२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

भारतीय विश्वविद्यालयमा नेपाली छात्राको रहस्यमय मृत्यु, पाँच जनाविरुद्ध जाहेरी, मुख्य आरोपित फरार

द नेप्लिज संवाददाता
२० जेठ २०८२, मङ्गलबार

Advertisement

विराटनगर – भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्यु प्रकरणमा एक छात्रसहित पाँच जनाविरुद्ध किटानी जाहेरी परेको छ। मृतककी बुबा श्यामप्रसाद साहले मुख्य आरोपितको रूपमा भारत बिहारको बेतिया बैरियाका आयुष रञ्जन र किटमा अध्ययनरत चार नेपाली छात्रालाई सहयोगीका रूपमा भुवनेश्वर प्रहरीमा जाहेरी दिएका हुन्।

मई १९, २०२५ मा भारतीय न्यायसंहिता २०२३ को धारा १०८ र ३(५) अनुसार दर्ता भएको उक्त एफआईआरपछि भुवनेश्वर प्रहरीले अनुसन्धान प्रारम्भ गर्दै मुख्य आरोपित आयुष रञ्जनको खोजी थालेको हो। प्रारम्भिक अनुसन्धानमा आयुष हाल देहरादूनस्थित ‘इन्स्टिच्युट अफ चार्टर्ड फाइनान्सियल अनालाइसिस अफ इन्डिया (आईसीएफएआई) मा अध्ययनरत थिए। तर प्रहरीका अनुसार उनी हाल फरार छन्।

भुवनेश्वरस्थित इन्फोसिटी पुलिस स्टेसनले मई २३ मा उक्त विश्वविद्यालयलाई पत्र पठाउँदै आयुषको अवस्थाबारे जानकारी दिन आग्रह गरेको छ। पत्रमा भनिएको छ, ‘सर्लाही कविलासी–८, हरिपुरकी १९ वर्षीया प्रिसा साहको मृत्यु प्रकरणमा आयुष रञ्जन आरोपित छन्। उनी प्रिसामाथि गरेको ह्यारेसमेन्टका कारण आत्महत्या गर्न बाध्य भएकी हुन् भन्ने उल्लेख जाहेरीमा गरिएको छ।’

छानबिनका क्रममा आयुष आफ्नो घर र छात्रावास दुवै स्थानबाट फरार रहेका कारण प्रहरीले उनका बारेमा थप विवरण संकलनका लागि उक्त विश्वविद्यालयलाई औपचारिक अनुरोध गरेको हो। यता किटमा अध्ययनरत चार नेपाली छात्रामाथि पनि सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ। हालसम्म पोस्टमार्टम रिपोर्टमा कुनै प्रत्यक्ष संदेहजनक तथ्य भेटिएन भने पनि प्रिसाको मोबाइल र ल्यापटपको फरेन्सिक विवरणलाई अनुसन्धानको आधार बनाइएको छ।

प्रिसा साह वैशाख १८ मा किट विश्वविद्यालयको क्युसी ०४ होस्टेलको कोठामा मृत भेटिएकी थिइन्। यसअघि यही विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृति लम्सालको पनि रहस्यमय मृत्यु भएको थियो। तीन महिनाको छोटो अवधिमा दुई नेपाली छात्राको शंकास्पद मृत्यु भएपछि किटमा अध्ययनरत करिब १ हजार ३ सय नेपाली विद्यार्थी तनावमा छन्।

मृतकका बुबा श्याम साहले किट प्रशासनमाथि गम्भीर लापरवाहीको आरोप लगाउँदै भनेका छन्, ‘आयुषले प्रिसालाई निरन्तर ह्यारेस गरेकै कारण छोरीले आत्महत्या गरिन्। हामीले किट प्रशासनलाई जानकारी गराउँदा पनि उनीहरू मौन बसे।’ प्रहरीले भने हालसम्म चार छात्रासँग बयान लिइसकेको र अनुसन्धानलाई तीव्र बनाइएको बताएको छ।

भुवनेश्वर प्रहरी कमिस्नर डा. सुरेशदेव दत्त सिंहले भने, ‘जाहेरीको आधारमा अनुसन्धान भइरहेको छ। प्रारम्भिक तथ्यबाट केही कुरा स्पष्ट भएका छन्, अब आरोपितलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान हुनेछ।’ उनले थपे, ‘अपराधमा देशको सीमा हुदैन, अपराधीलाई कानुनी दायरामा ल्याइन्छ।’

नेपाल सरकार र दिल्लीस्थित नेपाली दूतावासको कमजोर उपस्थिति भने मृतकको परिवार र भारतीय क्याम्पसमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि चिन्ताको विषय बनेको छ। प्रिसाको मृत्यु एक महिनाभन्दा बढी समय बितिसक्दा पनि नेपाली दूतावासले विश्वविद्यालय प्रशासनसँग अवस्था बुझ्न बाहेक पीडित परिवार वा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेको छैन। विद्यार्थीहरूका अनुसार न त उडिसामा कोही सरकारी प्रतिनिधि पुगेका छन्, न त दूतावासले नेपाली विद्यार्थीहरूसँग कुराकानी गरेको छ।

यता प्रहरी कमिस्नरको कार्यालयले भने किट विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरूसँग परामर्श कार्यक्रम सुरु गरेको छ। डा. सिंहका अनुसार विदेशी विद्यार्थीलाई सुरक्षित वातावरण दिन काउन्सिलिङमार्फत हामी प्रयासरत छौं।

भारतमा प्रवेशाज्ञा नचाहिने, सस्तो शुल्क र नजिकको संस्कृतिका कारण भारतीय विश्वविद्यालय नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य बनेका छन्। तर पछिल्ला घटनाहरूले यो सम्बन्धमा फाटो ल्याउने संकेत देखिएको छ। किट प्रशासन र नेपाल सरकारको भूमिका प्रति असन्तोष जनाउँदै विद्यार्थीहरूले अब भारतमा अध्ययन गर्दा सुरक्षा र समर्थनको प्रत्याभूति आवश्यक भएको बताएका छन्।

#प्रिसा# साह

 

प्रकाशित : २० जेठ २०८२, मङ्गलबार 08:19
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved