काठमाडौँ — नेपाल र भारतबीच इनरुवा–न्यु पूर्णिया तथा दोधोहरा (लम्की)–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ४०० केभी क्षमताका दुई प्रसारण लाइन निर्माणका लागि मंगलबार काठमाडौंमा सम्झौता सम्पन्न भएको हो ।
सम्झौता कार्यक्रममा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवास मन्त्री मनोहरलाल खट्टर सहभागी थिए । भारतीय मन्त्री खट्टर ऊर्जामन्त्री खड्काको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा छन् ।
सम्झौता अनुसार इनरुवा–न्यु पूर्णिया र दोधोहरा–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गरिनेछ । कम्पनीमा सम्बन्धित देशको ५१ प्रतिशत शेयर स्वामित्व हुनेछ भने बाँकी ४९ प्रतिशत अर्को देशको हुनेछ । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र भारतको पावर ग्रिड कर्पोरेशन लिमिटेडका निर्देशक डा. यतिन्द्र दुवेदीले हस्ताक्षर गरे।
कार्यक्रममा ऊर्जा मन्त्री खड्काले नेपाल–भारत ऊर्जा सहकार्यलाई ‘साझा समृद्धिको प्रतीक’को रूपमा व्याख्या गर्दै यी प्रसारण लाइनहरूलाई संरचना मात्र नभइ आपसी विश्वास र दीगो विकासको साझा यात्रा भएको उल्लेख गरे । उनले अरुण–३, लोअर अरुण, अरुण–४, फुकट कर्णाली, अपर कर्णाली, एसआर–६ र वेस्ट सेतीजस्ता जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।
साथै उनले सन् २०२४ नोभेम्बर १५ देखि नेपाल–बंगलादेश विद्युत व्यापार सञ्चालन गर्न भारतले दिएको सहुलियतको पनि प्रशंसा गरे । भारतीय मन्त्री खट्टरले ऊर्जा क्षेत्रमा भइरहेको प्रगति नेपाल–भारत सम्बन्धको सुदृढीकरणको संकेत भएको बताए । उनले सन् २०२२ मा दुई देशबीच जारी गरिएको ‘संयुक्त दृष्टिकोण पत्र’को स्मरण गर्दै संयुक्त उत्पादन, सीमापार पूर्वाधार विकास र विद्युत् व्यापारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गरे ।
खट्टरले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भइसकेको जनाउँदै इनरुवा–पूर्णिया र लम्की–बरेली जस्ता नयाँ परियोजनाले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै, नेपाली विद्युत भारत हुँदै बंगलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।
इनरुवा–न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ करिब २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ । दोधोहरा–बरेली प्रसारण लाइन नेपालतर्फ ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर लम्बाइको हुनेछ । यी संरचनाबाट भारत–नेपाल विद्युत् कारोबार अझ सहज र भरपर्दो हुने बताइएको छ ।
यसअघि मन्त्री खट्टरले संखुवासभास्थित निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका थिए । उनले ऊर्जा मन्त्री खड्कासँग आयोजनाको पावर हाउस र बाँध क्षेत्रको अवलोकन गर्दै निर्माण कम्पनीसँग प्रगति विवरण लिएका थिए । उक्त अवसरमा ‘युनिट–२’ को उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षारोपण गरिएको थियो ।
ऊर्जामन्त्री खड्काले अरुण तेस्रो आयोजना नेपालका लागि प्राथमिक परियोजना भएको उल्लेख गर्दै निर्धारित समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । ‘सरकारले कुनै किसिमको अवरोध हुन दिने छैन,’ मन्त्री खड्काले भने ।
भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको बताउँदै दुवै देशले आपसी सहकार्यमार्फत प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अरुण तेस्रो समयमै सम्पन्न गर्न सकिए द्विपक्षीय ऊर्जा सहकार्य थप सुदृढ हुनेछ ।’
अरुण नदीमा निर्माणाधीन उक्त आयोजना मकालु र चिचिला गाउँपालिकाको सिमानामा पर्दछ । आयोजनाको शिलान्यास २०७५ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए । करिब १ खर्ब ४ अर्ब लागतको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाइड्रोपावरले निर्माण गरिरहेको हो । आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
भारतीय मन्त्री खट्टरले बुधबार मुस्ताङस्थित मुक्तिनाथ मन्दिर र काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । उनी प्रधानमन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिहरूसँग शिष्टाचार भेटपछि साँझ स्वदेश फर्किनेछन ्।
अर्थ/वाणिज्य
वैदेशिक रोजगारीको सपना देखाउने तीन पक्राउ
द नेप्लिज संवाददातादुर्गा प्रसाईंमाथि बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण मुद्दा
द नेप्लिज संवाददाताअर्जेन्टिना–टर्कीको मकै सर्लाही हुँदै भारत तस्करी
द नेप्लिज संवाददाताकोशी प्रदेशको यातायात कार्यालयमा अब बिचौलियारहित सेवा
एक महिनासम्म बैठक नबस्दा पूर्व गभर्नर विजयनाथ भट्टराईले दिए राजीनामा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares