ।’
प्रधानमन्त्री मोदीले पनि भेटवार्तालाई फलदायी भएको उल्लेख गर्दै भनेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’
मोदीका अनुसार भेटमा नेपाल–भारत मित्रताका विभिन्न पक्षहरूमा छलफल भएको छ । विशेषगरी ऊर्जा, भौतिक तथा डिजिटल कनेक्टिभिटी, संस्कृति र प्रविधि सम्बन्धी विषयहरू केन्द्रमा रहे । मोदीले बिम्स्टेक शिखर सम्मेलनमा विपद् व्यवस्थापन र समुद्री यातायातजस्ता क्षेत्रहरूमा भएका उपलब्धिहरूलाई पनि छलफलको विषय बनाइएको उल्लेख गरे ।
ओली र मोदीबीच यो वर्षको दोस्रो भेटवार्ता हो । यसअघि असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला उनीहरूको भेट भएको थियो । बैंकक भेटवार्ताले भारत–नेपाल सम्बन्ध अझै मजबुत बनाउने संकेत गरेको छ । नेपाल र भारतबीच हालै ऊर्जा व्यापारमा सहमति भएको छ भने सीमा व्यापार र भौतिक पूर्वाधार विस्तारलाई पनि दुबै देशले उच्च प्राथमिकता दिइरहेका छन् । ओली–मोदी संवादले आगामी दिनमा यी क्षेत्रहरूमा थप सहकार्य हुने अपेक्षा गरिएको छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares