४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

विवादका बीच धनपालथानमा अस्पताल भवन निर्माण शुभारम्भ

अस्पताल भवनको काम अघि बढाउन माग गर्दै आएका माओवादीबाट निर्वाचित वडाध्यक्षहरुले आसन ग्रहणको विवाद झिकेर गरेको अवरोधको स्थानीयले प्रतिकार गरेपछि अघि बढ्यो निर्माण कार्य
द नेप्लिज संवाददाता
२९ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– धनपालथान गाउँपालिकास्थित १५ शैय्याको अस्पताल भवन निर्माण कार्यलाई तिव्ररुपमा अघि बढाउने माग गर्दै आएका माओवादीका वडाध्यक्षहरुले आसन ग्रहणको विषयमा विवाद झिक्दै अवरोध गरेपछि स्थानीयवासीले प्रतिकार गरेका छन् । स्थानीयको प्रतिकारपछि बिहीबार अस्पताल भवनको निर्माण अघि बढेको हो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित धनपालथान वडा १ का वडाध्यक्ष खाजा हुसेन मियाँ र वडा ५ का वडाध्यक्ष गयानन्द सरदारलगायतले आसन ग्रहणको विवाद झिकेर अस्पताल भवनको निर्माण शुभारम्भ कार्यक्रममा अवरोध गरेका थिए । 

धनपालथान–५ मा उक्त अस्पताल भवनको जग हाल्न छड राखेपछि बिहीबारदेखि ढलान कार्य अघि बढाउने गाउँ कार्यपालिकाको बैठकले निर्णय गरी भवन निर्माण सुभारम्भ कार्यक्रम राखेको थियो । तर उक्त कार्यक्रममा वडा ५ का वडाध्यक्ष सरदारले आफ्नो वडामा अस्पताल भवन निर्माण भइरहेकोले पहिलो आशन ग्रहण आफूलाई गराउनु पर्ने अडान लिँदै कार्यक्रममा विवाद झिकेका थिए । तर गाउँपालिका अध्यक्ष जीवछप्रसाद गच्छदारले अस्पताल निर्माण गाउँपालिकाको योजना भएकोले गाउँपालिकाले तोकेको मर्यादाक्रम अनुसार आशन ग्रहण गरेर कार्यक्रम अघि बढाउने जिकिर गरेपछि विवाद सुरु भएको थियो । 

अध्यक्ष गच्छदारको निर्देशनमा स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले कार्यक्रम अघि बढाएलगत्तै वडा १ का वडाध्यक्ष हुसेनले रजिष्टर खोसेर अवरोध गरेपछि स्थानीयवासी आक्रोशित बन्दै प्रतिकारमा उत्रेका थिए । प्रतिकार गर्ने क्रममा अध्यक्ष गच्छार र वडाध्यक्ष हुसेनबीच हात हालाहालको अवस्था सृजना भएको थियो । स्थानीयवासीका साथै अध्यक्ष गच्छदारले कार्यक्रममा अवरोध गर्न खोज्ने माओवादीका वडाध्यक्षहरुमाथि जाइलागेपछि प्रहरीले सुरक्षा घेरा बनाउँदै वडाध्यक्षहरुलाई सुरक्षित गरेका थिए । 

स्थानीयवासीको प्रतिकारले माओवादीका वडाध्यक्षहरु गाउँपालिकाको मर्यादाक्रम अनुसार कार्यक्रममा सहभागी भएर ढलानका लागि संयूक्त रुपमा पूजा गरेपछि निर्माण कार्यको शुभारम्भ भएको प्रत्यक्षदर्शीले बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका गाउँपालिका अध्यक्ष गच्छदारले मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील क्षेत्र स्वास्थ्य संस्थाको निर्माणमा सबैको हातेमालो आवश्यक भएको बताएका छन् । ‘अस्पताल भवन निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त ६ करोड बजेट बराबरको गुणस्तरी काम गरेर बजेट खर्च गर्नुको विकल्प छैन,’ उनले भने, ‘यो अस्पताल सम्पूर्ण गाउँपालिकाबासीको भएकोले भवन निर्माण कार्यलाई तिव्रता दिनुका साथै गुणस्तरीय कामका लागि सबै जनप्रतिनिधिका साथै स्थानीयवासीलाई नियमित अनुगमन गर्न आग्रह छ ।’

यो पनि : धनपालथानमा निर्माणाधिन योजनाको पुनः सिलान्यास गर्न खोज्दा जनप्रतिनिधिबीच विवाद

कार्यक्रममा वडा ५ का वडाध्यक्ष सरदारले पटक पटक आफूले काठमाडौं गएर अस्पताल भवन निर्माण योजना आएकोले बजेट फिर्ता जाने अवस्था आउन नदिन सबैलाई आग्रह गरेका छन् । उनले भवन निर्माण कार्य अनुगमनको नाममा अनावश्यक अवरोध र बजेट निकासामा कुनै ढिलाइ नगर्न आग्रह गरेका थिए । वडाध्यक्ष सरदारले अस्पताल भवन समयमा निर्माण गरेर संघीय सरकारबाट प्राप्त बजेटको सदुपयोग गर्न आग्रह गरे । 

कार्यक्रममा उपाध्यक्ष नसिमा बानो, एमालेबाट निर्वाचित वडा २ का वडाध्यक्ष पंकज मण्डल, सामाजिक विकास समितिका अध्यक्ष तथा वडा ६ का वडाध्यक्ष रोजित हुसेन र जग्गादाताले समयमा अस्पताल भवन निर्माण गरेर सम्पूर्ण गाउँपालिकावासीलाई स्वास्थ्य सेवा प्रवाह गर्ने अवस्था निर्माणमा सबैको सहयोग आवश्यक भएको बताए । अस्पताल भवन निर्माणका लागि स्थानीय अरबिन्दकुमार राजबंशी, कूलप्रसाद राजबंशी, कर्णप्रसाद राजबंशी, अमर कुमार राजबंशी, प्रमिलादेवी राजबंशी र कृष्णबहादुर राजबंशीले १५ कठ्ठा जग्गा दान दिएका छन् । उक्त जग्गामा अस्पताल भवन निर्माण सुरु भएको हो । 

यसअघि वडा ५ का वडाध्यक्ष सरदारले पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गच्छदारले निर्माणाधिन अस्पताल भवनको पुनः सिलान्यास गर्न खोजेको भन्दै विरोध जनाएका थिए । तर अध्यक्ष गच्छदारले ढलान सुरु गर्नु अगाडि भवन निर्माणको शुभारम्भका लागि पूजा मात्रै गर्न खोजेको बताएका थिए । 

गाउँपालिकाले गत आर्थिक वर्षमा ठेक्का प्रक्रिया पूरा गरी २२ करोड लागतमा १५ शैय्याको दुई तल्ले भवन र पर्खाल निर्माणका लागि १३ करोड ५९ लाख २० हजार १३८ रुपैयाँमा बस्नेता पी एण्ड जी जेभी भद्रपुरसँग ठेक्का सम्झौता गरेर निर्माण कार्य अघि बढाएको छ । 

निर्माण कम्पनीले हालसम्ममा चारैतिरबाट पर्खाल निर्माण गरेर घेराबेरा गरी भवन निर्माणका लागि जग हाल्न छड बाँधेर ३० प्रतिशत काम गरिसकेको छ । 

प्रकाशित : २९ फागुन २०८१, बिहीबार 19:07
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved