टोकियो (एपी) — जापानका कृषिमन्त्री ताकु एटोले बुधबार पदबाट राजीनामा दिनुपरेको छ । कारण थियो— हालैको उनको ‘चामल कहिल्यै किन्नु नपरेको’ भन्ने अभिव्यक्ति । उनले समर्थकहरूबाट बेच्नलाई पुग्ने गरी उपहारस्वरूप चामल पाउने गरेको बोलेपछि विवाद बढेर मन्त्री पद नै गुमाउनु परेको हो । देशको परम्परागत मुख्य खाद्य वस्तु चामलको मूल्य कीर्तिमानी रूपमा बढिरहेको बेला आएको यो टिप्पणीले जनताको आक्रोश निम्त्यायो र एटोको राजीनामा माग भयो ।
सत्तारूढ तर संकटग्रस्त अल्पमत सरकार नेतृत्व गरिरहेको लिबरल डेमोक्रेटिक पार्टीको एक सेमिनारमा आइतवार बोल्दै एटोले यस्तो टिप्पणी गरेका थिए, जसलाई धेरै जापानी नागरिकले आमजनताको आर्थिक पीडासँग असम्बद्ध र संवेदनहीन ठाने । आगामी जुलाईमा हुने राष्ट्रिय निर्वाचनअघि आएको यो विवादले सत्तारूढ पार्टीलाई थप संकट निम्त्याउने देखिएको छ । ठूलो पराजय भएमा सरकार परिवर्तन वा प्रधानमन्त्री शिगेरु इसिबाले पनि राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ ।
राजीनामा दिँदै प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै एटोले भने, ‘चामलको मूल्य आकाशिएको बेला उपभोक्ताहरूले भोगिरहेको पीडाबीच मैले अत्यन्तै अनुपयुक्त टिप्पणी गरेँ ।’ गत अक्टोबरदेखि इसिबाको नेतृत्वमा बनेको सरकारमा एटो राजीनामा दिने पहिलो मन्त्री बनेका हुन् ।
सरकारले पछिल्ला केही महिनामा आपतकालीन भण्डारणबाट ठूलो मात्रामा चामल बजारमा पठाएको थियो, तर कृषि मन्त्रालयका पछिल्ला तथ्यांकले त्यसको खासै प्रभाव देखाएको छैन । केही सुपरमार्केटहरूले सस्तो आयातित चामल बेच्न थालिसकेका छन् ।
विवादास्पद टिप्पणीबारे स्पष्ट पार्ने प्रयास गर्दै एटोले भने कि उनले वास्तवमा सेतो चामल आफैँ किन्ने गर्छन् र उपहारमा पाएको चामलमा मात्रै आश्रित छैनन् । उनका अनुसार उक्त टिप्पणी ब्राउन राइस (खैरो चामल) का लागि गरिएको थियो, जुन उनले उपभोक्ताहरूलाई चासो दिलाउन चाहेका थिए किनभने त्यो बजारमा चाँडो पुग्न सक्छ ।
प्रधानमन्त्री इसिबाले कृषिमन्त्रालयको नेतृत्व गर्न लोकप्रिय पूर्ववातावरणमन्त्री शिन्जिरो कोइजुमीलाई नियुक्त गरेका छन् । उनी पूर्वप्रधानमन्त्रीका छोरा हुन् । इसिबाले कोइजुमीको कृषि र मत्स्य नीतिको अनुभव र सुधारप्रतिको उत्साहलाई प्रशंसा गर्दै नियुक्त गरेका हुन् ।
कोइजुमीले पत्रकारहरूसँग भने, ‘प्रधानमन्त्रीले मलाई चामलको आपूर्ति र मूल्य स्थिर पार्न सबै गर्न निर्देशन दिनुभयो, ताकि उपभोक्ताको चिन्ता समाधान होस् ।’ उनले थपे, ‘मलाई चामललाई सबैभन्दा अगाडि राख्न भनिएको छ । यो कठिन समयमा जनताले दैनिक महसुस गरिरहेको चामलको उच्च मूल्यको समस्या समाधान गर्न म आफ्नो सम्पूर्ण प्रयास गर्नेछु ।’ आफ्ना साना बच्चाहरूलाई कहिलेकाहीँ प्याकेटबन्द इन्टेन्ट राइस खुवाउने बताउँदै उनले आफू पनि उपभोक्ताको पीडा बुझ्ने बताए ।
पूर्वकृषिमन्त्री समेत रहेका प्रधानमन्त्री इसिबाले जापानको खाद्य सुरक्षा र आत्मनिर्भरता मजबुत पार्ने बताएका छन् । उनले चामल उत्पादन बढाउने र निर्यातसमेत गर्ने सुझावसहित कृषि सुधार योजना अघि सारेका छन्, तर आलोचकहरूले पहिले तत्कालको चामल संकट समाधान गर्नुपर्ने बताइरहेका छन् ।
चामलको मूल्यवृद्धिबारे बोल्दै इसिबाले भने, ‘यो संकट अस्थायी नभइ संरचनागत समस्या जस्तो देखिन्छ ।’ समाधान सजिलो नहुन सक्ने भन्दै पनि उनले उपभोक्ताको पीडा घटाउन र चामल नीति सुधार गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।
कोइजुमीले अहिलेका उपायहरू प्रभावकारी नभएको स्वीकार्दै बुधबार नै औपचारिक रूपमा कार्यभार सम्हालेपछि तीव्र सुधार प्रक्रिया थाल्ने बताएका छन् । उनले चामल नीति सुधार गर्नुपर्नेमा जोड दिँदै भने कि उपभोक्ताको हितभन्दा बढी किसानको प्रतिनिधित्व गर्ने शक्तिशाली संस्थाहरूमा केन्द्रित वर्तमान नीति अब बदलिनुपर्नेछ ।
जापानमा पछिल्ला दशकहरूमा आहार विविधताका कारण चामलको माग घटेको भए पनि चामल अझै पनि मुख्य खाद्य वस्तु हो र जापानी संस्कृति र इतिहासको अभिन्न अङ्ग हो ।
७३ वर्षीया सिजुको ओशिमाले भनिन्, ‘चामल त जापानीहरूको मुख्य आहार हो । जब यसको मूल्य हरेक साता बढिरहेको हुन्छ, (एटोको) राजीनामा हुनु स्वाभाविक हो ।’
यो संकट गत अगस्टमा सुरु भएको थियो, जब एक प्रमुख भूकम्पको सम्भावनाबारे सरकारको सचेतना सन्देशपछि जनताले अत्यधिक चामल किन्न थालेका थिए । शरद ऋतुको बालीपछिको समय केही सहज बनेको थियो, तर यो वर्षको सुरुवातमै पुनः अभाव र मूल्यवृद्धि देखापर्यो ।
अधिकारीहरूका अनुसार २०२३ मा अत्यधिक गर्मीका कारण खराब बाली, मल र उत्पादन लागत बढ्नु आपूर्ति संकटको प्रमुख कारण हुन् । तर केही विज्ञहरू भने दीर्घकालीन चामल उत्पादन नीतिलाई दोष दिइरहेका छन् ।
आपतकालीन भण्डारबाट अभूतपूर्व रूपमा चामल बजारमा पठाउने निर्णय वितरण प्रणालीको कमजोरी बुझ्न गरिएको प्रयासको रूपमा हेरिएको छ । सरकार अहिले चामलको अभाव नभएको बताइरहे पनि अधिकारीहरूले भने जति चामल उपभोक्तासम्म पुगे पनि किन नपुगिरहेको भन्ने विषय अझै रहस्यकै रूपमा रहेको बताएका छन् । केही विज्ञहरू चामल अभाव गम्भीर हुन सक्ने बताउँछन्, तर १९९५ मा सरकारी नियन्त्रण अन्त्य भएयता वितरण प्रणाली यति जटिल बनेको छ कि यसको ट्रेसिङ् गर्नु कठिन भएको छ ।
गत महिना जापानमा चामलको मूल्य २०२४ को अप्रिलको तुलनामा झन्डै दोब्बर पुगेको थियो। इटोको अभिव्यक्तिलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय भन्दै आलोचना गरेका थिए।
प्रधानमन्त्री इसिबाले समेत मन्त्रीको टिप्पणीप्रति असन्तोष जनाउँदै अत्यन्त दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका थिए। मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘चामलको बढ्दो मूल्य समाधान गर्नु कृषिमन्त्रीको जिम्मेवारी हो। म उहाँबाट समाधानको अपेक्षा गर्छु।’
प्रधानमन्त्रीको तीव्र आलोचनापछि इटोले बुधबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै सरकारबाट बाहिरिएको घोषणा गरेका हुन्। ‘प्रधानमन्त्रीको कडा शब्दपछि मैले राजीनामा दिने निर्णय गरेँ,’ उनले भने।
#ताकु# एटो
विश्व/प्रवास
२५ करोड मौरी भागेपछि अमेरिकी प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताभारतीय विश्वविद्यालयमा नेपाली छात्राको रहस्यमय मृत्यु, पाँच जनाविरुद्ध जाहेरी, मुख्य आरोपित फरार
द नेप्लिज संवाददाताआजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares