काठमाडौं – प्रहरीले बरामद गरेको २५ करोडभन्दा बढी विदेशी मुद्रा सिन्धुपाल्चोकको भोटेकोशी–१ बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामाले चीन लगिरहेको खुलासा भएको छ ।
रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लग्दै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार राति नियन्त्रणमा लिएको हो । पक्राउ परेको विदेशी मुद्रा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी काठमाडौंको टोखा नगरपालिका–२ झोरबाट ना७ख १६५२ नम्बरको ट्रकमा फल्स बटमभित्र उक्त रकम लुकाएर चिनीया नाका केरुङतर्फ लग्दै गरेको अवस्थामा बरामद भएको हो । पक्राउ परेका कुसाङ लामा ट्रक चालकसँगै भरिया मात्रै भएको र उक्त रकमको असली कारोबारी अर्थात् धनीको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए । पाँच वर्ष कैद भुक्तान गरेर जेलबाट छुटेका उनले सुन छोडेर विदेशी मुद्राको तस्करी आरोपमा पक्राउ परेका हुन् । उनले आफू भरियाको रुपमा काम गर्दै आएको प्रहरीलाई बयान दिएको छ । प्रहरीले कुसाङसँग बयान लिए पनि विदेशी मुद्राका धनीको नाम सार्वजनिक गरेको छैन ।
चिनियाँ नागरिकहरूले आफूलाई उक्त डलर र युरो दिएको कुसाङले प्रहरीलाई बयान दिएको हो । ’क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई उक्त रकम लुकाएर राखिएको अवस्थामा बरामद गरेका हौं,’ पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने । प्रहरीले उनीबाट अमेरिकी डलर र युरो बरामद गरेको हो ।
सुन तस्करीमा २०७३ पुस १३ मा समातिएका लामा ५ वर्ष जेल बसेको एसएसपी बस्नेतले बताए । लामाले चलाएको गाडी उनको आमाको नाममा रहेको प्रहरीको भनाइ छ । यसअघि पनि काठमाडौं र अन्य स्थानहरूमा ठूलो परिमाणको नगद, सुन, चाँदी लगायतका अवैध सामानसहित विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेका थिए ।
नेपालगञ्जबाट (फेब्रुअरी २०२४)मा प्रहरीले दुई दिनको अपरेसनपछि १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको थियो । उक्त घटनामा आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
यी घटनाहरूले नेपालमा अवैध वित्तीय कारोबार बढ्दै गएको खुलेको हो । नेपालमा हुण्डी कारोबार, अवैध सुनचाँदी तस्करी र जुवामा अबैध कारोबार भइरहेको खुलेको हो । यसले देशको अर्थतन्त्रमा ठूलो असर पार्दै आएको अर्थविद्हरुको भनाइ छ ।
प्रहरीले उक्त रकम गोप्य सूचनाको आधारमा बरामद गरेको सार्वजनिक गरेको छ । तर विदेशी मुद्राको अबैध कारोबार भइरहेको सूचना प्रहरीलाई अन्तर्राष्ट्रिय गुप्तचर संस्थाले दिएको र उक्त सूचनाको आधारमा ठूलो परिमाणको विदेशी मुद्रा बरामद गर्न सफल भएको उच्च स्रोत जनाएको छ ।
अर्थ/वाणिज्य
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताराष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति
द नेप्लिज संवाददातादेशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares