१४ वैशाख २०८२, आइतबार 27 Apr 2025, Sunday

पाकिस्तानले दियो भारतलाई कडा जवाफ, हवाई र स्थल सीमा बन्द गर्यो

द नेप्लिज संवाददाता
११ वैशाख २०८२, बिहीबार

प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बिहीबार इस्लामाबादमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक

Advertisement

विराटनगर– पहलगाममा पर्यटकमाथिको आक्रमणपश्चात भारतले पाकिस्तानविरुद्ध चालेको कूटनीतिक तथा सुरक्षात्मक कदमको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध कडा निर्णयहरू सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बिहीबार इस्लामाबादमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले भारतसँग भएका सबै द्विपक्षीय सम्झौता निलम्बन गर्ने, हवाई तथा स्थल सीमा बन्द गर्ने र व्यापार स्थगन गर्ने निर्णय गरेको हो ।भारतले आफ्ना रक्षा सल्लाहकार तथा सहायकलाई फिर्ता बोलाएजस्तै पाकिस्तानले पनि भारतका रक्षा सल्लाहकारहरूलाई देश छाड्न भनेको छ । भारतीय कूटनीतिक स्टाफको संख्या पनि घटाएर ३० अप्रिल २०२५ बाट ३० जनासम्म सीमित गरिने जनाइएको छ ।

पाकिस्तानी पक्षले भारतको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसअन्तर्गत पाकिस्तानलाई प्राप्त पानीको प्रवाह अवरुद्ध गर्न खोजिएको खण्डमा त्यसलाई युद्धको कार्य मानिने चेतावनी दिएको छ । इस्लामाबादको वक्तव्यमा भारतले अन्तर्राष्ट्रिय सम्मेलन, संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्ताव तथा अन्य दायित्वहरूको उल्लंघन गरिरहेको भन्दै भारतले कश्मीरसम्बन्धी राष्ट्रसंघका प्रस्ताव पालना नगरेसम्म शिमला सम्झौतासहित सबै सम्झौता निलम्बन गरिने उल्लेख छ ।

पाकिस्तानले भारत स्वामित्व वा सञ्चालनमा रहेका सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र तत्काल बन्द गर्ने निर्णय गरेको छ । साथै वाघा सीमा पनि तत्काल बन्द गरिने बताइएको छ । तर वैध कागजात लिएर भारत पुगेका मानिसहरू ३० अप्रिलसम्म पाकिस्तान फर्कन पाउनेछन् ।

पाकिस्तानले सिख तीर्थयात्रीबाहेक सार्क भिसा छुट अन्तर्गत भारतका सबै नागरिकलाई दिइएका भिसा रद्द गरिएको जनाएको छ । यस्ता भिसामा पाकिस्तानमा रहेका नागरिकहरूलाई ४८ घण्टाभित्र देश छाड्न भनिएको छ ।
पाकिस्तानले भारतसँग हुने सबै प्रकारका व्यापारसमेत तुरुन्त निलम्बन गर्ने बताएको छ, जुन तेस्रो देशमार्फत हुने व्यापारमा पनि लागू हुने बताइएको छ ।

यसैबीच भारतले पनि बिहीबार पाकिस्तानका लागि भिसा सेवा तुरुन्तै लागू हुने गरी निलम्बन गरेको जनाएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार २७ अप्रिलदेखि पाकिस्तानका नागरिकलाई जारी गरिएका सबै वैध भिसा रद्द हुनेछन् । मेडिकल भिसा मात्र २९ अप्रिलसम्म वैध हुने जनाइएको छ ।

भारतले आफ्ना नागरिकलाई पाकिस्तान यात्रा नगर्न आग्रह गरेको छ । साथै हाल पाकिस्तानमा रहेका भारतीय नागरिकलाई सकेसम्म छिटो फर्कन सल्लाह दिइएको छ । जम्मू–कश्मीरको पहलगाममा मंगलबार आतंककारी आक्रमणमा एक नेपालीसहित २८ जनाको मृत्यु भएको थियो । त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा मामिलासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठक बसेको थियो । भारतका विदेश सचिव विक्रम मिस्रीले उक्त आक्रमणको सीमापारसँग सम्बन्ध भएको जनाएका थिए । यस पछिको प्रतिक्रियामा दुवै मुलुकहरुबाट यी निर्णयहरू सार्वजनिक गरिएको हो ।
 

प्रकाशित : ११ वैशाख २०८२, बिहीबार 18:53
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved